अविवाहितले जन्माइन् शिशु

सुन्सरी — इटहरी उपमहानगरद्वारा सञ्चालित सुरक्षित आवास गृह (सेफ हाउस) मा आश्रय लिइरहेकी अविवाहित युवतीले आइतबार बच्चा जन्माएकी छन् । उनी सातायता सेफहाउसमा आश्रय लिएर बस्दै आएकी थिइन् । 

सेफहाउसले युवतीको र उनलाई गर्भवती बनाएर छाड्ने युवकको नाम सार्वजनिक गरेको छैन । विवाह गर्छु भनेर प्रेमको नाटक गर्दै गर्भवती बनाएपछि युवक बेपत्ता भएको युवतीले बताएकी छन् ।


बेपत्ता प्रेमी खोज्दै ती युवती गर्भवती अवस्थामै संखुवासभादेखि इटहरी आइपुगेकी थिइन् । गर्भवती अवस्थामा एक्लै बजारमा हिँडिरहेको देखेपछि स्थानीयले उनलाई सेफ हाउसमा पुर्‍याएका थिए । ती युवतीका अभिभावकलाई खबर गरिसकिएको सेफहाउस इटहरीका प्रतिनिधिले जनाएको छ ।


यौनहिंसा, बलात्कार, अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई लक्षित गरेर इटहरी उपमहानगरपालिकाले एक वर्षदेखि सेफ हाउस सञ्चालन गर्दै आएको छ । हाउसमा हालसम्ममा ७६ जना महिलाले सेवा लिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।


उनका अनुसार हाउसमा महिलाहरूलाई अल्पकालीन सेवा प्रदान गरिन्छ । हाउसमा १५ दिनसम्म राख्ने व्यवस्था छ । दुई साताभन्दा बढी राख्न सकिने अवस्था नभएकाले जतिसक्दो चाँडो आफन्त पत्ता लगाएर बुझाउने गरिएको छ ।

घरमा पुग्ने बाटो खर्च पनि उपमहानगरले उपलब्ध गराउने गरेको सञ्चालक समितिले जनाएको छ । दुई सातापछि कोही आफन्त नभए वा आउन नसके घरसम्मै पुरयाउने व्यवस्था गरिएको छ । आफन्त पत्ता नलागेका चार जनालाई मंगला शाहाना पुनःस्थापना केन्द्र काठमाडौं पठाइएको छ । पूर्वका प्रायः सबै जिल्लादेखि पश्चिमका रसुवा, सिन्धुपाल्चोक, ललितपुर र सिन्धुलीका महिलाले पनि सेवा लिएको सेफहाउस सञ्चालक समितिले जनाएको छ ।


जनप्रतिनिधि, प्रहरी र संघ संस्थाहरूको सिफारिसमा समस्यामा परेका महिलालाई सेफहाउसमा राख्ने गरिएको छ । उक्त अवधिमा पीडित महिलाका लागि खाने बस्ने, औषधि उपचार, आत्मविश्वास बढाउने मनोपरामर्श दिने गरिएको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?