३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पानी पर्दा घर भासिने डर

चन्द्र कार्की

तेह्रथुम — पहाडी क्षेत्रमा घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा माटो परीक्षणलगायत सुरक्षाका उपाय नअपनाउँदा सामान्य वर्षामा समेत भासिने गरेको विज्ञले औंल्याएका छन् । गुणस्तरीय सामग्रीको प्रयोग र दक्ष कालीगढबिना नै निर्माण गरिएका घर तथा भवनमा यस्ता समस्या देखिएको हो । 

कमसल सामग्री र मापदण्डविपरीत गारो लगाउँदा व्यक्तिगत घरमा ठूलो नोक्सान भएको हो । सामान्यतया एउटा मानिसले

आफ्नो जीवनकालमा एउटा घर दुःख गरेर भए पनि बनाउन कोसिस गर्छ । यसरी जीवनमा एक पटक बनाइने घर सुरक्षित हुनु उत्तिकै आवश्यक छ ।


निर्माण लागत बढ्दा निम्न आर्थिक अवस्था भएकाहरूका लागि सुरक्षित घर बनाएर बस्नु निकै चुनौती बनिरहेको लालीगुराँस नगरपालिका वसन्तपुरमा घर बनाइरहेका होम खड्काले बताए । हालै मात्र जिल्लामा एक सातासम्म भएको अविरल वर्षाका कारण जिल्लाभरका १ सयभन्दा बढी घर भासिएको र माथिबाट पहिरो खस्दा पुरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।


घर बनाउनुअघि यसको सुरक्षा सुनिश्चित गर्न जग्गा तथा घडेरीको माटो जाँच्नु आवश्यक हुन्छ । ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२’ मा पाँच तलाभन्दा अग्ला सबै भवन र सर्वसाधारण भेला हुने ठाउँ, जस्तै– सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिकलगायतको १५ मिटरभन्दा अग्ला भवनको हकमा माटो परीक्षण गरी पेस गर्नुपर्ने प्रावधान उल्लेख छ । त्यसैगरी १० हजार वर्गफिटभन्दा अग्ला भवनको भौगर्भिक परीक्षण गर्नुपर्ने व्यवस्था उक्त मार्गदर्शनमा समेटिएको छ ।


पहाडमा घर बनाउने अधिकांशले घर बनाउनुअघि माटोको परीक्षण गराउँदैनन् । जसले गर्दा यसरी बनाइएका घर सामान्य वर्षा हुँदासमेत भासिने तथा भत्किनेजस्ता समस्या हुने गरेको इन्जिनियरको भनाइ छ । ०७२ सालको भूकम्पमा क्षति हुने घरमा अन्य कारणसँगै माटोको क्षमता परीक्षण नगरी बनाइएका घर पनि परेको सहरी विकास तथा भवन कार्यालय धनकुटाका इन्जिनियर रजनीश झाले बताए । कतिपय स्थानमा त पूरै बस्ती नै घर बनाउन अयोग्य हुने गरी जमिन भासिएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ८, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?