१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘भगवान् सम्झेर स्याहार सुसार’

प्रदीप मेन्याङ्बो

(सुनसरी) — २९ वर्षीय अस्मिता, २८ वर्षका सरोज, १९ वर्षकी सुस्मिता र १४ वर्षका सन्दीप चारै जना दृष्टिविहीन छन् । कान्छा सन्दीपबाहेक अरू बोल्न पनि सक्दैनन् । बस्नसमेत नसक्ने उनीहरू एउटै कोठामा पल्टिएर दिनचर्या बिताउन बाध्य छन् । इटहरी २ तामाङचोकका लक्ष्मण तामाङ र जसमायाका सन्तान हुन्, उनीहरू ।

‘भगवान् सम्झेर स्याहार सुसार’

बावु लक्ष्मण उमेरले ५२ वर्ष भए । आमा जसमाया ४८ वर्षकी छन् । उनीहरूका दिन यिनै चार सन्तानको स्याहार सुसारमा बित्ने गरेको छ । उनीहरूको एक कट्ठा जग्गामा बनेको ३ कोठे घर छ । चारै सन्तानले पूर्णअपाङगतको रातो परिचयपत्र पाएको महिना दिन पनि बितेको छैन । अपाङ्गता भत्ता पाउन अझै केही महिना पर्खनुपर्नेछ । दृष्टीविहीन सन्तानको स्याहारमा खटिरहेकी आमा जसमायाले भनिन्, ‘रातभर सुत्न पनि पाइँदैन, पालो–पालो रेखदेख गर्छौं । मेरो अरू केही काम छैन यिनै छोराछोरीलाई भगवान् ठानेर स्याहार सुसार गरिरहेकी छु ।’ लक्ष्मणका अनुसार चारै सन्तानको पूर्णअपाङ्गता भत्ता स्वरूप मासिक तीन हजार रुपैयाँ पाउने भएपछि केही राहत पुग्ने विश्वास पलाएको छ । लक्ष्मण सेवानिवृत नेपाली सेना हुन् । उनको पेन्सनबाट आउने रकमले जेनतेन परिवार धानिएको छ ।


लक्ष्मणले भने, ‘उनीहरूलाई सुताउनका लागि ओल्टाइ पल्टाइ गर्नुपर्छ । सबैको शरीर लल्याकलुलुक भएकाले उठेर बस्न सक्दैनन् । दिसा पिसाब पनि सुतेकै ठाउँमा गराउनु पर्छ । नुहाउने, लुगा फेरिदिने, खुवाउने कामका लागि बुढाबुढी अहोरात्र खटनुपर्छ । तामाङ दम्पतीकाअनुसार जेठी अस्मिता सात वर्षसम्म ठीक थिइन् । त्यसपछि बिस्तारै आँखा देख्न छाडिन् । आठ वर्षको उमेर पुग्दा पूरै आँखा नदेख्ने भइन् । त्यसपछि ढल्ने बेहोस हुने समस्या देखिन थाल्यो । केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछयान भइन् । अरू दुई जनालाई पनि ठयाक्कै त्यस्तै भयो । अलि–अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ । इटहरी उपमहानगरपालिकाले दृष्टीबिहीन भएका एउटै घरका चारै सन्तानको लालनपालनका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । इटहरी २ स्थित तामाङचोकका लक्ष्मण तामाङ र जसमायाको परिवारलाई उपमहानगर उपप्रमुख लक्ष्मी गौतम घरैमा पुगेर आर्थिक सहयोग गरेकी हुन् । उपप्रमुख गौतमले यस वर्षको बजेटमै तामाङ परिवारको लालनपालनका लागि एक लाख बजेट व्यवस्था गरेको बताइन् । उनले भनिन्, ‘एकै परिवारका चारै सन्तानको यस्तो अवस्था भएकाले उपमहानगरले मिल्ले र सक्नेसम्म सहयोग गर्दै जानेछ ।


नगरमा यस्तो अवस्थामा बसेकाहरूलाई सहयोग गर्नु उपमहानगरपालिकाको दायित्व हो । अर्को वर्ष सहयोग राशिमा वृद्धि गर्नेछौं ।’ उनले तामाङ परिवारलाई सम्झेर सहयोग गर्न सबैसँग आग्रह समेत गरिन् । जसमायाले भनिन्, ‘इटहरी उपमहानगरले हाम्रो दुख देखेर सहयोग गरेकोमा धन्यवाद । अब यी चारैजनालाई राम्रो अस्पतालमा लगेर रोग पत्ता लगाई उपचार गर्न सके हुन्थ्यो ।’


प्रकाशित : श्रावण १९, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?