भनसुनको भरमा योजना नदिइने 

विनु तिम्सिना

विराटनगर — पहुँच र भनसुनको आधारमा विकासका आयोजना जथाभाबी छनौट हुँदा अनियमितता बढेका भन्दै यस्तो प्रवृत्तिलाई रोक्न प्रदेश सरकारले योजनाबद्ध विकासको अवधारणा अघि सारेको छ । भनसुनको आधारमा योजना दिँदा उपलब्धि प्राप्त नहुने भएकाले यो आर्थिक वर्षदेखि योजनाबद्ध विकासको अवधारणा अघि सारिएको प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए । 

भनसुनको भरमा योजना नदिइने 

विगतमा आयोजनाहरु छनौट गर्दा माथिदेखि तलसम्म विधिसम्मत ढंगले छनौट गर्ने भन्दा कसैले चिट दिएको भरमा, विभिन्न राजनीतिक नेतृत्वले कार्यक्रम राख्दिनुपर्‍यो भन्ने आधारमा र विभिन्न इन्ट्रेस्टको आधारमा योजना छनौट हुने गरेको थियो । अब त्यस्तो नहुने प्रमुख सचिव अधिकारीको दाबी छ । ‘अब आयोजना छनौट गर्दा त्यसले रोजगारी सिर्जना गर्छ गर्दैन, गरिबी निवारण हुन्छ हुँदैन, वातावरणीय पक्ष के छ, समावेशी विकासलाई सहयोग गर्छ गर्दैन भन्ने धेरैवटा सूचकमा अंक दिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यी सूचकहरुमा ८० प्रतिशत अंक पाउने आयोजनाहरुलाई मात्रै प्राथमिकतामा राखिन्छ ।’


‘हामीले ५ वर्षको आवधिक योजना तयार गरिरहेका छौँ, त्यो तयार गर्दा मध्यमकालिन् खर्च संरचना लागू गर्छौँ,’ उनले भने, ‘त्यो लागू गर्दा अहिलेदेखि नै प्रोजेक्टहरुको प्राथमिकताका आधारमा पी वान, पी टु र पी थ्रीमा राखिन्छ, महत्त्वपूर्ण आयोजनालाई पी वान, दोस्रोलाई टुमा त्यसपछि प्राथमिकता थ्रीमा राखिन्छ ।’


आवश्यक पर्ने आयोजनामा मात्रै बजेट खर्च गरिने बताउँदै उनले अनावश्यक जथाभाबी बजेट खर्च गर्ने परिपाटीलाई निरुत्साहित गरिने बताए । यसका लागि प्रदेश सरकारले कर्मचारीलाई सक्रिय बनाउने प्रयास गरिरहेको प्रमुख सचिव अधिकारीले जानकारी दिए ।


गत वर्षको बजेट खर्चको समीक्षा, कतिवटा आयोजनाको प्रगति कस्तो भयो, बेरुजुको अवस्था, पुँजीगत खर्च र वित्तीय प्रगति कस्तो भयो यस विषयमा धमाधम काम भइरहेको उनले जानकारी दिए । यो आर्थिक वर्षमा कसरी बजेट खर्च गर्ने भन्ने विषयमा सबै मन्त्रालयसँग योजना माग गरिएको र विकास काममा के–के समस्या देखियो त्यस विषयमा छलफलको तयारी प्रदेश सरकारले गरिरहेको जनाएको छ । प्रदेश सरकार मातहतका कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने र त्यसका आधारमा मूल्याङ्कन गर्ने तयारी पनि प्रदेश सरकारले गरेको छ ।


अहिले सबै मन्त्रालयले बजेट खर्च कार्यान्वयनको योजना खाका तयार गरिरहेका छन् । योजना खाका तयार भइसकेपछि भदौबाट त्यसलाई कार्यान्वयनमा लैजान र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चौमासिक रूपमा अनुगमन गर्ने बताइएको छ । यसकालागि मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय विकास समस्या समाधान समिति गठन गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?