सिद्धिचरण राजमार्गको विकल्प खोइ ?

डिल्लीराम खतिवडा

उदयपुर — कुनै समय माथिल्लो सगरमाथा क्षेत्रको ‘लाइफ लाइन’ मानिएको सिद्धिचरण राजमार्ग बेवास्ताको सिकार बन्दै आएको छ । मध्यपहाडी लोकमार्ग सञ्चालन भएयता सिद्धिचरण ओझेलमा परेको छ । बर्सेनि वर्षायाममा क्षतिग्रस्त हुने राजमार्गमा यो अवधिभर यातायात सञ्चालन कठिन हुने गरेको छ ।

विकल्पमा अन्य सडक सञ्जालले माथिल्लो सगरमाथाको सोलु, ओखलढुंगा र खोटाङलाई जोडेपछि सिद्धिचरण ओझेलमा परेको हो । ओझेलमै परेका कारण असार अन्तिम साताको वर्षातसँंगैको पहिरोले राजर्माग अवरुद्ध हुँदा पनि सडक खोल्न सम्बन्धित निकायले खासै चासो देखाएको छैन । तर सडक डिभिजन कार्यलाय लहानले भने खोल्ने प्रयास भइरहेको जनाएको छ ।

पहिरोको कारण अवरुद्ध सडक खोल्ने प्रयास गरे पनि खासै तदारुता नदेखाएको स्थानीयले बताए । ‘अवरुद्ध भएको झन्डै २ साता हुनै लाग्दा पनि सडक खुलेको छैन,’ स्थानीय दानबहादुर राउतले भने, ‘माथील्लो क्षेत्रको दबाब भएको भए चाडै सडक खुल्ने थियो ।’ तर माथिल्लो क्षेत्रमा मध्यपहाडी राजर्माग संचालन गरिएकोले सिद्धिचरण खोल्नमा ढिलो हुँदै गएको उनले वताए ।

०५६/५७ तिर सिद्धिचरण राजर्माग खुलेको हो । त्यसपछि बर्सेनि वर्षातको सडक अवरुद्ध हुँदै आएको छ । पहिले पहिले अवरुद्ध हुँदा तुरुन्तै सडक खोलिन्थ्यो । यातायात व्यवसायी, सडक विभाग, उद्योग वाणिज्य संघले अवरुद्ध भएको एक/दुई दिनमै सडक खोल्ने गरेका थिए । तर अहिले सडक खोल्न प्रयास मात्रै गरिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

मर्मतका नाममा बर्सेनि करोडौ रुपैयाँ खर्च गरिन्छ । तर दीर्घकालीन रूपमा सिद्धिचरणको स्तरउन्नतिका लागि स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदेखाएको सर्वसाधारणले बताए । ‘झन्डै १५ वर्षयता कटारी नगरपालिका–११ ठाटीभन्ज्याङ
बर्सेनि पहिरोले सडक अवरुद्ध गर्दै आएको छ,’ वडाध्यक्ष दीपक बुढाथोकीले भने, ‘प्रत्येक वर्ष करोडका दरले ठाटी भञ्ज्याङ मर्मत गरिंदै आएको छ ।’ पूर्वापश्चिम राजर्माको सिराहाको मिचैयादेखि सिद्धिचरण कटारी हुँदै ओखलढुंगासम्म विस्तार भएको छ ।

मिर्चैया–कटारी २६ किलोमिटर र कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर सडकमध्ये अधिकांश भाग कटारी नगरपालिका क्षेत्रमा पर्छ । चुरे पहाडदेखि सुनकोसी किनारको घुर्मीसम्म कटारी नगरपालिबाटै सिद्धिचरण राजर्माग विस्तार भएको छ । सडक नगरपालिकाबाट विस्तार भए पनि नगरको स्रोत साधनले स्तरउन्नती सम्भव नभएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

‘नगरपालिकाबाट सम्भव नभएपछि स्तरउन्नतिका लागि पटक–पटक संघीय सरकारसँग माग गरिएको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘सघीय सरकारले एसियाली विकास बैंकको सहयोगमा स्तरउन्नति गर्ने भनिएको थियो ।’ तर अहिलेसम्म त्यसको अधिकारी जानकारी नआएको उनले बताए ।

‘जीर्ण सडक त्यसमाथि पहिरोले क्षति पुर्‍याउँदा जोखिममा छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘माथिल्लो क्षेत्र (सोलु, ओखलढुंगा र खोटाङ) लाई अन्य सडकले समेटेपछि सिद्धिचरण ओझेलमा पर्‍यो ।’ माथिल्लो क्षेत्रमा अन्य सडक नहुँदा सरकार, स्थानीय तह, विभिन्न राजनितिक दलका नेतादेखि सम्पूर्णले चासो राख्दै आएको उनले बताए । तर अहिले पहिरोले बगाएको झन्डै १५ दिन पुग्न लाग्दा पनि खासै वास्ता नगरेको प्रमुख श्रेष्ठले गुनासो गरे । ‘नगरपालिकाको स्रोत र साधनले सम्भव भएको भए सडक खुल्ने थियो,’ उनले भने, ‘तर नगरको काबुबाहिर गएकाले ठूलो समस्या भएको छ ।’

यता सिद्धिचरणको ठाटी भञ्ज्याङ क्षेत्रमा राजर्माग पहिरोले बगाएकाले एलाइमेन्ट परिर्वतन गरेर अहिलेको सडकभन्दा ४० मिटरमाथि नयाँ ट्र्याक खोल्नुपर्ने डिभिजन सडक कार्यालय लाहनले जनाएको छ । भइरहेको सडक पहिरोमा परेपछि ४० मिटरमाथिबाट झन्डै ५ सय मिटर लामो ट्र्याक खोल्नुपरेको डिभिजन प्रमुख विनोदकुमार साहले बताए ।

