कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

'असारे विकास’ ले निम्त्याएको विनाश

मेची राजमार्गको फिदिम–राँके खण्ड पहिरोले अवरूद्ध हुँदा तीन जिल्लाका बासिन्दालाई आउजाउमा कठिनाइ 

पाँचथर — साताअघि खसेको मेची राजमार्गको फिदिम–राँके खण्डको पहिरो अझै हटिसकेको छैन । पांग्रेभीरको पहिरो पन्छाउन वारीपारि दुइटा स्काभेटर छन् । जब आवागमन एकतर्फी पनि नहुने गरी पहिरोले सडक छेक्छ, पन्छाउन स्काभेटर चल्छन् । 

'असारे विकास’ ले निम्त्याएको विनाश

मौसम सफा हुँदा र पहिरो नझर्दा ट्राफिक प्रहरीको संकेतअनुसार एकतर्फी गाडी मुस्किलले चल्छन् । झरी पर्दा आवागमन रोक्ने गरिएको छ । पांग्रेभीरको पहिरोका कारण फाल्गुनन्द गाउँपालिका–३ मालिंगेका तीन घर पनि जोखिममा छन् । हिलिहाङ गाउँपालिका–७ टारीको यलम्बर पार्क मन्दिरको छत खस्दा दुईजना कामदारको ज्यान गयो । ढलान खोल्ने क्रममा स्थानीय रुद्र राई र जगत राईको ज्यान गएको हो । ढलान खोल्न चारजना गएका थिए । चारमध्येका एकको हातमा चोट लाग्यो ।


मेची राजमार्गमै रहेको यो गुणस्तरहीन ढलान र समय नपुग्दै खोलेका कारण ज्यान गएको हो । पांग्रे भीरको पीडा पाँचथरलाई मात्रै नभएर ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दालाई पनि भएको छ । दुवै घटना चरम लापरबाही र असारे विकासको परिणाम भएको जिल्ला समन्वय समिति पाँचथरका संयोजक विष्णुप्रसाद सापकोटा बताउँछन् ।


जिल्लाको अनुगमन समितिको संयोजकसमेत रहेका सापकोटाले बाटो हिंड्दा पाङ्ग्रेभीर भत्काएको देखेर सडक विस्तार गर्ने भन्ने लागेको बताए । ‘बाटो हिँड्दा काम गर्दै गरेको त पहिला नै देखेको हो, सडक चौडा पार्ने रहेछन् भनेर वास्ता गरिएन,’ सापकोटाले भने, ‘पहिरोले सडक अवरुद्ध गर्दा मात्रै थाहा भयो कि यहाँको सामग्री लगेर अन्त निर्माण गर्ने र यो ठाउँलाई जोखिमपूर्ण बनाउने काम गरिएछ ।’ सडक डिभिजन कार्यालय र ठेकेदारलाई गलत काम गरिएको भनेर सचेत गराएको दाबी गरे । ‘काम त बिग्रिहाल्यो,’ सापकोटाले भने, ‘तर आइन्दा दिनमा यस्तो नहोस् भनेर पनि सचेत चाँहि गरायौं ।’


टारीमा भएको दुर्घटनाको विषयमा पनि सत्यतथ्य बाहिर ल्याउन गाउँपालिका अध्यक्षलाई भनेको सापकोटाले बताए । यी घटना आगामी दिनमा आफ्ना लागि पनि पाठ सिकाइ भएको सापकोटा स्विकार्छन् । उनका अनुसार गाउँपालिकाले राजा यलम्बरको शालिकको माथीवाट छाता लगाउन वजेट दिएको थियो ।


तर उपभोक्ताले पुरै ढलान गर्दा गुणस्तर नपुगेर दुर्घटना भयो । असारे विकास हतारमा कामगर्ने र चेक साट्ने उद्देष्यले गरिएको योजनाको ढलान असार मसान्तको दुई दिन अघि मात्रै ढलान भएको थियो । त्यसको ८ दिनमै खोल्न कामदार लागेका थिए । बिममा रड नदेखिएको, ढलान गर्दा राखिनुपर्ने रड पनि नभएको र सिमेण्ट, बालुवा र गिटिको मात्रा नमिलेको स्थानीय टिकहाङ लिम्वू बताउँछन् ।


गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाल प्राविधिकको परामर्श नमानी उपभोक्ता समितिले जबरजस्ती काम गर्न खोज्दा दुर्घटना भएको दावी गर्छन् । त्यही कारण गाउँपालिकाले २ लाख रुपैयाँको आयोजनामा १ लाख ५३ हजार मात्र भुक्तानी दिएको उनले बताए ।


खाद्यान्न र तेल ढुवानीमा समस्या

ढुवानी साधन चल्न नसक्दा ताप्लेजुङ र पाँचथर दुबै जिल्लामा समस्या भएको छ । पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा आपूर्ति हुन सकेको छैन । ‘असार मसान्तअघि भए त हाहाकारै भइसक्थ्यो,’ आशिका आयल सप्लायर्सका सञ्चालक तारा बरालले भने, ‘अहिले निर्माणका काम कम भएकाले थोरैले पनि काम चलिरहेको छ ।’ एक साताभन्दा बढी समयसम्म ढुवानीका साधन नआउँदा सामान निख्रिदै गएको उद्योग वाणिज्य संघका उपाध्यक्ष नारान थापाले बताए ।


वैकल्पिक सडक भएन

पाङ्ग्रेभीरको विकल्पमा सडक निकाल्न सकिने अवस्था नरहेको जिल्ला समन्वय समिति प्रमुख सापकोटा बताउँछन् । राँकेबाट पौवा भञ्ज्याङ निस्कने ग्रामीण सडक भासिएका कारण सम्भव नभएको हो । ‘सोलिङ लगायो सबै भासिइहाल्छ, ठूला सवारी त चलाउन सक्ने अवस्थानै भएन,’ उनले भने, ‘अब यही भीरलाई कहिलेसम्म हुन्छ पन्साएर चलाउनुको विकल्प छैन ।’ यात्रुवाहक साना सवारी मात्रै चलाउने प्रयास पनि सफल नभएको सापकोटाले बताए ।

प्रकाशित : श्रावण ९, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?