कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

धरानले धानेन अस्तित्व

एक दशकको अवधिभित्र अव्यवस्थित घर निर्माण, जनसहभागितामा आधारित सामान्य विकास र सीमा विस्तारभन्दा उल्लेख्य काम हुन सकेनन्
प्रदीप मेन्याङ्बो

सुनसरी — जनजाति र लाहुरेको सहर भनी परिचय बनाएको धरानमा पछिल्लो एकदशकमा खासै परिवर्तन आएको छैन । विकास निर्माणमा मुलुकका अन्य सहरको तुलनामा धरान पछाडि नै छ ।

धरानले धानेन अस्तित्व

लाहुरे र वैदेशिक रोजगारमा जानेमध्ये बढी कमाएर आउनेहरूले बनाएका कंक्रिटका घरहरू भने थपिएका छन् । उनीहरूले आफ्नो घरअघिका कच्ची सडकलाई जनसहभागिता स्वरूप आर्थिक सहयोग गरेर कालोपत्रे बनाए । यसैलाईमात्र परिवर्तन मान्नु पर्ने अवस्था धरानको छ ।


फेसन र स्टाइलमा मुलुककै प्रतिनिधित्व गर्ने पर्यटकीय सहरमा देखिने परिवर्तनमा जति भए ती सबै जनसहभागितामा आधारित छन् । जनप्रनिधिहरू आएपछि भएका भौतिक परिवर्तन अधिकांश निर्माणाधीन अवस्थामा मात्र छन् ।


नमुना सहरको योजना हरायो

५० को दशकमा तात्कालीन नगर प्रमुख ध्यानबहादुर राई र उपप्रमुख मनोजकुमार मेन्याङ्बोले मुलुककै समृद्ध नमुना सहर बनाउन २० वर्षे दीर्घकालीन रणनीतिक कार्ययोजना बनाएर नगरपालिकाबाट पारित गरेका थिए ।


उक्त योजनालाई नगर प्रमुख भएपछि पनि निरन्तरता दिएका पूर्व प्रमुख मनोजकुमार मेन्याङले भने, ‘धरानको विकास निर्माण र परिवर्तनका लागि २० वर्षे दीर्घकालीन योजना बनाएको करिब अढाइदशक बितेको छ । योजनापछि सर्दू र सेउतीमा धेरै पानी बग्यो तर धरान जहाँको तहीं छ ।’


उनको भनाई छ, ‘पुगनपुग अढाइ करोड रुपैयाँको बजेटको भरमा धरानलाई शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक र पर्यटनको केन्द्र बनाउने भिजनसहितको योजना हामीले पहिले नै तयार गरेका थियौं । अबका जनप्रतिनिधिलाई भिजनको अभाव छैन । पहिले बनाएका भिजनअनुसार काम गरे हुन्छ । जबकी अहिले १ अर्ब ७७ करोडको बजेट छ ।


तर, अझै पनि ‘भिजनलेस’ भएर अलमलिएका देखिन्छन् ।’ उनकाअनुसार ५० को दशकमा धरानको वीच भएर जाने कोसी हाइवे समेत जीर्ण थियो । बाँकी कुनै पनि वडामा कालोपत्रे सडकको नाममा एक इन्च पनि थिएन । व्यवस्थित सडकको त कुरै थिएन ।


शिक्षा, स्वास्थ्य र पर्यटनको सम्भावना भने प्रशस्तै भएकाले जनसहभागिताको नीति अपनाएर सडक बनाउने, वडाकार्यालय, सामुदायिक भवन बनाउने, विद्यालय भवन निर्माण गर्ने, सर्दू, सेउती र खहरे नियन्त्रणका लागि तटबन्ध गर्ने, खानेपानी समस्या समाधान गर्ने, जस्ता भौतिक विकासका पूर्वाधार तयार गरिएको पूर्व प्रमुख मेन्याङ्बोले बताए ।


