कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

महानगर जहिल्यै जलमग्न

महानगर प्रमुख भीम पराजुली भन्छन्, ‘आगामी ३ वर्षभित्र विराटनगर धूलो र हिलो मुक्त हुन्छ’
विनोद भण्डारी

(विराटनगर) — सातायता नगरका हरेक वडा डुबानमा छन । कतिपय परिवार अझै पनि घरबाट वाहिर निस्कन सक्ने अवस्थामा छैनन् । डुबानले नगरका दर्जनौं परिवारलाई अन्यत्र सारिएको छ । विराटनगर महानगरपालिका हरेक वर्ष वर्खामा जलमग्न र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

महानगर जहिल्यै जलमग्न

नगरभित्रका भित्री सडकको पानीले निकास नपाउदा नगरको भित्री भाग डुवानमा परेका हुन् । जोगबनीदेखि धरानसम्म निर्माणधिन ६ लेनको सडकको दायाँ–बायाँ निर्माण गरिएको नाला भित्री सडकको नालाभन्दा उचाईमा भएकाले पानीले निकास पाएको छैन । ६ लेन सडकको नालापनि सफाई नहुँदा नालाकै पानी भित्री सडकमा पसेर अधिकाँश ठाउँका बस्ती डुवानमा परेका छन् ।


तीन वर्षदेखि एसियाली विकास बैंकको २ अर्ब लगानीमा एकीकृत शहरी विकास योजनाअन्तर्गत महानगर भित्रको ७५ किमि सडक चौडा पारेर कालोपत्रे गर्ने र ४६ किमि ढल र नाला बन्ने क्रम जारी छ । त्यही सडक र नाला निर्माण गर्ने क्रममा नगरका हरेक क्षेत्रमा जथाभावी भत्काउने र सुस्त रुपमा निर्माण गर्ने गरेकाले तीन वर्ष देखि नगरवासीले हिउँदमा धुलोको र वर्खामा डुवान अनि हिलोको सास्ती भोग्नु परेको हो । निर्माण सम्पन्न भएका योजनाको नालाको पानीले निकास नपाउदा नगर जलमग्न भएको हो ।


नाला सफाई नगर्दा र नालाको पानी बस्तीमा पसेकाले पनि नगरवासी डुबानमा परेका छन । नालको र परेको पानीले निकास नपाउदा विराटनगर २ विधुत प्राधिकरण पूर्वको वस्तीका घरमा अहिले पनि एक फिट भन्दाबढी पाने जमेको स्थानीय ओम शर्माले वताए । परेको पानी मात्र नभएर नालाको पानी पसेर वस्ती डुवानमा परेको छ । शर्माले भने पानीको निकास कतै छैन घाम लागेर सुक्नुको विकल्प छैन ।


क्षेत्रीय सहरी विकास योजना अन्तर्गत सडक र नाला बन्ने क्रममा देवकोटा चोक देखि हाटखोला सम्मको करिव ७ सय मिटर सडक खण्डमा एक सातादेखि सर्वसाधारणले सास्ती भोगी रहेका छन ।


त्यहा पानीको निकास नहुँदा वस्ती डुब्नुका साथै सडक खनिएका कारण कुनैपनि सवारीका साधन चलाउन समस्या छ ।


जोगवनी धरान ६ लेनको सडकको नालामा पानी निकास नहुँदा महानगरको वडा १५ रानी बस्तीका ५ सय भन्दा बढी घरमा अझै पानी जमेको छ । सडकको नाला अग्लो र वस्तीको सडक होचो भएका कारण पानीले निकास पाएको छैन । कञ्चनवारीको रेग्मी टोल, आयल निगम पूर्वको वस्ती, कन्या मार्गको पूर्वी वस्तीको पनि होचो हुँदा र जोगवनी धरान सडकको नाला अग्लो हुँदा पानीले निकास नपाउदा पुरै वस्ती अझैपनि डुवानमा छन ।


क्षेत्रीय सहरी विकास योजना अर्न्तगतको विकास निर्माणका काम अहिले सम्म ७० प्रतिशत सकिएको योजना तथा महानगरपालिकाका इन्जिनियर भरत न्यौपानेले वताए । ढल र नाला निर्माण कार्य करिव सकिएको छ । उनले भने ३५ किमि सडक निर्माण कार्य सकिएको र बाँकी सवै काम आगामी नाभेम्बर सम्ममा निर्माण कार्य सक्ने तयारी छ । योजना अर्न्तगत निर्माण भएका ढल र नालाको पानीले पनि निकास पाएको छैन ।


महानगर भित्र करिव ७ सय किमि सडक छ । पाँच वर्ष भित्रमा ५ सय किमि ढल र नाला सहितको सडक निर्माण गरेर कालोपत्र गर्ने निर्वाचन लगत्तै महानगरका जनप्रतिनिधिहरूले महत्वकाँक्षी लक्ष्य राखेका थिए । यस वर्ष महानगरपालिकाले अढाई किमि सडकमा कालोपत्र गरेर २६ किमि रिटेनिङ वाल र नाला निर्माण गरेको छ । महानगरका अर्का इन्जिनियर गोपाल पोखरलले भने यसवर्ष १९ किलो मिटर सडकमा ग्राभेल गरिएको छ ।


आगामी तिनवर्ष भित्रमा विराटनगर धुलो र हिलो मुक्त हुने महानगर प्रमुख भीम पराजुलीको दावी छ । अहिले एकीकृत शहरी विकास योजना अर्न्तगतका विकास निमार्णका कार्य भइरहेका छन । त्यो प्रजेक्ट सकिएपछि महानगरका आफना योजना धमाधम सुरु हुनेछन । पराजुलीले भने जोगबनी धरान ६ लेनको सडक र नाला निर्माण भइसकेपछि उक्त सडक र नालाको उचाई र मापदण्डका आधारमा महानगरका आन्तरिक विकास निमार्णका योजनाले गति लिनेछ ।


महानगरको आगामी आर्थिक वर्षको बजेट ५ अर्ब १२ करोड छ । त्यसको ६५ प्रतिशत भौतिक पूर्वाधार विकासमा खर्च गरिने पराजुलीले वताए । अघिल्लो वर्ष पनि महानगरको बजेट झण्डै त्यती नै थियो । त्यसको पनि ६५ प्रतिशत भौतिक पूर्वाधारमै विनियोजन गरिएको थियो । यस वर्ष त्यो सवै बजेट खर्च भएको छैन । उनले भने आगामी वर्षको लागि दायीत्व सरेर आएको छ ।

प्रकाशित : श्रावण १, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?