सिद्धिचरण राजमार्ग : ठाँटी पहिरोले संकट

दसकयता बर्सेनि झर्ने पहिरोले राजमार्ग अवरुद्ध हुँदा उदयपुरसँगै सोलुखुम्बु, ओखलढुंगा र खोटाङका विभिन्न क्षेत्र प्रभावित
डिल्लीराम खतिवडा

उदयपुर — बर्सेनि ठाँटीभन्ज्याङमा झर्ने पहिरोले सिद्धिचरण राजमार्ग ठप्प हुने गरेको छ । यसपालि पनि त्यस्तै भयो । दशकयता बर्सेनि राजमार्गको उक्त स्थानमा पहिरो झरेकै हुन्छ । यसले यातायात अवरुद्ध हुने गरेको छ । सर्वसाधारण गन्तव्य पुग्नबाट वञ्चित हुन्छन् भने उपभोग्य सामग्री ढुवानी बन्द हुने गरेको छ ।

सिद्धिचरण राजमार्ग : ठाँटी पहिरोले संकट

एकपटक पहिरो गएपछि महिना दिनसम्म सडक अवरुद्ध हुने गरेको उदाहरण छ । ठाँटीकै पहिरोका कारण यसपालि तीन सातादेखि यातायात ठप्प भयो । पहिरोले उदयपुरलगायत सोलुखुम्बु, ओखलढुंगा र खोटाङका सर्वसाधारण, व्यापारी, उद्योगपति, कर्मचारी, यातायता व्यवसायीदेखि धार्मिक यात्रामा आउने तीर्थयात्रीले समेत सास्ती खेप्नु पर्‍यो ।


ठाँटीमा उत्तर र दक्षिण दुवैतर्फ भिरालो पहाड छ । बीचमा नाके डाँडी जस्तै भएर राजमार्ग बनेको छ । सडकको दुवैतिर कहालीलाग्दो भीर भएको यही ठाउँमा हरेक वर्ष पहिरो झर्ने गरेको हो । बर्सेनि सडकारले करोडौंको लगानीमा मर्मत गरिरहेको छ । तर, दीर्घकालीन उपाय नअपनाउँदा हरेक वर्ष समस्या बल्झने गरेको हो ।


‘ठाँटीमा पहिरो गएको पाचौँ पटक भयो,’ कटारी बजारका यातायात व्यवसायी शत्रुधन कार्कीले भने, ‘०५६/५७ तिर सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड सञ्चालन भएको हो ।’ तर त्यसको ५/६ वर्षपछि ०६१/६२ सालमा पहिलोपटक ठाँटीमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको उनले बताए ।


‘त्यसयता वर्षैपिच्छे ठाँटीमा पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ,’ कार्कीले भने, ‘बर्सेनि करोडौं खर्चेर मर्मत गरिन्छ, फेरि उस्तै हुन्छ ।’ गत वर्ष साउनमा पनि डिभिजन सडक कार्यालय लहानले झन्डै २ करोड रुपैयाँ खर्चेर ठाँटी पहिरो रोकथामको प्रयास गरेको थियो ।


त्यसअघि तत्कालीन ओम हलेसी यातायात व्यवसायी संघ, स्थानीय व्यापारी र सडक डिभिजन कार्यालय लाहानले करोडौं रुपैयाँ लगाएर मर्मत गरेका थिए । ‘झन्डै १५ वर्षयता ठाँटीमा पहिरोले राजमार्ग बगाउने गरेको छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव जमानसिह बस्नेतले भने, ‘दीर्घकालीन समाधानको उपाय ननिकालेसम्म सधैं यस्तै हो ।’


सिद्धिचरण अवरुद्ध हुँदा सर्वसाधारण भारी बोकेर पैदल यात्रा गर्न बाध्य छन् । सवारी साधन सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुँदै गएपछि सोलु, ओखलढुंगा र खोटाङका सर्वसाधरणले महंगीको मार खेप्नु परेको सर्वसाधरणले गुनासो गरेका छन् ।


‘सोलु, ओखलढुगा र खोटाङमा त समस्या भइसक्यो, त्योभन्दा बढी उदयपुरकै कटारी नगरपालिका १४ घुर्मी बजारमा अभाव भएको छ,’ घुर्मीका व्यापारी समेत रहेका उदयपुर उद्योग वाणिज्य संघ कटारीका उपाध्यक्ष महेन्द्र दासले भने, ‘व्यापारीको पसल रित्तियो ।’ यस्तै अवस्था रहिरहे सर्वसाधारण भोकै हुने अवस्था भएको उनले बताए ।


‘फेरि पनि ढाकरमा नुन बोकेर दुई दिन हिँड्नु परेको छ,’ खोटाङको हलेसी चुवाचुङ नगरपालिकका ७६ वर्षीय नरबहादुर राईले भने, ‘बेतेनीदेखि घुर्मीसम्म ढाकरमा नुन, तेल, चामल, चिउरा बोकेर हिंडदै आउनु पर्‍यो ।’ बस चढ्ने अवस्था नभएकाले ढाकर बोक्नु परेको उनले बताए ।


त्यसैगरी साउन महिनामा पूर्वी नेपालदेखि भारत र भुटानसम्मका तीर्थयात्री पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेवको दर्शनका लागि अन्य समयभन्दा बढी आउँछन् । पूर्वी तराई, भारत र भूटानबाट हलेसी जाने छोटो बाटो भनेकै सिद्धिचरण राजर्माग हो । ‘सिद्धिचरण अवरुद्ध हुँदा ठूलो सास्ती भोग्नु परेको छ,’ झापाको चन्द्रगढीबाट सोमबार हलेसी जल चढाउन हिंडेका सरोज मैनालीले भने, ‘पैदल यात्रा गरेर भए पनि हलेसी दर्शन गर्ने धोको छ ।’


सर्वसाधरले सास्ती खेप्नु परेकाले चाँडै सडक खोल्ने गरी मर्मतको काम भइरहेको डिभिजन सडक कार्यालय लाहनका प्रमुख विनोदकुमार साहले बताए । ‘दैनिक काम भइरहको छ,’ उनले भने, ‘पहिरोले बगाएको खण्डको विकल्पमा सडक बनाएर सर्वसाधरणको आउजाउमा सहज बनाउने प्रयास हुँदैछ ।’ असार २६ गतेको बर्षातसँगैको पहिरोले कटारी नगरपालिका ११ ठाटीमा पहिरो जाँदा सिद्धिचरण राजमार्ग अवरुद्ध भएको हो ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?