२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुलतमा युवा

सुम्निमा चाम्लिङ

इटहरी — २९ वर्षीय एक युवक ९ वर्षदेखि लागुऔषधमा अभ्यस्त छन् । भारतको आसाममा जन्मेका उनी अध्ययनका लागि नेपाल आएर फुपूको घरमा बसेका थिए । बुवा कोइला व्यापार गर्थे । बुवाले आसामबाट समय मिलाएर खर्च पठाइरहन्थे । पैसाको त्यति दुःख थिएन ।

कुलतमा युवा

उनी लागुऔषध प्रयोग गर्ने साथीहरूलाई सम्झाउने गर्थे । फुपुको निधनपछि भने उनी निकै निराश बने । साथीहरूले लागुऔषध लिए पीडा भुल्न सकिने बताएपछि प्रयोग गरे । विस्तारै उनी त्यसैमा फसे । हाल भने सुध्रनका लागि प्रयास गरिरहेका छन् ।

धरानका २१ वर्षीय युवक पाँच वर्षदेखि लागुऔषध प्रयोग गर्दै आएका छन् । ९ वर्षको उमेरमा आमा र १७ वर्षको उमेरमा बुवाको निधन भयो । बुवाको देहावसानपछि दिदी र दाजुको साथमा हुर्कदै गए । कक्षा ७ मा पढदै गर्दा बिचमै पढाइ छाडे । दाजु दिदीले दिएको पकेट मनीले उनी लागुऔषध प्रयोग गर्न थाले । सुरुका दिनमा साथीहरूले खानका लागि कर गरेका थिए । पछि विस्तारै लत लाग्दै गयो । उनी भन्छन्, ‘छाड्नका लागि कयौपल्ट कोसिस गरें पनि सकिनँ ।’


अहिले उनलाई परिवारले पुनःस्थापना केन्द्रमा राखेका छन् । उनी यस केन्द्रमा आएपछि सकरात्मक परिवर्तन भएको बताउँछन् । यस्तै ३३ वर्षीय पेसाले इलेक्ट्रिकल इन्जिनियर युवक दार्जिलिङमा मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । कक्षा ९ मा पढदा पहिलोपल्ट मामाको छोराले उनलाई लागुऔषध खान दिए । विस्तारै बानी पर्न थाल्यो । आमाबुवाले दिएको पकेट खर्च लागुऔषध किन्न खर्च हुन थाल्यो ।


आमाबुवासँग ढाटेर पढाइका लागि भन्दै अतिरिक्त पैसा मागेर पनि लागु औषध प्रयोग गरे । कलेज पढ्नका लागि घरदेखि अन्य सहर पुगे । त्यहाँ अझ उनलाई स्वतन्त्र भयो । घरबाट पठाएको खर्च लागुऔषधमा सकिने गर्थ्यो । प्रयोग गर्दै इलेक्ट्रिकल इन्जिनियरको पढाइ सकाएपछि काम सुरु गरे । घरबाट धेरै टाढा भएकाले उनलाई एक्लोपना हुने गर्थ्यो । एक्लोपना मेटाउनका लागि थप लागुऔषध प्रयोग गर्न थाले । लागुऔषध छाड्नका लािग नेपालको पुनःस्थापना केन्द्रमा आएका छन् ।


लागूऔषधको लतमा फस्ने उनीजस्ता युवाको संख्या निकै छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार गत आर्थिक वर्षमा लागुऔषध शीर्षकमा ३८ वटा मुद्दा दर्ता भएका थिए । दर्तामध्ये ३६ वटा मुद्दा फर्छ्योट भए भने ३ वटा बाँकी छन् ।


पक्राउ परेका मध्ये पुरुष ४५ र महिला २ जना छन् । मुद्दा शाखाका अनुसार गत आवमा नाइट्रोजन ५ सय ८६, गाँजा १७ केजी ५ ग्राम, नाइट्रोभेट ७ हजार ९ सय ८ ट्याबलेट, डाइजेपाम ७ सय ८० एम्पुल, लुपिजेसिक ३ सय ९१ एम्पुल, फनारगन ६ सय २० एम्पुल, ब्राउनसुगर १० ग्राम ६ सय ९१ मिलिग्राम, एभिल १२ एम्पुल र डाइलेक्स डिसी १ सय १३ बोतल बरामद भएको थियो ।


यस्तै, इलाका प्रहरी कार्यालय धरानको तथ्यांक हेर्ने हो भने इटहरीको तुलनामा दोब्बर बढी लागुऔषधका मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्षमा मात्र ८७ वटा लागुऔषध शीर्षकमा मुद्दा दर्ता भए । पक्राउमध्ये १ सय ४४ पुरुष र ३१ जना महिला छन् ।


गाँजा ५० केजी १ सय ६० ग्राम, चरेस ६ ग्राम, खैरोहिरोइन ७० ग्राम ५ सय ५० मिलिग्राम, एभिल ९ सय ९ एम्पुल, लपीजेसिक ९ सय २ एम्पुल, डाइजेपाम ८ सय ९५ एम्पुल, डालेक्स डिसी ८५ बोतल, नाइट्रोजन ट्याबलेट ५ सय ६७ ट्याबलेट र स्पास्मोप्रोक्सिभन ८ हजार ७ सय ५८ क्याप्सुल बरामद भएको छ । इलाका प्रहरी कार्यालय धरानमा विभिन्न शीर्षकमा ६० वटा मुद्दा दर्ता भएकामध्ये ३० वटा मुद्दा लागुऔषधका छन् ।


इलाका प्रहरी कार्यालय धरानका डीएसपी डुण्डीराज न्यौपानेले लागुऔषध कारोबार र प्रयोगकर्ताको संख्या घटाउनका लागि नागरिक स्तरबाट सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए । आफ्ना सन्तानको क्रियाकलापमा विशेष ख्याल गर्नुपर्ने उनको जोड छ । खुला सिमानाका कारण लागुऔषध नियन्त्रणमा कठिनाइ हुने गरेको प्रहरीको भनाइ छ ।


मुक्ति पुनःस्थापना केन्द्र इटहरीका संयोजक रवि लिम्बूका अनुसार किशोरावस्थाका युवाहरू बढीजसो लागुऔषधमा फसिरहेका छन् । साथीभाइको लहलहैमा, समाजमा देखावटी गर्ने बाहानामा, जीवनदेखि निराश हुनु जस्ता कारणले लागुऔषध प्रयोग गर्ने उनले बताए ।


किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र धरानका निर्देशक कमल तिगेलाका अनुसार बेरोजगार, साथीसंगत, भावनात्मक विचलन जस्ता कारणले लागुऔषध प्रयोग गर्ने गरेको पाइको छ । लागुऔषध आपूर्ति नियन्त्रण र जनचेतनामुलक कार्यक्रम गर्न सके न्यूनीकरण गर्न सकिने तिगेलाको भनाइ छ । उनका अनुसार १६ देखि ३० वर्षका युवाहरू लागुऔषध प्रयोगमा फस्ने गरेको पाइएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?