विस्थापित परिवारलाई खानाको व्यवस्था
विराटनगर — महानगरपालिका १५ रानीका बाढी पीडितले सोमबार जमेको पानीको निकास माग्दै विराटनगर जोगबनी सडक खण्ड दुई घण्टा अवरुद्ध गरे ।
प्राविधिसहित पुगेका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले स्थलगत निरीक्षण गरी निकासको विकल्प पहिल्याएपछि स्थानीयले अवरोध खुला गरेका थिए । रानी क्षेत्रमा पानीको निकास नहुँदा दुई सयभन्दा बढी घर परिवार प्रभावित भएको उनीहरूको भनाई छ ।
महानगरका १९ वटै वडामा पानीको निकास नहुँदा सिंघिया र केसलिया खोलाको पानी बस्ती पसेको छ । बाढी प्रभावित हजार परिवारलाई सुरक्षित स्थलमा राखिएको मेयर पराजुलीले बताए । उनीहरूलाई महानगरपालिकाले खानाको व्यवस्था गर्दै आएको छ । सोमबारदेखि उनीहरूको दैनिकी सामान्य अवस्थामा फर्कंदै गएको उनले बताए ।
अनुकुल मौसम भए मंगलबार सुरक्षित स्थलमा राखिएकालाई घर फर्काउने काम हुनेछ । उनले भने, ‘सोमबार मध्याह्नदेखि पानी पर्न कम हुँदा र घाम लाग्दा डुवान क्षेत्रका बासिन्दालाई धेरै राहत भएको पाइएको छ । उनले सुरक्षित स्थलमा सारिएका बाढी प्रभावित परिवारको स्वास्थ्यमा ध्यान दिँदै स्वास्थ्यकर्मी पनि परिचालित अवस्थामा रहेको बताए ।
महानगर १ को विजयपुर, पाथिभरा मन्दिरको धर्मशाला, शान्तिचोक र नयाँ बस्तीमा करिब १ सय २५ विस्थापित परिवारलाई राखिएको छ । वडा प्रमुख उद्धव अर्यालका अनुसार उनीहरू सबै सिंघिया खोलाको डिलमा बस्दै आएका सुकुम्बासी हुन् । उनीहरूको बस्तीमा अझै पानी सुकेको छैन । अर्यालले भने, ‘उनीहरूलाई अझै केही दिन सुरक्षित स्थलमै राख्नुपर्ने स्थिति छ । वडा २ को विद्युत प्राधिकरण आसपास, हनुमान मन्दिर र धनावत चोक आसपासका बस्ती डुवानमा परेका छन् ।
वडा ३ को आयल निगम, कञ्चनबारी, औषधि व्यवस्था विभाग र कञ्चनबारी क्षेत्र डुवानमा परे पनि कोही विस्थापित भएका छैनन् । वडा ४ को जमुनगाछी, अमाही, इक्राही र वस्ता क्षेत्रका बासिन्दा डुवान प्रभावित भएका छन् ।
वडा ५ का सबै क्षेत्र डुवानमा परे पनि कोही पनि विस्थापित भएका छैनन् । वडा ६ डुवान प्रभावित करिब सय परिवारलाई नजिकको विद्यालयमा राखेर खानपिनको व्यवस्था गरिएको छ । वडा ७ का करिव दुई सय बाढीपीडित परिवारलाई गायत्री संस्कृत विद्यालयमा राखेर महानगरपालिकाले खाने व्यवस्था गरिरहेको वडा अध्यक्ष मधुबाबु तिवारीले बताए । वडा ८ मा कारागार दक्षिण पूर्व क्षेत्रका बासिन्दा प्रभावित बनेका छन् ।
वडा ९ मा डुवानको प्रभाव सामान्य छ । १० को जतुवा र नविन टोलका बासिन्दा प्रभावित बनेका छन् । वडा ११ को धुधुवा र ब्रह्मपुराका बासिन्दा बाढीले बढी प्रभावित भएका छन् । वडा १२ का बाढीपीडित परिवारलाई स्थानीय बखरी विद्यालयमा राखिएको छ । त्यहाँ अझै डुवान जारी रहेकाले विस्थापित परिवारलाई घर फर्काउन समय लाग्ने वडा अध्यक्ष हिरालाल कामतको भनाई छ ।
वडा १६ का पीडित परिवारलाई हुलास मेटल उद्योग र मिल्स माविमा राखिएको छ । त्यहाँ जमेको पानीले निकास नपाउँदा पीडित परिवार अझै केही दिन त्यही बस्नुपर्ने स्थिति रहेको वडा प्रमुख मनोज सुब्बाको भनाई छ ।
पहिरो प्रभावितलाई राहत
धनकुटा– वर्षाका कारण पहिरोबाट प्रभावित परिवारलाई महालक्ष्मी नगरपालिकाले सोमबार नगद तथा राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले पूर्ण क्षतिका प्रभावितलाई १० हजार र आंशिकलाई ५ हजार नगदसहित राहत सामग्री वितरण गरेको जनाएको छ । यसक्रममा नगरपालिका ५ का ९ परिवार र ७ नं.वडाका १ परिवार रहेका छन् ।
पूर्ण क्षति भएका मध्ये राजकुमार बुढाथोकी, मोहम्मद अस्कर अली, सृजना बाँनिया र भीमबहादुर तामाङ रहेको नगरप्रमुख पर्शुराम नेपालले बताए । यस्तै, आंशिक क्षति भएका प्रभावित अर्जुन चापागाईं, तीर्थबहादुर कार्की, कुलबहादुर पौडेल, पवन चापागाईं, नारायण भण्डारी र भवानी चापागाईं रहेका छन् । नगरप्रमुख नेपाल, वडाध्यक्ष रुद्र तुम्बा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुधीर साफी सहितले पहिरो प्रभावित परिवारलाई नगद, त्रिपाल र कम्बल वितरण गरेका थिए ।
महानगरका विद्यालय ३ दिन बिदा
विराटनगर– अविरल वर्षाका कारण चौतर्फी जलमग्न भएपछि विराटनगर महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा तीन दिन बिदा गरेको छ । महानगरका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले आइतबार विज्ञप्ति जारी गरी नगरभित्रका सामुदायिक विद्यालयलाई बर्खे बिदामा समायोजन गर्नेगरी मंगलबारसम्म बिदा दिइएको उल्लेख गरेका छन् ।
महानगरभित्र ५५ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालय छन् । महानगरले साउन १ गतेदेखि सामुदायिक विद्यालयलाई बर्खे बिदा दिने तयारी गरेको थियो । अविरल वर्षाको पानीले निकास नपाउँदा नगरका प्रायः सबै विद्यालय डुवानमा परेका छन् ।
त्यसैगरी निजी विद्यालयहरू पनि आइतबारदेखि केही दिनका लागि बन्द गरिएको प्याब्सन प्रदेश १ का कोषाध्यक्ष राजेश आचार्यले बताए । केही निजी विद्यालयले यसबेला परीक्षा गरिरहेका थिए । केहीले सकेका थिए ।
प्रकाशित : असार ३१, २०७६ ०९:४०