श्रमले आर्जेको सम्मान

जितेन्द्र साह

(विराटनगर) — सडक छेउमा बसेर जुत्ता मर्मत गरिरहेकाहरूले कति पढेका होलान् ? बढीमा दुई/चार कक्षा । हामीमध्ये धेरैले यस्तै सोच्छौं होला । तर विराटनगर मेनरोडस्थित आन्तरिक राजस्व कार्यालय छेउमै २७ वर्षदेखि जुत्ता मर्मत गर्दै आएका ४८ वर्षीय उमेश रामले बीएको अध्ययनलाई बीचमै छाडेका रहेछन् । गजबको भाषाशैली, टेलिफोन डायरीको सुन्दर अक्षर र ग्राहकसँग गर्ने सभ्य व्यवहारले जो कोहीलाई पनि उनको पृष्ठभूमि खोतल्न करै लाग्छ । 

दलित समुदायका रामले नेपाली, हिन्दी र अंग्रेजी फरर पढ्छन् र बुझछन् , आवश्कता परे बोल्छन् पनि । उनकै छेउमा लहरै जुत्ता मर्मत गरी बसिरहेकाहरू पनि उनी जत्तिकै नपढे पनि धेरैले प्राथमिक वा माध्यमिक तहसम्म चाही पढेकै छन् ।

बुबा जुठी रामको निधन र घरको कमजोर आर्थिक अवस्थाका कारण उनी २१ वर्षमै पुर्ख्यौली पेसालाई निरन्तरता दिन बाध्य भए ।

‘बीएको पढाइ सकेर सरकारी जागिर गर्ने इच्छा थियो तर बुबा बितेपछि घरको डामाडोल अवस्थाले त्यो पूरा भएन,’ उनले कान्तिपुरसँग भने । भारत बिहारको मधुवनीस्थित देवनारायण यादव उच्चमाविबाट आईए उत्तीर्ण गरेका हुन् । उनका छ सन्तान छन्, सबै शिक्षित छन् ।

रामका जेठी छोरी पुष्पाले म्याट्रिक, माहिली अन्नपूर्णाले बीए, साहिँली रुबीले बीए अनर्स उत्तीर्ण गरेका छन् भने कान्छी नीरु ८ कक्षामा पढदै छिन् । तीन छोरीपछि जन्मेका जेठो छोरा रोशन ११ कक्षासम्म पढेर भारतको दिल्लीमा जागिर गर्दैछन् भने कान्छो विशाल कक्षा–९ मा पढदै छन् । रामले जेठी र माहिली छोरीको बिहे गरिसकेका छन् । उनका दुई ज्वाइँ नै जागिरे छन् । भारत विहारको दरभंगा जिल्लास्थित दुलारपुर–१० का नागरिक रामको परिवारको नेपालसँग पुरानो र आत्मीय साइनो छ । उनका जेठो हजुरबुबा शंकर र बुबा जुठीको कर्म क्षेत्र पनि विराटनगर नै थियो । तीनवटै पुस्ताको काम गर्ने थलो भने त्यही सडक छेउ रहेछ । अद्भुत के छ भने रामको सारा परिवार विहारमै छ । उनी एक्लै एउटा कोठा भाडा लिएर विराटनगर–६ को सरोचिया बस्तीमा बस्छन् । उनको भान्सा र शयन कक्ष त्यही एउटा कोठा हो ।

बुबा जुठीको निधनपछि २०४९ सालमा विराटनगर आएको रामले बताए । ‘विराटनगरमै काम गर्दागर्दै बुबा बिरामी परेपछि घर फर्कनुभयो, उतै बित्नुभयो,’ रामले भने, ‘नेपालमा कर्म गर्नेको इज्जत छ भनेर बुबा र हजुरबुबाले भनिराख्नुहुन्थ्यो, त्यही भएर म पनि तानिएर यतै आएँ, अनि फर्किनै सकिनँ ।’