पहिरोले गर्दा सडक पूरै भत्किएकाले हाइट कटिङ गरेर बेस बनाउनुपर्ने उनले बताउँदै आएका छन् । ‘आधार (बेस) नै भत्किएकाले एलाइमेन्ट परिर्वतन गर्नुपरेको छ,’ डिभिजन प्रमुख साहले भने, ‘एलाइमेन्ट परिर्वतन गरेर नयाँ ट्र्याक खोल्नुपरेकाले सडक सुचारु हुन कम्तीमा साता लाग्छ ।’

बाढीपहिरोका कारण सिद्धिचरण राजर्मागको माथिल्लो खण्ड पूण रूपमा अवरुद्ध भएको छ । राजर्मागको मिर्चैया कटारी, कटारी बेतिनी खण्ड आंशिक रूपमा सञ्चालन आए पनि बेतेनी–घुर्मी खण्ड पूण रूपले अवरुद्ध भएको हो । भौगोलिक कठिनाइ, मेसिन औजार प्रयोग गर्नेसम्मको स्थान नहुँदा समस्या जटिल रहेको प्राविधिक बताउँछन् । सडक तत्काल सञ्चालन भए पनि दीर्घकालीन रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण २२, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

गाभिएका विद्यालय संरक्षणविहीन

कान्तिपुर संवाददाता

धनकुटा — कतै विद्यार्थीभन्दा शिक्षक बढी त, कतै विद्यार्थी नै शून्य भएपछि अन्य विद्यालयमा गाभिएका अधिकांश विद्यालयको भौतिक सम्पत्ति संरक्षण अभावमा लथालिंग बनेको छ ।

विद्यार्थी संख्या न्यून बन्दै बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालय अन्यत्र गाभिनेक्रम बढ्दै गएको छ । तर, त्यसरी गाभिएका विद्यालय भवन प्रयोगविहीन मात्र नभई कतिपय स्थानमा अश्लील गतिविधि हुने गरेको गुनासो बढेको छ ।

जिल्लामा हालसम्म २२ सामुदायिक विद्यालय अन्य विद्यालयमा गाभिसकेका छन् । विगत १ वर्षभित्र मात्र ५ विद्यालय गाभिएको शिक्षा विकास तथा समन्वय एकाइ स्रोतले जनाएको छ । विगत १ वर्षको अवधिमा मात्र ५ विद्यालय गाभिएको एकाइका शाखा अधिकृत देवी सुवेदीले जानकारी दिए ।

गाभिएका विद्यालयको भौतिक संरक्षणतर्फ सम्बन्धित निकायको चासो नगएको आफूहरू समक्ष पनि गुनासो आउने गरेको बताए । ‘गाभिएका विद्यालयको सार्वजनिक सम्पत्ति संरक्षण नभएकोबारे सबैतिरबाट प्रश्न उठिरहेको छ,’ उनले भने, ‘अन्य विद्यालयमा मर्ज गरिने नीति ल्याए पनि त्यसको प्रयोग भए/नभएको अनुगमनको पाटो हुन नसक्नु कमजोरी हो ।’ स्थानीय तहले सार्वजनिक संस्थालाई अन्य सार्वजनिक संस्थालाई जिम्मा दिएर भएपनि संरक्षण गरिनुपर्नेमा नीतिगत व्यवस्था रहेको उनले बताए । कैयौं विद्यालयको अवस्था दयनिय छ ।

जिल्लाका कुल २९१ मध्येबाट २२ वटा मर्ज भएपछि अब २८६ सामुदायिक विद्यालय कायम छन् । मुलुकभरको पछिल्लो तथ्यांक अनुसार हालसम्म ७ सय २४ विद्यालय गाभिएको शिक्षा विकास निर्देशनालयका निर्देशक उपेन्द्र दाहालले बताए । मर्जर गरिएको विद्यालयको अवस्थाबारे सम्बन्धित विद्यालय तथा स्थानीय तहले गम्भीर भएर व्यावस्थापन गर्नुपर्ने उनको तर्क छ ।

शिक्षाको अधिकार स्थानीय तहलाई जिम्मा दिईएपनि त्यसको व्यवस्थापनमा आवश्यक चासो जान सकेको छैन । धनकुटा नगरपालिकाभित्रका गाभिएका केहि विद्यालयको अवस्था नियाल्दा अत्यन्त टिठ लाग्दो देखिने धनकुटा ६ कचिंडेका दोजराज बास्तोलाले बताए ।

धनकुटा ६ को गोकुण्डेश्वर माविमा गाभिएको कचिंडेको सरस्वती राष्ट्रिय प्राथमिक विद्यालयका व्यवस्थापन समितिका तत्कालिन अध्यक्षसमेत रहेका बास्तोलाका अनुसार उक्त विद्यालय अश्लिल क्रियाकलाप गर्ने थलो बनेको छ ।

विद्यालयको झयाल ढोका चोरी भएको छ भने त्यहाँ हुने अवान्छित गतिविधिले स्थानीयलाई हिँडडुल गर्न पनि असहज भएको उनको भनाई छ । ‘२०१५ मा स्थापित विद्यालय थोरै विद्यार्थी भएकाले गोकुण्डेश्वरमा हस्तान्तर गरिएको हो,’ उनले भने, ‘विद्यालय व्यवस्थापन गर्न नसक्दा निर्लज्ज प्रकारका गतिविधि हुने गरेका छन् ।’

प्रकाशित : श्रावण २२, २०७६ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्