चार्ज गरिरहेको मोबाइल चलाउँदा १ किशोरको मृत्यु

रासस

मोरङ — मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको बिहीबार बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : श्रावण १६, २०७६ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एम्बुलेन्सको भर पर्दा...   

विद्या राई

काठमाडौँ — चार लाख रुपैयाँ तिर्न नसकेपछि महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा उपचाररत एक बच्चाको ‘डिस्चार्ज’ रोकिएको छ । डेढ महिनाकी छोरीलाई एक महिनादेखि भेन्टिलेटर र आईसियुमा राखेर स्वासप्रस्वास तथा निमोनियाको उपचार गराइरहेकी मकवानपुर, बसामाडीकी २६ वर्षीया सोनु तामाङलाई उपचार खर्च तिर्न नसकेर डिस्चार्ज गर्न सकेकी छैनन् ।

‘डाक्टरले जाऊ भनेर पनि निस्केर जान सकिएको छैन,’आपतको बेला एम्बुलेन्सवालाको मात्रै भर परेर ‘महंगो’ शुल्क लिने निजि अस्पताल पुग्नुपर्दा नमिठो अनुभव बताउँदै सोनुले भनिन् ।

उनले गत जेठ ३० मा छोरी रेचेनलाई घर नजिकैको हेटौडा अस्पतालमा ‘नर्मल डेलिभरी’ बाट जन्माइएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य भएकाले जन्मेकै दिन घर लगियो । तेस्रो दिनदेखि भने बच्चालाई अचानक ज्वरोले समात्यो । सोही दिन राति नै उपचारका लागि सुत्केरी आमाले छोरीलाई हटौडा अस्पतालमा पुर्‍याइन् । औषधि उपचार पछि निको भैसकेकी छोरी १७ औ दिनको बेलुकीपख अचानक सास फेर्न नसक्ने भइन् । शरिर लल्याकलुलुक्क पर्‍यो । सोनुले भदैनी नाता पर्ने शान्ती लामासँग तत्कालै हटौडा अस्पताल लगे ।

बच्चाको स्वासप्रस्वास समस्या देखेर हेटौडा अस्पतालले लगत्तै भरतपुरको चितवन मेडिकल कलेजमा रिफर गरिदियो । ३५ सय तिरेपछि एम्बुलेन्सले एकघण्टामै चितवन मेडिकल पुर्‍याइदियो । त्यहाँ पुग्दा रातको ११ बजेको थियो । चितवन मेडिकलले भर्ना लिएर बच्चाको मुखमा अक्सिजन पाइप राख्यो । तर बच्चा सिकिस्त भैसकेको भन्दै डाक्टरले भेन्टिलेटर भएको एम्बुलेन्समा राखेर भेन्टिलेटर भएको अस्पतालमा तत्कालै लैजान भन्यो । सोनु र शान्ती आत्तिए । उनीहरुलाई अबेर रातमा एम्बुलेन्स खोज्न सहज थिएन । चितवन मेडिकलकै सुरक्षा गार्डले दिएको नम्बरका आधारमा एम्बुलेन्सलाई फोन गरे ।

भेन्टिलेटरवाला एम्बुलेन्स पनि आयो । बच्चालाई एम्बुलेन्समा राखेर भरतपुरका ५/६ वटा अस्पताल रातभर चाहारे । कुनै अस्पतालमा भेन्टिलेटर पत्ता लागेन । सोनु र शान्तीले बच्चालाई काठमाडौं ल्याउने निर्णय गरे । ‘सास हुन्जेल आश हुने, साढे नौ हजार रुपैयाँ तिरेर एम्बुलेन्सले ल्याइदिने भयो, हामी रातारात आयौँ,’ सोनुले भनिन् । उनीहरुलाई काठमाडौं आएपनि बच्चालाई कुन अस्पताल लैजाने थाहा थिएन । एम्बुलेन्स चालकले बालमैत्री अस्पताल सबैभन्दा राम्रो हुने भन्दै सिधै बालमैत्रीमा ल्याएर छाडिदियो । चालकले केही समय अघि आफ्नो बच्चालाई पनि त्यहि उपचार गरेको भन्न भ्याएको थियो ।

सोनु र शान्तीले कान्ती बाल अस्पतालबारे सुनेकै भरमा चासो राखेका थिए । तर सिटै नपाउने, बच्चा सिकिस्तै भएकाले बालमैत्री नै उपयुक्त हुने एम्बुलेन्सवालाले सुझाएको थियो । ‘एकदम राम्रो उपचार हुन्छ तर दिनको ८ देखि १० हजार खर्च हुन्छ भनेको थियो, बच्चा ६/७ दिनमै निको होला ६०/७० हजार त दुःखसुख तिरौला भनेर यहि आयौँ,’ सोनुले भनिन् ।

बिहानको ८ बजेको थियो बालमैत्री पुग्दा । बच्चा ल्याएदेखि नै अस्पतालको कोठा नं. २१६ को बेड नं. ६ मा भेन्टिलेटर र आईसियुमा राखिएको छ । उपचार गर्ने क्रममा बच्चालाई निमोनियाले च्यापेको पत्ता लाग्यो । औषधि गर्ने, रगत फेर्ने क्रम चलिरहेको छ । बच्चा अस्पताल ल्याएको एकमहिना हुन लागेको छ । उपचार खर्च दैनिक बढिरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले तिर्ने हैसियत छैन । ‘आपत परेका बेला एम्बुलेन्सवाला ‘ढुंगा खोज्दा देउता भेटे’ झै भएको थियो, तर बच्चाको महिनादिनसम्म उपचार खर्च तिर्ने हैसियत रहेन,’ सोनु भन्छिन् ।