ऐतिहासिक/पौराणिक स्थल

पहाड र तराईको संगम स्थल भएकाले धरानको हावापानी वातावरणमा विविधता छ । यसैलाई आधार बनाएर विजयपुर परिसरमा लिम्बुवानकालीन दरबार, बुढासुव्वा, दन्तकाली, पिण्डेश्वर मन्दिर, विष्णुपादुका र बराहक्षेत्र जस्ता ऐतिहासिक पुरातात्त्विक पौराणिक मठमन्दिरलाई आधार बनाएर धार्मिक र प्राकृति दृश्य अवलोकनका लागि पर्यटन र ती सबैलाई जोड्न चिनियाँ सरकारको सहयोगमा भेडेटारबाट केवलकार, सडकको अवधारणा पनि ल्याइएको थियो । चीनको एक सहरसँग भगिनी सम्बन्ध पनि गाँसेको थियो । तर ती सबै अहिले सेलाएका छन् ।


धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधारमा स्वास्थ्यको केन्द्र बनाउने, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, मुलुककै एकमात्र कृषि इन्जिनियरिङ, हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पस, संस्कृतमा आचार्यसम्म अध्ययन हुने पिण्डेश्वर विद्यापीठ, महेन्द्र बहुमुखी क्याम्पस र अन्य निजी स्तरमा खुलेका विविध विषयमा अध्ययन अध्यापन गराउने शैक्षिक संस्था भएका आधारमा पूर्वको शैक्षिक केन्द्र बनाउने दीर्घकालीन योजना पनि बनाइएका थिए ।


आधुनिक बसर्पाक, हवाइ मैदान, बृहत्तर विजयपुर विकास योजना, पञ्चकन्या जंगलमा आधुनिक पार्क, सर्दू–सेउती करिडोर रिङरोड, वन वे सडक, भानुचोकमा आधुनिक सपिङ कम्प्लेक्स, आधुनिक मिट कम्प्लेक्स जस्ता योजना पनि बनाइएका थिए । तर ती योजनाका फाइल अहिले धरान उपमहानगरपालिकामा भेटिँदैनन् । पूर्व नगरप्रमुख मेन्याङ्बोले भने, ‘हालका जनप्रतिनिधिका लागि धरान बनाउने स्पस्ट भिजन पहिले नै तयार गरिदिएका भए पनि पर्याप्त बजेटका बीच अलमलिएका मात्र देखिए ।’


उनले धरानको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक विकासका लागि कनिका छरे जस्तो वडा वडामा जनसंख्या र क्षेत्रफलको आधारमा बजेट छर्नु नै गल्ती भएको बताए । उनले भने, ‘कनिका छरेजस्तो बजेट छर्ने होइन, आवश्यकताअनुसार बजेट दिने हो र वडा वडाबाट योजना माग्ने हो । त्यही योजनाअनुसार बजेट दिने हो । यो सबै बजेट दुरुपयोग गर्नका लागि मात्र बजेट छरिएको जस्तो देखिएको छ । अनि कसरी कल्पना गर्ने धरानको विकास निर्माणको ?’


योजना बेवास्ता गरियो

जनप्रतिनिधिहरू आएपछि धरानले आफ्नो विकास निर्माणका लागि उसबेला गरेको २० वर्षे दीर्घकालीन योजनाको समीक्षा नै नगरेको गुनासो पनि पूर्व प्रमुख मेन्याङ्बोले गरे ।


पहिले बनाएका योजना कति सफल भए, कति असफल भए, बाँकी काम के के रहे भनेर तिनै योजनालाई आधार बनाएर अगाडि बढे विकासको ढोका खोल्न दिमाग दुखाइरहन नपर्ने पनि उनले बताए । योजना हेर्ने धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठकाअनुसार धरानको विकास भनेजस्तो तिव्रगतिले नहुनुमा धरानको आन्तरिक बजेट सानो हुनु नै मुख्य कारण हो ।


