बाढीले सुत्केरी समस्यामा

डिल्लीराम खतिवडा

उदयपुर — साताअघिको त्रियुगा नदीको बाढीले विस्तापित बेलका नगरपालिका १ र २ का २४ जनाभन्दा बढी सुत्केरी र गर्भवती महिला समस्यामा परेका छन् । गाउँ डुबेपछि विस्थापित उनीहरूको स्वास्थ्य र खानपिनमा समस्या भएको हो । 

बाढीले सुत्केरी समस्यामा

त्रियुगा नदीको बाढीबाट प्रभावित बेलका नगरपालिका १ पलारका सर्वसाधारण विस्थापित भएका छन् । विस्थापित अहिले सप्तरीको सप्तकोसी नगरपालिकाको सखुवनी आधारभूत विद्यालय र आफन्तकोमा आश्रय लिइरहेका छन् । आश्रय लिएकामध्ये सुत्केरी र गर्भवती महिलालाई औषधि उपचार र खानपिनमा समस्या हुँदै आएको छ ।


२६ असारको बाढीले बस्ती जलमग्न हुँदा छिमेकीले उद्धार गरेको आधारभूत विद्यालय सखुवनीमा आश्रय लिइरहेकी पलारकी रोजी नेवारले बताइन् । ‘करिब ५ सय मिटर पर रहेको त्रियुगा खोलाको बाढी एक्कासि गाउँमा पस्यो,’ रोजीले भनिन्, ‘बाढीले घर बारी सबै बगायो, छिमेकीले उद्धार गरेर बाँचियो ।’


बाढीबाट बचियो तर आफू १० महिनाको सुत्केरी अवस्था बालबच्च कसरी गुजारा गर्ने समस्या भएको उनले बताइन् । बाढीले परै घर बगायो, अब कहाँ बस्ने, के खानु, नानीको स्याहार–सुसार कसरी गर्ने समस्या भएको उनीहरूले बताए । जग्गा जमिन अन्नपात, भाँडाकुँडा सबै डुबेरे धान खेती बगरमा परिणत भएपछि समस्या भएको सुत्केरी शोभा अधिकारीले बताइन् ।


‘सुत्केरी अवस्था विद्यालयमा आश्रय शुद्ध पिउने पानी र शौचालयसमेत राम्रो छैन,’ उनले भनिन्, ‘सुत्केरी अवस्था पौष्टिक आहार चाहिन्छ, चिसोबाट जोगिनुपर्ने हुन्छ ।’ तर बाढीपीडित भएर बच्चा जोगाउन र आफू जोगिनै समस्या भएको उनले बताइन् । बाढीपीडित क्षेत्रमा अहिले रोगको प्रकोपसँगै सर्पदंशका घटनासमेत बढेको छ ।


गर्मी मौसममा सर्पको बिगबिगी हुने समयमा बाढीले पनि सर्प बगाएर ल्याएपछि अहिले जताजतै सर्प भेटिने गरेको पीडितले बताए । बेलका १ र २ का ५ दर्जन सुत्केरी तथा गर्भवती महिला विभिन्न किसिमका सरुवा रोगको प्रकोपसँगै सर्पदंशको समस्याले चिन्तित रहेको वडाध्यक्ष दिनेश चौधरीले बताए । ‘घर त्रियुगा नदीको बाढीले बगाएपछि अहिले उनीहरूको बेहाल छ,’ उनले भने, ‘उनीहरू स्थानीय विद्यालय र आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् ।’ राहत र उद्धार पनि चलिरहेको छ तर समस्या जटिल भएकाले गर्दागर्दै पनि समस्या रहेको उनले बताए ।


विद्यालयमा ५ महिनाको छोरी लिएर रमा अधिकारी, ३ महिनाका सन्तान चेपेर सीता श्रेष्ठ, १ वर्षको नानी बोकेर शोभा अधिकारी, तुलसी श्रेष्ठलगायतका सुत्केरीसँगै गर्भवती महिला बस्दै आएको बेलका नगरपालिकाका प्रमुख दुर्गकुमार थापाले बताए । ‘उनीहरूलाई तत्काल उद्धार गरी स्थान्तरण गरिन्छ,’ उनले भने, ‘सुत्केरी र गर्भवती महिलाको राहत, उद्धारसँगै औषधि उपचारको व्यवस्था भइरहेको छ ।’


चाँडै उनीहरूलाई व्यवस्थित गर्न नगरपालिका लागेको उनले बताए । विभिन्न निकायको सहयोगमा राहत वितरण, सुत्केरी महिला थप पीडामा हुने भएकाले संरक्षणका लागि स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर दीर्घकालीन योजना तयार गरिने नगरपालिकाले जनाएको छ ।


सुत्केरी आमा र नाबालकहरूमा छालाको समस्या देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दुनियालाल यादवले बताए । ‘आमा र काखे बालक दुवैमा दूषित पानीका कारण छाला, रुघाखोकी, ज्वरोजस्ता समस्या देखिएका छन्,’ उनले भने, ‘तत्कालका लागि औषधि र शुद्ध पिउने पानीका लागि किटहरू उपलब्ध गराएका छौं ।’ समयमा नै समाधान नगर्ने हो भने प्रकोपको रूप लिने र झाडापखालालगायतका सरुवा रोग सर्ने खतरा देखिने उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?