३ वडाध्यक्षमाथि कर्तव्य ज्यान मुद्दा

मोरङ — विराटनगर महानगरपालिका १४ का अध्यक्ष बलदेव यादव, १८ का सञ्जय साह र जहदा गाउँपालिका १ का प्रदीपचन्द्र यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । उनीहरू फरार हुँदा वडाको काम प्रभावित भएको छ । 

३ वडाध्यक्षमाथि कर्तव्य ज्यान मुद्दा

तीनै जना वडाध्यक्षको उपस्थितिमा भएको सामाजिक पञ्चायतमा कुटपिट हुँदा विराटनगर १४ का ६५ वर्षीय श्यामनन्दन यादवको मृत्यु भएको थियो । श्यामनन्दनका छोराले बिहे गर्न अस्वीकार गरेपछि केटी पक्षले बसाएको सामाजिक पञ्चायतमा उनलाई कुटपिट गरिएको थियो । उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।


कुटपिटबाट घाइते यादवको विराट नर्सिङ होममा उपचार सम्भव नभएपछि सिलिगुडीमा समेत उपचार गराइएको थियो । सिलिगुडीमा चिकित्सकले गर्धनको नसामा गम्भीर चोट लागेकाले निको नहुने बताएपछि फर्काएर कोसी अस्पतालमा राखिएको थियो । विराटनगर १४ का वडाध्यक्ष बलदेवको घरमा जेठ ३२ गते बोलाइएको पञ्चायतमा श्यामनन्दनलाई कुटपिट गरिएको हो ।


विराटनगर १८ का भोला यादवकी छोरीसँग बिहेको कुरा छिनेपछि केटा पक्षलाई ५१ हजार रुपैयाँसमेत दिइसकेको थियो । त्यसपछि श्यामनन्दनका छोरा राजेशले भाइ मुकेशलाई केटी हेर्न पठाएको तर उनले केटी मन नपराएपछि विवाद सुरु भएको थियो । केटी पक्षले विवाहका लागि सबै तयारी गरिरसकेको अवस्थामा बिहे नहुँदा सामाजिक रूपमा बेइज्जत हुने र अरू ठाउँमा छोरीको बिहे गर्न कठिन हुने भन्दै पञ्चायत डाकेको थियो । जेठ ३२ गते भोला गाउँका भद्रभलाद्मीका साथै विराटनगर १८, जहदा १ का वडाध्यक्षलगायतलाई लिएर बलदेवको घरमा पञ्चायत गर्न पुगेका थिए ।


छलफलका क्रममा श्यामनन्दनले बिहेको दबाब अस्वीकार गर्नेबित्तिकै उनीमाथि हातपात भएको र त्यही चोटले मृत्यु भएको मुकेशको दाबी छ । ‘कुटपिट हुन थालेपछि वडाध्यक्षले नकुट्न भनेपछि रोकियो । तर पछि वडाध्यक्षले नै गाली गर्दै कुट्न आदेश दिए,’ उनले भने, ‘वडाध्यक्षले छोराको विवाह नगरे ५ लाख जरिवाना तिर्नुपर्ने निर्णय सुनाए ।


बुबाले त्यो मान्नुभएन । नमानेपछि उनले नै पुन: कुट्न आदेश दिएका हुन् ।’ घटनामा संलग्न ९ जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गराएको उनले बताए ।

प्रकाशित : श्रावण १, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?