उल्लेखनीय के छ भने रामलाई स्थानीय सरकारी कार्यालयका कर्मचारी एवं सञ्चारकर्मीदेखि नागरिक समाजसम्म धेरैजसो विराटनगरवासीले चिन्छन्, आदर र विश्वास गर्छन् । उनी एक दशकदेखि विराटनगरकै एक होटलमा वेटरको काम पनि गर्छन् ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख दिलीपकुमार गौतमले दिनरात श्रम गरेर गरिखाने राम र उनका साथीहरूको शालीन व्यवहार देखेरै नहटाएको बताए । ‘आवागमनमा अवरोध नहुने गरी राम र उनका साथीहरू फुटपाथको एक छेउमा हाम्रो कार्यालयको भित्तासँग टाँसिएर आनन्दले व्यवसाय गर्छन्,’ उनले भने, ‘वरिपरि चिटिक्क पारेर बस्छन् ।’

उनी भारतका सुकुम्बासी पनि होइनन् । खेतीपाती नभए पनि रामको गाउँमा दुई कट्ठा पुर्ख्यौली जग्गामा करेसाबारीसहितको घर छ । सरकारले रासनकार्ड दिएको छ जसका आधारमा परिवारजनले एकदमै न्यूनतम मूल्यमा खाद्यवस्तु पाउँछन् ।

यति सबथोक हुँदाहुँदै विराटनगर मोहको कारण के त ? भनेर सोध्दा उनी भन्छन्, ‘सारा जवानी यतै बित्यो, स्थानीयसँग घुलमिल भयो, अब विहारमा रत्तिभर मन लाग्दैन, त्यहाँ निसास्सिन्छु ।’ तर यहाँको जति कमाइ आफ्नै गाउँमा पनि गर्न सकिने रामले बताए ।

उनी यहाँ दैनिक औसत ३ सय नेरु कमाउँछन् । दसैं, तिहार र छठ पर्वका बेलामा दैनिक औसत ७ सय नेरुसम्म आम्दानी हुने गरेको उनले बताए । तर रामले भने, ‘मनसुन अफ सिजन हो, यतिखेर कमाइको ठेगाना हुन्न, कहिलेकाहीं बोहनी पनि नहुन सक्छ ।’ रामले महिनामा ३ देखि ४ हजार नेरु घर पठाउने गरेको बताए ।

प्रकाशित : श्रावण १९, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्

सुत्केरीलाई हेलिकप्टरद्वारा उद्धार

‘महिना पुगेको थिएन । हुन्छ कि भनेर कल्पना नै गर्न सकिन, सँगै बसेका दाइ सबै काममा जानुभएको थियो । साहुनीहरू पनि काममा हुनुहुन्थ्यो, आफैं सुत्केरी भएँ, आफैं सम्हालिएँ ।’ 
आश गुरुङ

(लमजुङ) — घरमै सुत्केरी हुनु आमा र बच्चा दुवैका लागि जोखिम हुन्छ । घरमा कोही नभएको बेला एक महिला सुत्केरी भइन् । जन्मिएको बच्चा ७ महिनाको छ । आमाको उमेर १८ वर्ष मात्रै छ । न आमाको सुत्केरी हुने उमेर नै पुगेको छ, न बच्चा पुरै समय (९ महिना) पुगेर जन्मिएको छ ।

घरकै कटेरोमा जन्मिएको बच्चाले सास फेर्न नसकेर निलो हुँदै गएपछि मात्रै बच्चालाई अस्पताल लगियो । घरबेटी र छिमेकी मिलेर अस्पताल पुर्‍याए । जन्मिएको बच्चा २१ घण्टापछि अस्पताल पुर्‍याउँदा बच्चाले सास फेर्न छोडिसकेको थियो । अस्पतालमा आईसीयू न एनसीयू छ । न बालरोग विशेषज्ञ नै । बच्चालाई तत्काल अक्सिजन दिएर राखियो ।

हिमाली जिल्ला मनाङको चामेस्थित जिल्ला अस्पतालबाट बच्चा र आमा दुवैको शनिबार नेपाली सेनाको हेलिकप्टले उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले नि:शुल्क हवाई उद्धार सेवा दिएको हो । डीएसपी टीकाबहादुर कार्कीका अनुसार रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रेगाउँ घर भई मनाङमा यार्सागुम्बु संकलनका लागि पतिसँगै आएकी प्रमिशा बुढामगर र उनको बच्चालाई हेलिकप्टरले उद्धार गरेको हो । पोखरा लगिएका आमाछोराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