उनले भने, ‘धरानको बजेटको आकार बढेको दुई वर्षमात्र भयो । आव ०६६/०६७ मा त ३० करोडको वार्षिक बजेट बन्थ्यो । सोही बजेटको आधारमा जनसहभागिता जुटाएर साना तिना विकास निर्माण भए । यति सरकारले त्यसबेला जनसहभागितालाई प्रोत्साहित गर्दै नौ अंकको बजेट धरानका लागि भनेर दिएको भए यतिबेला मुलुककै सबैभन्दा समृद्ध सहर बनी सक्थ्यो । तर के गर्ने पहुँचै पुगेन ।’


बजेट धेरै, काम कम

यो वर्षमात्र धरान उपमहानगरपालिकाले १ अर्ब ७७ करोड ९१ लाख रुपैयाँको बजेट बनाएको छ । स्थानीय तह भएपछि प्रदेश र केन्द्र सरकारले पनि बजेट विनियोजना गरिदिएका छन् । धरानबाटमात्र संघीय र प्रदेशका निर्वाचित र समानुपातिक गरी आठजना त सांसद नै छन् ।


प्रदेशका लागि दुई निर्वाचन क्षेत्र र संघीयका लागि एक निर्वाचन क्षेत्रमा यति धेरै सांसद भएको सहर भए पनि धरानले विकास निर्माणको लय समात्न सकिरहेको छैन । धरानबाट संघीय सांसद जयकुमार राई, प्रदेश निर्वाचनबाट विजयी बनेका प्रदीपकुमार भण्डारी सभामुख भएका छन् ।


धरानकै भोटबाट विजयी भएका प्रदेश सांसद तथा नेकपाका प्रदेश इन्चार्ज भीम आचार्य र समानुपातिक सांसद उमिता बराइली, सावित्री जोशी, चन्द्रप्रसाद श्रेष्ठ, मीना सुव्वा मेन्याङ्बो, मीन विक सबै धरानकै रैथाने हुन् । आचार्य इनरुवाका हुन् ।


उनीहरूले सांसद विकास क्षेत्रका लागि खर्च गर्ने रकममात्र पनि धरानको हरेक क्षेत्रमा आमुल परिवर्तनका लागि सही सदुपयोग गर्न सके अरू स्थानीय तहलाई विकास निर्माणमा पछि पार्न सकिने कतिपयको भनाई छ । तर, सांसद विकास क्षेत्र कोषको बजेट ठेकेदार कार्यकर्ता पोस्ने मात्र भए धरानका सांसदले पाउने बजेटको कुनै अर्थ नरहने पनि बताएका छन् ।


परिवर्तन अलमलमा

रेमिट्यान्समा विद्यावारिधि गरेका महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक राजेन्द्र शर्माले भने, ‘धरानलाई ‘मेल्टिङ पोट’ भन्दा पनि हुन्छ ।’ अर्थात् यहाँ बस्नेहरूले अन्य विकसित मुलुकको विकास, संस्कृति, राजनीति, समाज र त्यहाँको परिवर्तन देखेर भोगेर आएका छन् ।


उनीहरूले पठाएको रेमिट्यान्सको भरमा धरान चल्यो निकै लामो समयसम्म । धरानमा पछिल्लो समयमा आएका परिवर्तन भनेको क्षेत्रफलमा मात्र हो । तीन वर्षअघि पाँचकन्या गाविस र विष्णुपादुका गाविस गाभिएपछि क्षेत्रफल फराकिलो भएको छ । धार्मिक, सांस्कृति, स्वास्थ्य, शैक्षिक र साहसिक पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भए पनि आन्तरिक स्रोतको अभाव, गुरु योजनाको अभाव, केन्द्रलाई प्रभावित बनाउने नेतृत्वको अभाव खडकिएको शर्माको भनाई छ ।


शर्माले भने, ‘धरानलाई स्वास्थ्य पर्यटनले केही हदसम्म धानेको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हजार शय्या छन् । एकजना बिरामी बराबर तीनदेखि चारजना कुरुवा आउँछन् । तिनीहरूको संख्या सरदर दैनिक ३ हजारदेखि ४ हजारसम्म हुन्छ ।


