१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

वृद्ध दम्पतीको पानीमाथि बास

विनोद भण्डारी

विराटनगर — छाप्रोभित्र जमेको पानीमा दुईवटा खाट छन् । एउटामा खाना पकाउने र भाँडावर्तनसहितका सामान राखेका छन् । अर्कोमा बस्ने चाँजो मिलाएका छन् । कटहरी गाउँपालिका–४ नयाँ बजारदेखि करिब दुई सय मिटर दक्षिणमा ८५ वर्षीय दम्पती दुई सातादेखि यसरी नै बस्न बाध्य छन् ।

वृद्ध दम्पतीको पानीमाथि बास

स्थानीय कोपेन्द्र सिंहको जमिनमा दशकदेखि छाप्रो हालेर बस्दै आएका देव दास र उनकी पत्नी पारुदेवी लोहन्द्रा खोलाको बाढी बस्तीमा पसेपछि डुबानमा परेका हुन ।


उनीहरु बस्दै आएको छाप्रोमा शनिबार पनि एक फिट पानी जमेको थियो । छिमेकका कुनै पनि घर ओभाना छैनन् । नजिकको सामुदायिक विद्यालय पनि पानीले डुबेपछि दास दम्पतीलाई ओभाना ठाउँमा सार्न नसकिएको स्थानीयको भनाई छ । ‘भएको जायजेथा पानीमाथिको खाटमै राखेका छौं । यही पकाउने, खाने र बस्ने गरेका छौं,’ दासले भने दुईसाता देखि यी खाट नै संसार झै भएको छ ।’ उनीहरु खानेपानी लिन र शौचालय गर्न जानमात्र दुई सातादेखि खाटबाट उठ्ने गरेको र अन्य समय त्यही बसेर बिताउने गरेको बताउछन् ।


दिनभर गाउँ–बजार डुलेर खाद्यान्न र आर्थिक संकलन गरेर गुजारा चलाउँदै आएका उनीहरु दुईसाता देखि बाहिर ननिस्किएको स्थानीय कोपेन्द्र सिंहले बताए । उनका अनुसार उनीहरुले स्थानीय निकाय र विभिन्न संघसस्थाले वितरण गरेको राहत र भेट्न आएकाले ल्याएको सामाग्रीले गुजरा चलाउँदै आएका छन् ।


भरिएको पानी सुक्न थालेका बेला बिहीबार र शुक्रबारको वर्षाले फेरि लोहन्द्रा खोला बस्तीमा पसेपछि थप डुबानमा परेका हुन् ।


कटहरी गाउँपालिकामा मात्र यसपालीको बाढीले झण्डै एक हजार परिवार डुबानमा परेको गाउँपालिका प्रमुख रामकुमार कामतको भनाई छ । ‘नयाँ बजारको सुकुम्बासी बस्तीका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्,’ प्रमुख कामतले भने, ‘त्यहाँ झण्डै सय घरमा अझै पनि पानी सुकेको छैन । अधिकांश घरभित्र पानी र लेदो छ ।’ आसपासमा ओभानो ठाउँ नहुँदा सार्न नसकिएको उनले बताए ।

प्रकाशित : श्रावण १२, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?