मनाङ जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.सन्तोष अधिकारीका अनुसार बिहीबार साँझ ५ बजेतिर सुत्केरी भएकी प्रमिशालाई शुक्रबार दिउँसो २ बजेतिर मात्रै अस्पताल ल्याइएको थियो । ‘बच्चाको अवस्था नाजुक थियो । सास समेत नफेरेपछि हामीले अक्सिजन दिएर राख्यौं र हवाई उद्धारका लागि पहल गर्‍यौं,’ उनले भने, ‘मन्त्रालयले तत्काल उद्धारको प्रयास गरे पनि मौसममा आएको खराबीले सफल हुन सकेन । मन्त्रालयकै पहलमा सेनाको हेलिकप्टले शनिबार बिहान उद्धार गर्‍यो ।’

हेलिकप्टरले उद्धार गरेको बच्चालाई अक्सिजन दिएरै पोखरा पुर्‍याएको सँगै गएका डा.अधिकारीले बताए । उनका अनुसार बच्चालाई एनआईसीयूमा भर्ना गरिएको छ । ‘ब्यथाको बेला कम्प्लिकेसन आएन । आमा १८ वर्षको । बच्चा २९ हप्ता २ दिन (७ महिना) को,’ उनले भने, ‘श्रीमान् लेक गएछन् । कोठामा सुत्केरी एक्लै । बच्चा नीलो भएपछि मात्रै अस्पताल ल्याए ।’ आमाको सुत्केरी हुने उमेर नपुगेको, बच्चा पर्याप्त आयु नपुगी जन्मिएकाले समस्या भएको उनले बताए । भोल्टेज कहिल्यै नपुग्ने चामेमा सबै ठाउँका बिजुली बन्द गराएर अस्पतालमा मात्रै बिजुली दिएर सामान्य हिटरले न्यानो बनाएर बच्चालाई अक्सिजन दिएर बचाएको उनले बताए ।

प्रमिशाका अनुसार सुत्केरी हुँदा कोही थिएनन् । ‘महिना पुगेको थिएन । हुन्छ कि भनेर कल्पना नै गर्न सकिन,’ उनले भनिन्, ‘सँगै बसेका दाइ सबै काममा जानुभएको थियो । साहुनीहरू पनि काममा हुनुहुन्थ्यो, आफैं सुत्केरी भएँ, आफैं सम्हालिएँ ।’ उनका अनुसार शुक्रबार बिहान खाना खानेबेलासम्म बच्चाको अवस्था राम्रो थियो । ‘एकैछिनमा बच्चा कालो र नीलो भयो । साहुनी र दाइले दिउँसो अस्पताल पुर्‍याए ।’ उनका अनुसार पति ओमबहादुर बुढामगर फु गाउँतिर गएका थिए । ‘बुढा फु गाउँ गएको ३ दिन भएको थियो । हिजो (शुक्रबार) राति मात्रै आउनुभयो,’ उनले भनिन् ।

ओमबहादुरका अनुसार उनीहरू वैशाखमा मनाङ आएका हुन् । आएपछि उनीहरू मनाङका लेकमा यार्सागुम्बु टिप्न हिँडे । गर्भवती अवस्थामै प्रमिशा पनि पति ओमबहादुरसँगै यार्सा टिप्न लेकमा खटिइन् । यार्सा टिप्ने मौसम सकिएसँगै उनीहरू केही सातायाता चामेको कोतोमा बसे । मनाङको लेकमा यार्सागुम्बु टिप्न जाने र यार्साको सिजन सकिएपछि पति ओमबहादुर अन्य काममा लागेका थिए । ‘गाउँमा पनि खेती किसानी हो, काम गर्ने नै हो । यता पनि काममै आएका हौं,’ ओमबहादुरले भने, ‘किरा टिपेको सकिएपछि कोतोमा बस्यौं । म माथि काममा गएको थिएँ, थाहै भएन,’ उनले भने ।

प्रकाशित : श्रावण १९, २०७६ ११:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्