१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘साल बाजे’ का तीन दशक

विनु तिम्सिना

विराटनगर — ‘साल बाजे’ यो नाम यतिबेला चर्चामा छ । मोरङको सुनवर्षी–६ गोविन्दपुर टुपियाखाडीका ७६ वर्षीय निलबहादुर चौहानलाई यही नामबाट चिनिन्छ । जिस्क्याउन या होच्याउन राखेको नाम होइन । यो उनले आफ्नो मेहनतको फलस्वरूप पाएको नाम हो । यो नामसँग उनको गहिरो प्रेम बसेको छ । 

यो नामका पछाडि करिब ३५ वर्ष लामो उनको मेहनत लुकेको छ । झन्डै ३५ वर्षअघि तराईमा वन फँडानी हुँदा सालका धेरै रुख काटिए । जरा पनि धमाधम निकालिए । त्यसबेला निलबहादुर चौहानलाई अब सालका सबै रुख मासिने भए भन्ने चिन्ताले सतायो ।

त्यही चिन्ताले उनलाई अभियन्ता नै बनायो । एक्लैले सालको वन हुर्काएको अहिले २३ वर्ष पुग्यो । २०७५ सालमा निजी वन लगाउनेमध्ये उनी देशमै दोस्रो भए । सालका रुखप्रतिको उनको प्रेम देखेरै उनको नाम साल बाजे रहेको हो ।


सुनवर्षी–६ टुपियाखाडीमा उनको सानो सालघारी छ । रंगेलीबाट उर्लाबारी निक्कने सडकखण्डको बक्राहा पुलबाटै देखिने सालघारी २०२० सालमा भोजपुर कुलुङ ठोटनेरीबाट तराई झरेका उनै साल बाजेको निजी वन हो । सालको बीउ उमारेर आफ्नै पालामा जंगल बनेको यो देशमै उदाहरणीय हो । हत्तपत्त बिरुवा नसर्ने, उमार्दा नउम्रिने र हुर्कन गाह्रो पर्ने सालको बिरुवा हुर्काएर वन बनाउनु चानचुने कुरो नभएको वनसम्बन्धी विज्ञहरू नै बताउँछन् ।


तर पथरी वन कार्यालयबाट बिरुवा ल्याएर उनी एक्लैले २०५२ सालमा १ सय सालका बिरुवा आफ्नो बारीमा लगाए । त्यसमध्ये एउटा मात्रै बाँचेको उनी सम्झन्छन् । ‘धान फलाउने खेतमा सालका बिरुवा रोपेपछि धेरैले त्यतिबेला मलाई ‘पागल’ पनि भने,’ विगत सम्झँदै उनले भने, ‘कसैकसैले त अब सरकारले तेरो जग्गा कब्जा गर्छ पनि भने । एक मन त ओहो भएको जग्गा सरकारले कब्जा गरे के गर्ने भनेर डर पनि पो लागेको थियो त तर फेरी पनि भावी पुस्ता सम्झिएर बिरुवा लगाएँ ।’


सुरुमा लगाएका सबै बिरुवा मरेपछि पनि उनले हरेस खाएनन् । ५३ सालमा फेरि वन कार्यालयबाटै सालको बीउ ल्याएर उनले छरे । अहिले तिनै बीउबाट उम्रिएका सालका बिरुवा बढेर जंगल बनेको छ । उनले भने, ‘भावी पुस्तालाई साल र सखुवा भनेको यो हो है भनेर चिनाउन खेत मासेर भए पनि साल हुर्काएको हुँ ।’ असार ३१ मा संघीय सरकार वन मन्त्रालयको ५० हजार राशिको पुरस्कारले उनी सम्मानित भए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?