कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पर्यटकीय गन्तव्य बन्दै ह्यात्रुङ झरना

चन्द्र कार्की

तेह्रथुम — ह्यात्रुङ झरनालाई केन्द्रमा राखेर फेदाप गाउँपालिकाले पर्यटन व्यवसाय प्रवर्द्धनको पहल थालेको छ । स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको विकास गरी आम्दानीको स्रोत वृद्धि गर्न पूर्वाधार निर्माणमा गाउँपालिका जुटेको हो ।

पर्यटकीय गन्तव्य बन्दै ह्यात्रुङ झरना

यसका लागि गाउँपालिकाले गत आवमा ५३ लाख रुपैयाँ बजेट छुट्याएर काम थालेको जनाएको छ ।

गाउँपालिकाले वडा नं १ देखि ५ सम्मका पर्यटकीय स्थलको पहिचान गरी सिङ्गो गाउँपालिकालाई पर्यटकीय बनाउन अध्ययन थालेको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए । चालु आवमा पनि गत आवको तुलनामा थप रकम विनियोजन गरिएको उनको भनाइ छ । फेदापलाई जिल्लाकै नमुना पर्यटकीय गाउँपालिका बनाउन वडा स्तरबाटै पर्यटकीय स्थलको पहिचान थालिएको चोङवाङको भनाइ छ ।


स्थानीय तहमा आफूहरू आए लगत्तै ओझेलमा परेका पर्यटकीयस्थलको खोजी गरी संरक्षणका लागि समेत अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता नवीन चोङबाङले बताए । दक्षिण एसियाकै अग्लो भनिएको ह्यात्रुङ झरना (३६५मिटर) यही गाउँपालिकामा छ ।


वडा नम्बर ४ र ५ को सीमामा रहेको झरनाको पर्यटकीय विकासका लागि गाउँपालिकाले गत वर्ष २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यही झरनालाई केन्द्र भागमा राखेर अन्य ६ पर्यटकीय गन्तव्य समेत छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाभित्र रहेका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण गरी पर्यटकीय विकास गर्न अभियान नै सञ्चालन गरिएको प्रवक्ता नवीनले बताए । पर्यटन क्षेत्रको विकासबिना गाउँपालिकाको आर्थिक समृद्धि नहुने सोचेर पर्यटकीय पूर्वाधार निर्माणमा ठूलो रकम खर्च गरिएको उनले बताए । गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जात जाति र समुदायको संस्कृति, वेशभूषा, खानपान रहनसहन लगायत विषयलाई समेत पर्यटन प्रवर्द्धनसँग जोडिएको गाउँपालिकाले जनाएको छ ।


गाउँ बस्तीका सुन्दरता र संस्कृतिलाई पर्यटनसँग जोडदै घरवास कार्यक्रमको विकासमा समेत लागिएको अध्यक्ष चोङबाङको भनाइ छ । घरवासमा स्थानीय परिकारको स्वाद लिन पाइनुका साथै विभिन्न संस्कृतिको अवलोकन गर्ने व्यवस्था मिलाइने गाउँपालिको जनाएको छ ।


गाउँपालिकाले सबै वडामा कम्तीमा एउटा पर्यटकीय क्षेत्र पर्ने गरी नयाँ पर्यटकीय गन्तव्य स्थान छनोट गरेको छ । अध्यक्ष चोङबाङका अनुसार १, २ र ३ नम्बर वडा समेट्ने ओयाक्जुङ जलजले र सिम्लेको सीमामा रहेको चिचिलिङ पोखरी र भ्यागुते ढुंगा, सोही वडामा रहेको गुल्डुङ डाँडा, वडा नम्बर २ ओयाक्जुङमा रहेको मझौ गुफा र भैंसे पोखरी, वडा नम्बर ३ जलजलेमा रहेको माङगेनायक पदमार्ग, गाउँपालिका केन्द्र रहेको वडा नम्बर १ पोक्लाबाङ बजार केही माथि रहेको भगवती डाँडा मन्दिर क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्य छनोट गरिएको छ ।


यी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । ‘गाउँपालिकाभित्र पर्यटकलाई देखाएर पैसा लिन सकिने प्रशस्तै सम्भावन छ,’ नवीनले भने, ‘पर्यटन क्षेत्रबाटै गाउँपालिकाबासीको आर्थिक समृद्धि हामीले देखेका छौं ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?