प्रतिष्ठानभित्र चिकित्सक, नर्स, कर्मचारी र उनीहरूका परिवारसहित करिब १५ हजार बस्छन् । हो, तिनैहरूले धरानको दैनिकी चलाएका छन् ।’ उनले भने, ‘धरानको छुट्टै पहिचान बनाउनका लागि इन्जिनियरिङ कलेजलाई स्तरोन्नति गरेर सफ्टवेयर इन्जिनियर उत्पादन स्थल बनाउने र धरानलाई भारतको बेंगलोर जस्तै नेपालको ‘सिलिकन सिटी’ बनाउनु एकमात्र विकल्प हो ।’


उनले बहुजातीय अन्तरघुलित सहरका रूपमा यसलाई विकास गर्दै ‘मल्टिरेसियल गार्डेन सिटी’का रूपमा स्थापित गर्न सके मात्र धरानको मुहार फेरिने शर्माले बताए । सुनसरी क्षेत्र १ का संघीय सांसद जयकुमार राई दशक अघिसम्म विकास नभएको धरानले अब दुईदेखि तीन वर्षमा विकास निर्माणको स्वाद चाख्ने र देख्ने दाबी गरे ।


बल्ल पूर्वाधार

मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–हेटौंडा जोड्ने सडकमा पनि पुल निर्माण भइरहेका छन् । ठकुरी खेलामा धरान–चतरा पुल, पट्नालीमा सेउतीमा पुल ।


पत्रङबारी जाने सेउतीमा पुल, धरान–विष्णुपादुका जाने सर्दू खोला पुल, धरान–पानबारीको सेउती र अधेरी खोलामा पुल निर्माण अन्तिम अवस्थामा पुगेका छन् । ती सबै पुल र सडक तीन वर्षमा एकसाथ चालु हुने सम्भावना देखिन्छ ।


राईले जनप्रतिनिधिविहीन अवस्थामा र त्यसअघि धरानका लागि बजेट नछुट्टिनुमा पहलकदमी गर्नेको पनि कमी–कमजोरी भएको तर संघीयतामा आएपछि धरानले यसपटक पर्याप्त बजेट पाएको बताए । उनले धरानलाई छिमेकी स्थानीय तहसँग जोडे मात्र धरानको पुरानो व्यापारिक साख फर्किने बताए ।


धरान रंगशालालाई प्रदेश १ को रंगशाला बनाउन २ करोड बजेटले निर्माण गरिरहेको राईले बताए । यहाँ बहुजातीय संग्रहालय निर्माण भइरहेको छ । सय गन्तव्यमा धरानका विभिन्न पर्यटकीय स्थल धार्मिक स्थल परेका छन् । आन्तरिक बाह्य पर्यटक आकर्षित गर्न गुरुयोजना बनेका छन् । उनले सेउती र सर्दू करिडोर निर्माण गर्ने तयारी भइरहेको पनि बताए ।


हाल भइरहेका विकास निर्माणका पूर्वाधार तयारसँगै प्रदेश सरकारले आधुनिक बसपार्क निर्माणका लागि डीपीआर बनाउँदै गरेको पनि सांसद राईले बताए । उनले भने, ‘रानी–किमाथाङ सडकले छुने भेडेटारको छोटीमोरङमा पर्यटकीय थाउजन्ड विग बुद्धकाको प्रतिमा निर्माणका लगि पनि काम भइरहको छ ।’


उनले धरानको र सुनसरीको विकासका लागि प्रदेशका सांसदसँग निरन्तर परामर्ष र समन्वय गरिरहेको, धरानमा एयरपोर्ट निर्माण गर्ने विषयमा मन्त्रालयमा पहल भइरहेको पनि बताए । बीपी प्रतिष्ठानको स्तरोन्नति गर्न आईसीयु, एनआईसीयु, आकस्मिक कक्ष विस्तारका लागि मन्त्रालयहरूमा पहल गरिरहेको बताए ।

प्रकाशित : श्रावण १२, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?