कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्वरोजगार बन्न प्राविधिक शिक्षा

जितेन्द्र साह

जहदा, मोरङ — धेरैको लक्ष्य पढेर जागिर खाने हुन्छ तर पूर्वी मधेस एवं पहाडका नयाँ पुस्ता भने कुशल उत्पादक बन्ने उद्देश्यकासाथ पशुसम्बन्धी विषय पढिरहेका छन् । तीन वर्षे कृषि डिप्लोमा पशु विज्ञानका प्रथम वर्षका छात्र मोरङको कटहरी गाउँपालिका–३, कटहरी बजारका १६ वर्षीय रविन ठाकुरको सोच पशुपालन फार्म खोल्ने हो ।

स्वरोजगार बन्न प्राविधिक शिक्षा

उनी मोरङको जहदा गाउँपालिका–४ स्थित शैलजा आचार्य स्मृति पोलिटेक्निकमा पढदै छन् । छरछिमेकले पनि कुखुरा, बाख्रा र गाई पालनबाट राम्रै आम्दानी गरिरहेको हुनाले रविनले यो विषय रोजेका हुन् । ‘गाउँघरकाले परम्परागत ढंगले पशुपालन गरिरहेका छन्, पढेर गरेँ त झन राम्रो हुन्छ,’ उनले भने ।


उनको पिता ४२ वर्षीय शिवनारायण ठाकुर कटहरी चोकमा सैलनु सञ्चालन गर्छन् । ‘आर्थिक अवस्था खराब भएकोले पढाइ सक्नेबित्तिकै केही वर्ष जागिर गर्छु,’ रविनले भने, ‘अन्तिम लक्ष्य भनेको पशुपालन व्यवसाय गर्ने नै हो ।’ झापाको मेची–८, जोरसिमलकी २० वर्षीया रञ्जु खडकाले उद्यमी बन्ने सोचका साथ १८ महिने पशु स्वास्थ्य (जेटीए) पढिरहेकी छन् । बीए दोस्रो वर्षमा समेत अध्ययनरत रञ्जुले स्वरोजगारका लागि प्राविधिक विषय रोजेको बताइन् ।


१८ महिनामा १२ महिना सैद्धान्तिक तथा प्रायोगिक कक्षा र ६ महिना ‘अन द जब ट्रेनिङ (ओजीटी)’ हुन्छ । ‘एक वर्ष अगाडिसम्म मेरो पनि जागिर खाने नै इच्छा थियो, जागिर खोज्दै हिँड्नुभन्दा अहिले आफैले केही गरौं भन्ने सोच आयो,’ उनले भनिन्,‘पहिलो प्राथमिकतामा प्राविधिक शिक्षा र दोस्रोमा बीएको सैद्धान्तिक पठनपाठन हो ।’


आफूलाई आत्मनिर्भर बनाउन परिवार सहयोग गर्न तयार रहेको रञ्जुले बताइन् । उनको बुबा ३९ वर्षीय प्रितम निर्माण ठेकेदार हुन् । उक्त पोलिटेक्निकमा पूर्वी पहाडी जिल्ला खोटाङ मात्तिम–४ का मनोज आचार्य पनि पशु स्वास्थ्य (जेटीए) पढदै घरपालुवा पशुपंक्षीको स्याहार सिक्दैछन् । आगलागीमा परी दाहिने खुट्टामा गम्भीर घाउचोट खेपेका मनोजलाई हिँडडुल गर्न कठिन हुन्छ । उनका बुबा मोहनकुमार सामान्य किसान हुन् । ‘यो गाउँमा पढ्न आउँदा पनि जागिर खाने नै सोच थियो,’ मनोजले भने, ‘तर पछिपछि विषय बुझदै जाँदा अर्काको नौकरी गर्नु भन्दा पशुपालन गरी आत्मनिर्भर बन्ने मनस्थिति बन्यो ।’


