मालपोत कार्यालयको काम अनलाइनबाट  

रमेशचन्द्र अधिकारी

धनकुटा — मालपोत कार्यालय धनकुटाको सेवा आजदेखि भू–अभिलेख सुचना व्यवस्थापन प्रणाली (अनलाइन) बाट थालिएको छ । भूमि प्रशासनलाई प्रविधिमैत्री बनाइने उद्देश्यले अनलाइन प्रणालीमार्फत मालपोतको अभिलेख थालिएको जनाइएको छ ।

मालपोत कार्यालयको काम अनलाइनबाट  

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले औपचारिक रुपमा अनलाइन प्रणालीको उद्घाटन गरेका छन् ।


सेवाग्राहीलाई मालपोतमा गरिने कारोबार सुरक्षित गर्न अनलाइन प्रणालीले सघाउ पुर्याउने दुवाडीले बताए । एक पटक प्रयोग गरिएको अभिलेख अर्को कारोबार गर्दा सेवाग्राहीबारेको आवश्यक जानकारी अनलाइनबाटै लिन सकिने भएको छ ।


‘औंठा छाप, फोटो तथा सेवाग्राहीको विवरण अनलाइनमा सुरक्षित रहने छ,’ महानिर्देशक दुवाडीले भने, ‘कारोबार गर्दा मालपोतका सेवाग्राहीको मोबाइलमा म्यासेज जाने भएकोले अब जग्गाको सुरक्षा समेत हुने भएको छ ।’


विगतमा पुरानो पद्धतिबाट गरिदै आएका कार्यमा ढिलाईका साथै थाहै नपाई अर्को व्यक्तिबाट जग्गा किनबेच गर्ने समेतका गतिविधिको अनलाइन पद्धतिले न्यूनीकरण गर्ने जनाइएको छ । मुलुकभरी भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका १ सय ३१ मालपोत कार्यालय मध्ये धनकुटा मालपोत ७८ औं शाखाको रुपमा अनलाइन थालनी गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।


मालपोतमा समेटिएका विवरण स्थानीय तहका जनप्रतिनिधि लगायत सम्बन्धित कर्मचारीले समेत अनलाइनबाट सहजै थाहा पाउन सक्ने छन् । मालपोतमा लिने शुःल्क तथा राजश्वबारे अब अनलाइनबाटै सेवाग्राहीले थाहा पाउने भएको छन् । प्रविधिमैत्री भएपछि छिटोछरितो सेवा प्रवाह हुने नापी कार्यालयका प्रमुख मिथलेश यादवले बताए ।


पहिलो सेवाग्राही सम्मानित

मालपोत कार्यालयमा थालिएको अनलाइन सेवा लिने पहिलो सेवाग्राही सम्मानित भएका छन् । जग्गा खरिदका लागि आएकी लक्ष्मी तामाङ र उनलाई जग्गा बिक्रि गर्ने कर्णबहादुर तामाङलाई सम्मान गरिएको हो । किनबेचपछि जग्गा धनीपुर्जा पहिलो पटक अनलाइन प्रणालीबाट भरिएको छ ।

प्रकाशित : श्रावण १९, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?