आर्थिक अवस्था कमजोर भएको थाहा पाएदेखि अस्पतालले बच्चा कान्ती लैजान अथवा घर लैजान भन्दै आएको छ । तर भर्ना गरिएको पहिलो सातादिनमै भेन्टिलेटरबाट निकालेको बच्चाले १२ घण्टामात्रै सास लिएको थियो । उसले २४ घण्टा सास लिएमात्रै उपचार सफल भएको मानिन्छ । थप उपचारपछि पुन: दोस्रो पटक भेन्टिलेटरबाट निकाल्दा ५/६ घण्टामात्रै सास लिन सक्यो । त्यसपछि अस्पतालले रिपोर्ट हेर्न दिल्ली पठाएको थियो । दिल्लीमा पठाएको रिपोर्टले निमोनियाकै कारण मसल कमजोर भएको देखाए उपचार नगरी घरै लैजान सम्म सुझाव दिएको थियो । ‘भेन्टिलेटरमा धेरै समय राखे स्वास्थ्यमा खराबी हुन्छ, स्थिती यस्तै हो, घरै लैजानु भनेर डाक्टरले भन्नुहुन्छ, होकी जस्तो नि लाग्छ, तर खर्च नतिरी टपक्क टिपेर लैजान पनि सजिलो छैेन,’ सोनुले भनिन् ।

दिल्लीमा हेर्न पठाएका रिपोर्ट १० दिन अगाडी आउदा निमोनियाको असर सामान्य देखिएको डाक्टरले भनेका छन् । सस्तो शुल्कमा उपचार हुने कान्ती बाल अस्पताल लैजान भनिसकेको छ । रिफरल पत्र पनि दिइसकेको छ । बेला-बेला डाक्टरले कान्तीमा लैजाने कि घर लैजाने भनि सोनुलाई सोधिरहन्छ ।

पछिल्लो २४ घण्टादेखि भने बच्चा आफैले सामान्य सास लिन सक्ने भएको छ । भेन्टिलेटर र आईसियुमा राखेर उपचार गरेको मात्रै जम्मा ५ लाख खर्च भएकोमा एक लाख रुपैयाँ मिनाहा गरिदिने सान्त्वना दिएको छ । तीनदिनअघि मात्रै तिर्नुपर्ने चार लाख मध्येको आधा र सक्कल नागरिकता बुझाए तुरुन्तै डिस्चार्ज गरिदिने भनेको छ । ‘भिजिटर रुम’को २ नम्बर कोठामा कुरुवाको बसिरहेका सोनु र शान्तीसँग भने खर्चको चाङ मात्रै छ । कुरुवा कोठामाबापत दिनको ३ सय रुपैयाँ पर्छ । खाना, खाजा र सुत्केरी सोनुलाई सुप खुवाउदा दिनको कम्तीमा १२ सय जति खर्च हुन्छ । आफन्त, सरसाथीभाइबाट ऋण लिएर खाना खाइरहेका छन् ।

सोनुकी पति भक्तबहादुर तामाङ ९ महिनादेखि वैदेशिक रोजगारका लागि बहराइनमा छन् । त्यहाँ न्युन तलबमा कम्पनिमा काम गरिरहेका छन् । पतिसँग सोनुको फोनमा कुराकानी भैरहन्छ । उनले पनि अस्पतालबाट डिस्चार्ज गर्न सल्लाह दिएका छन् । तर खर्च गर्ने हैसियत छैन । ‘दुई महिनामा २४ हजारजति पैसा आउँछ, त्यतिले लाखौ रुपैयाँ तिर्ने सम्भावना नै छैन,’ सोनुले फेरी थपिन्, ‘विदेशमा बस्नेलाई यताको कुरा कति टर्चर दिइरहनु भन्ने लाग्छ ।’

चारजनाको परिवार मध्ये पति बहराइन, आमाछोरी अस्पतालमा । ५ वर्षको छोरो आफन्तकोमा छोडेर आएकी सोनुको आर्थिक अवस्था दयनीय छ । सुत्केरी अवस्थाकी उनलाई स्याहारसुसार पुग्नुपर्ने बेला अस्पतालमा कुरुवा बसेकी छन् । उनलाई बाँच्ने आश पलाएकी छोरीलाई अस्पतालबाट चाडै डिस्चार्ज गरेर सस्तो अस्पतालमा लैजाने एक मात्रै धोको छ । यसका लागि अस्पतालले भनेको चार लाख रुपैयाँ तिर्न असम्भव हुने भएपछि सहयोगको आहृवान गरेकी छन् ।

यो एक उदाहरण मात्रै हो । जसलाई स्वास्थ्यसेवामा गरिबी मुख्य बाधक बनेको छ । नेपालको संविधान भाग—३ मा मौलिक हकमा बालबालिकाको हक अन्तर्गत ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुने’ व्यवस्था गरेको छ । यसैगरी बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९ मा ‘आमाको गर्भदेखि बालबालिकाको उमेरसम्मको बालस्वास्थ्यको सबै अवस्थाहरुमा बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गरिने’ उद्देश्य लेखिएको छ ।

प्रकाशित : श्रावण १६, २०७६ १५:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×