प्राविधिक शिक्षालयमा पढ्ने जहदा गाउँपालिका–४, शिशवनीजहदाका भुवनेश्वरकुमार रायले १८ महिने पढाइ सक्नेबित्तिकै गाउँमै जग्गा भाडामा लिएर कुखुरा फार्म खोल्ने निधो गरिसकेका छन् । यही विषय पढेका चिनेको दाइ रुपनारायण यादवले निकै प्रगति गरेपछि उनी पनि हौंसिएका हुन् । ‘जागिर खाएँ भने आफैमा सीमित हुन्छु,’ रायले भने, ‘उत्पादनमूलक काममा लागेँ भने गाउँका अरूलाई पनि रोजगारी दिन सक्छु ।’


१८ महिने पशु स्वास्थ्य (जेटीए) विषयको पढाइ सकेर गाउँघरमा दैनिक दुई घण्टा काम गरी मासिक औसत ३० हजार रुपैयाँ आम्दानी गरिरहेका सुनसरी देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीका २० वर्षीय राजेश यादव पनि अब पशु पालक बन्न चाहन्छन् । यादवले तीन वर्षे कृषि डिप्लोमा पशु विज्ञान विषयमा पहिलो वर्षमा अध्ययनरत छन् । ‘दैनिक पाँच सय/हजार रुपैयाँ कमाएर बस्ने भन्दा घरपरिवारबाटै थप उच्च अध्ययन गर्ने दबाब आयो,’ उनले भने, ‘करियरको दृष्टिकोणले मलाई पनि परिवारजनको सुझाव ठिक लाग्यो ।’ यादवले आफ्नै उद्यम गर्ने विचार रहेको सुनाए ।


१८ महिने पशु स्वास्थ्य (जेटीए) विषयमा पशुपंक्षीको शारीरिक बनावट, लाग्ने रोगको उपचार, व्यवसाय सञ्चालनको तरिका, पशु सेवाको विकास एवं स्वावलम्बी व्यवसायी बन्ने सीप सिकाइन्छ । तीन महिने कृषि डिप्लोमा पशु विज्ञानमा यिनै विषयमा गहिरो ज्ञानसँगै अन्य विषय पनि पढाइन्छ ।


मोरङको दक्षिणपूर्वी भेकको जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निकमा २०६० देखि १८ महिने पशु स्वास्थ्य (जेटीए) र गत आवदेखि तीनवर्षे पशु विज्ञान सुरु भएको हो । पोलिटेक्निकका प्राध्यापक राधेश्याम मण्डलले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक र प्रायोगिक कक्षामार्फत निपुण बनाउने पक्षमा बढी जोड दिने गरेको बताए । यसका लागि पोलिटेक्निक परिसरमा बाख्रा, कुखुरा र गाईगोठ समेत राखिएको उनले सुनाए ।


पोलिटेक्निकका प्राचार्य सन्तबहादुर अधिकारीले पशु स्वास्थ्य (जेटीए) पढेकामध्ये ४० प्रतिशत जागिरमा, बाँकी ५० प्रतिशत स्वरोजगारमा र १० प्रतिशत अन्य पेसा वा विषयतिर लागेको बताए । ‘कृषकलाई पुर्जी लेखेर जाने विज्ञ भन्दा सबथोक घरमै गरिदिने चिकित्सक चाहिन्छ,’ प्राचार्य अधिकारीले भने, ‘विज्ञ चिकित्सक र पशु स्वास्थ्य कार्यकर्ताले यो दुवै कार्य सक्दैनन् तर पशु जेटीएले औषधी लेख्ने, दिने र सुई लगाउनेलगायतका सबै कार्य गर्न सक्छन् ।’ उनको अनुसार यसले गर्दा पशुलाई अस्पतालसम्म लग्ने ल्याउने झमेला र खर्चबाट किसान जोगिन्छन् ।

प्रकाशित : श्रावण २, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?