कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तटबन्धले जोगियो बस्ती

सदरमुकाम बचाऊ कार्यक्रम अन्तर्गत मेची, देउनिया र निन्द खोलाका ९ ठाउँमा तटबन्ध
अर्जुन राजवंशी

बिर्तामोड — असार अन्तिम साता लगातार पाँच दिनसम्मको वर्षाले झापाका अधिकांश गाउँ जलमग्न बने । सहरका केही घरमा पानी पस्यो । बर्सेनि डुबान झेल्दै आएकी भद्रपुर नगरपालिका ५ की दुर्गादेवी फुयालले यो वर्ष भने समस्या भोग्नु परेन । कारण, मेची नदी किनारमा स्थायी तटबन्ध गरिएको छ ।

तटबन्धले जोगियो बस्ती

‘सदरमुकाम बचाऊ’ कार्यक्रमअन्तर्गत भद्रपुर भएर बग्ने मेची, देउनिया र निन्दा खोलाका विभिन्न ९ स्थानमा स्थायी तटबन्ध गरिएको छ । जतनाको तटबन्ध १ नं. फिल्ड कार्यालय गैंडेले गत वर्ष गरेको स्थायी तटबन्धका कारण भद्रपुरका एक दर्जनभन्दा बढी बस्ती यो वर्षात्मा कटान र डुबानबाट जोगिएका छन् । ‘वर्षातमा प्रत्येक वर्ष हाम्रो गाउँमा चिउरा र बिस्कुट बाड्ने काम हुन्थ्यो । यो वर्ष त्यस्तो भएन,’ भद्रपुर २ गैरीगाउँका घनेन्द्र लिङदेनले भने ।


वर्षातमा बढी जोखिममा रहेको सदरमुकामका ९ स्थानमा तटबन्ध गर्न ५ करोड ५० लाख रुपैयाँ खर्च भएको कार्यालय प्रमुख मेखनाथ शर्माले जानकारी दिए । उनकाअनुसार मेची नदीको बाढीले क्षति पुर्‍याउँदै आएको भद्रपुर ३ का बैसाबारी, भचकबस्ती र भाङ्गबारी, वडा नं. ५ का देवीबस्ती र शान्ति टोल, देउनिया खोला किनारका गैरीगाउँ र भद्रपुर ७ को विश्रान्ती घाट तथा निन्दा खोला किनारमा पर्ने भद्रपुर ८ र वडा नं. ९ मा स्थायी तटबन्ध गरिएका छन् ।


‘हाम्रो गाउँ चारैतिर मेची नदीले घेरिएको छ । तर, यो वर्ष तटबन्ध गरिएकाले घरभित्र पानी पस्न पाएन,’ मेची पारिको बस्ती भाङ्गबारीका विपिन राजवंशीले भने, ‘तटबन्ध नहुँदा मेचीको भङ्गालोले बर्सेनि बस्ती डुबाउँथ्यो ।’ भाङ्गबारी बस्ती जोगाउने गरी ३ सय ५० मिटर तटबन्ध गरिएको छ ।


६० लाखको लागतमा गरिएको तटबन्धबाट १ सय ६४ घरपरिवार कटान र डुबानबाट सुरक्षित बनेका छन् । बैसाबारीमा २० लाखको लागतमा ७५ मिटर, भचकबस्तीमा ६४ लाखको लागतमा ४ वटा स्पर, शान्ति टोलमा १ सय ५६ मिटर तथा देवीवस्तीमा १ सय ४५ मिटर तटबन्ध गर्न ६४/६४ लाख रुपैयाँ खर्च भएको कार्यालयका इन्जिनियर रूपनारायण अधिकारीले जानकारी दिए ।


उनकाअनुसार विश्रान्तिघाटमा ६३ लाखमा २ सय १० मिटर, गैरीगाउँमा ६१ लाखमा ५ सय २० मिटर, भद्रपुर ८ मा २० लाखमा ७५ मिटर र वडा नं. ९ मा ५२ लाखको लागतमा १ सय ७५ मिटर खोला तटबन्ध गरिएको छ ।


यसैबीच जनताको तटबन्ध कार्यालयले जिल्लाका पाँच ठूला नदी दीर्घकालीन व्यवस्थापन गर्नेगरी डीपीआर तयार गरेको छ । बर्सेनि हुने नदी कटान नियन्त्रणका लागि रतुवा–मावा, कमल, कनकाई, विरिङ र मेची नदीमा दीर्घकालीन व्यवस्थापन हुनेगरी तटबन्ध गर्न १७ अर्ब ५९ करोड रुपैयाँको डीपीआर तयार गरेको इन्जिनियर दुर्गा शर्माले जानकारी दिए ।


उक्त डीपीआर जलस्रोत तथा सिँचाइ विभागले गत असार १८ गते स्वीकृत गरेको छ । डीपीआरअनुसार चालु वर्षदेखि नदी नियन्त्रणका लाग बहुवर्षीय ठेक्का प्रक्रियाबाट काम सुरु गर्ने शर्माले बताए । कार्यालयले दिएको जानकारीअनुसार दीर्घकालीन तटबन्धका लागि रतुवा–मावामा ३ अरब ८९ करोड, कमलमा १ अर्ब ७७ करोड, कनकाईमा ३ अर्ब ९ करोड, विरिङमा २ अर्ब ४६ करोड र मेची नदीमा ५ अर्ब ५७ करोड रुपैयाँको बहुवर्षीय कार्ययोजना स्वीकृत भएको हो । यी नदीमा हालसम्म ७७ किमि ढुंङ्गे र माटोको बाँध निर्माण गरिएको छ ।


जसमा रतुवा–मावामा २७ किमि, कमलमा ८ किमि, कनकाईमा १९ किमि, विरिङमा १८ किमि र मेची नदीमा ४ किमि बाँध निर्माण गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । नदी नियन्त्रणमा लागि जिल्लामा जनताको तटबन्ध कार्यालय १० वर्षअघि स्थापना भएको थियो ।


नदी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले बताए । उनले कटान र डुबानबाट मात्र नभई सुरक्षाको दृष्टिले बाटोसहितको नदी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : श्रावण ६, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?