खाल्डाखुल्डी छिचोल्दै जोखिमपूर्ण यात्रा

३४ वर्षको अवधिमा २६ किमि सडक ७ पटक कालोपत्रे भए पनि बर्खामा हिलो र हिउँदमा धूलोले समस्या
चन्द्र कार्की

तेह्रथुम — वसन्तपुर बजार भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किमि सडक ०४२/४३ बाट ट्रयाक खन्न थालिएको हो । त्यसको केही वर्षपछि कोसी राजमार्ग भएर आएका सवारी चल्न थालेका थिए ।

खाल्डाखुल्डी छिचोल्दै जोखिमपूर्ण यात्रा

कच्ची सडकमा त्यस बखत सजिलैसँग सवारी चल्थे । वसन्तपुरबाट हिंडेका सवारी ढिलो चाँडो सदरमुकाम म्याङलुङ पुगेरै छाड्थे । सदरमुकामलाई कोसी राजमार्ग हुँदै पूर्वी तराईसँग जोड्ने २६ किमि यो सडक निर्माण थालिएको ३४ वर्षमा थप बिग्रिएर सवारी गुढ्ने अवस्था छैन ।


तेह्रथुमबासी सडक सम्पर्कका हिसाबले ३४ वर्ष अघिकै अवस्थामा छन् । सडकले त्यस बेलाको पैदल मार्ग समेत मासिएपछि हिंडडुलमा समस्या भएको जिल्ला समन्वय समिति संयोजक शिव ढुंगानाको भनाई छ । ३४ वर्षको अवधिमा सडक ७ पटक कालोपत्रे भइसक्यो । तर, सडकको अवस्था वर्षादमा हिलाम्मे र हिउँदमा धुलाम्मे नै छ ।


सडक सुधार, कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च हुने गरेको छ । तर, यो सडकमा मुस्किलले मात्र सवारी गुढ्छन् । सडक निर्माण, मर्मत, कालोपत्रे लगायतका काममा खर्च हुने गरेको बजेटमा व्यापक भ्रष्टचार हुने जिल्लाबासीको आरोप छ ।


असार महिनाको अन्तिममा आएर केही स्थानमा कालोपत्रे र भत्किएको ठाउँमा टालटुल गरेको सडकमा सामान्य वर्षा हुनासाथ सवारी हिलोमा फसेर चल्न सक्दैनन् । गत वर्ष ठाउँ ठाउँमा ढुंगा सोलिङ र ग्राबेल गरिएको यो सडकमा अहिले पनि हिलो उस्तै छ । सडकमा पानी जमेर हिलो भएका कारण २६ किमि सडक पार गर्न ६ घण्टाभन्दा बढी लाग्ने गरेको यातायात कर्मचारी दयाराम ढकालले बताए ।


पटक–पटक कालोपत्रे सम्पन्न भइसकेको चित्रे–म्याङलुङ सडक खण्डमा कालोपत्रे उप्किएपछि सडक तीन दशक अघिकैअवस्थामा पुगेको छ । गत वर्ष कालोपत्रे गरिएको सडक हिलाम्मे भएपछि वसन्तपुर भएर सदरमुकाम आउने र यहाँबाट पूर्वी तराईतर्फ जाने यात्रु मारमा परेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सभा पौडेलले बताए । कालोपत्रे सडकमा ठूला–ठूला खाल्डा परेका छन् ।


यस्तो सडकमा सवारी चलाउँदा बढी जोखिम हुने गरेको सवारी चालक कुमार राईले बताए । २६ किमि सडकमा ६ हजारभन्दा बढी खाल्डा खुल्डी रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तो सडकमा सवारी गुढाउँदा दुर्घटनाको जोखिम बढी हुने प्रहरीको भनाइ छ । ‘सडक हिलाम्मे हुँदा पैदल यात्रुलाई समेत ओहोर–दोहोरमा समस्या छ,’ सुङनामको तीनजुरे माविका प्रअ खगेन्द्र रानामगरले भने ।


भत्किएको सडक कालोपत्रे, टालटुल, मर्मत सुधार, ग्राभेल, ढलान लगायतका काम गर्न गत आवमा मात्र ७ करोड रुपैयाँ सडक डिभिजन कार्यालयले खर्च गरेको जनाएको छ । च्याक्चे, फिर्के, लसुने, पिगुवा खोला, कांडे, सुर्के लगायतका स्थानमा कालोपत्रे उप्किएर हिलाम्मे भएको छ । यी स्थानमा दिनहुँ सवारी फस्ने गरेकाले यात्रु समयमा गन्तव्यमा नपुग्ने गरेको ट्राफिक प्रहरी भरत निरौलाले बताए ।


सडक निर्माणको जिम्मा पाएको डिभिजन कार्यालयले भने हावापानी, भूबनोट तथा निर्माण सामग्री सडक सुहाउँदो नभएकाले गुणस्तरीय काम गर्न नसकिएको जनाउँदै आएको छ । यो क्षेत्र बाह्रै महिना चिसो रहने भएकाले कालोपत्रे गर्दा तापक्रम नपुग्ने गरेको डिभिजनका इन्जिनियर अनुप सावदेनले बताए ।


तीन दशकभन्दा बढी समयदेखि निरन्तर निर्माण भइरहेको यो सडकमा अहिले सम्ममा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांक सम्बन्धित निकायसँग छैन । यो सडक निर्माण र स्तरोन्नतिमा सडक विभाग, अर्थमन्त्रालय, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) तथा अन्य दातृ निकायले समेत बर्सेनि रकम खर्च गर्दै आएका छन् ।


गुणस्तरीय काम गर्दा अर्को वर्ष सडक नभत्किने र बजेट माग्न नपाइने भएकाले पनि सडक डिभिजनका इन्जिनियर र ठेकेदारको मिलेमतोमा सामान्य प्रकृतिको झारा टार्न मात्र काम हुने गरेको उद्योग वाणिज्य संघ वसन्तपुरका अध्यक्ष रोशन सुवेदीले बताए । सडक निर्माण गर्दा भएको कामको गुणस्तर मापन गर्ने छुट्टै आधिकारिक निकाय नभएसम्म सडक सुधारको काम राम्रो नहुने सुवेदीले ठोकुवा गरे । सडक निर्माण गर्दा लापरबाही गर्ने ठेकेदार र इन्जिनियरलाई कारबाही गर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न नसकेसम्म जति धेरै रकम खर्च गरे पनि सडकको हालत यस्तै रहने उनको दाबी छ ।


चालु वर्षमा मध्यपहाडी लोकमार्ग सडक आयोजना कार्यालय काठमाडौंबाट फिदिममा सर्ने तयारीसँगै २६ किमि सडकको स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरिसकेको पूर्वी खण्डका इन्जिनियर सुरेशकुमार तुम्बाहाम्फेले बताए ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?