प्रदेशसभा बैठक- 'बाढी पीडितलाई राहत देऊ'

बाढी पहिरोले प्रदेशभरमा १६ जनाको मृत्यु, १० बेपता र ९ जना घाइते
देवनारायण साह

(मोरङ) — प्रदेशसभा बैठकमा सांसदहरूले बिहीबारदेखिको अविरल वर्षाले आएको बाढीपहिरोमा परी मृत्यु भएका परिवार र विस्थापितहरूलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अविरल वर्षाले कोसी राजमार्गस्थित सुनसरी र मोरङ जोड्ने बुढीगंगा खोलाको पुलमा क्षति पुगेपछि आइतबार ६ लेन परियोजनाले तारजाली लगाएर मर्मत गर्दै ।तस्बिर : देवनारायण साह/कान्तिपुर

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएकाले सरकारलाई सम्पूर्ण शक्ति लगाएर उद्धार र राहत कार्यमा जुट्न अनुरोध गरे । ‘बाढीपहिरोले सयौं घरवारविहीन भएका छन् । कृषकहरूको खेती बगाएको छ,’ उनले भने, ‘सरकारले विपद व्यवस्थापनका लागि प्रभावकारी काम गरेर जनतालाई प्रदेश सरकारको प्रत्याभूति गराउनु अहिलेको आवश्यकता हो ।’

प्रदेश सरकारले विपद व्यवस्थापनमा ३ करोड बजेट मात्रै विनियोजन गरेकाले बाढीपहिरो पीडितको राहत र उद्धार प्रभावकारी नहुने उनले आशंका व्यक्त गरे । ‘प्रदेशको बजेट मुख्यमन्त्रीको नाम जोडिएका योजनामा थुपारिएको तर विपद व्यवस्थापनमा कम हुनु उचित होइन,’ कार्कीले भने, ‘विपद व्यवस्थापन समितिको बैठक बसेर बाढी पहिरोले प्रभावितलाई तत्काल राहत घोषणा गर्नुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसका अर्का सांसद चुमनारायण तवदारले बुढीगंगा खोलाको बाढी विराटनगरको वडा ४ मा पसेको ठाउँमा तत्काल तारजालीको व्यवस्था गरेर बाढी रोक्न माग गरे । सुन्दरहरैंचा ३ मा सिँचाइ आयोजनामा बाढीले क्षति पुर्‍याएकाले त्यसको मर्मत संभारका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।

बाढी प्रत्येक वर्ष आउने गरेको तर त्यसको दीर्घकालीन व्यवस्थापन हुन नसकेकोतर्फ सबैको ध्यानकेन्द्रित हुनुपर्ने उनको भनाई थियो । उनले आश्रय लिएर बसेका बाढीपिडितलाई खान र बस्न उचित व्यवस्थापन मिलाउन सरकारसँग माग गरे ।

सत्ता पक्षका सांसद विजयकुमार विश्वासले मोरङको कटहरी ४ का अधिकांश घरमा बाढी पसेर बस्ने ठाउँ नभएकाले त्यसको व्यवस्थापनका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरे । उनले कटहरी ६ शिवपुर जाने सडक जुडी खोलाको बाढीले बगाउँदा ४० घर परिवार बिचल्लीमा परेकाले तत्काल बाटोको व्यवस्था गर्न सरकारसँग माग गरे । ग्रामथान ७ मा पनि बाढीले सडक बगाएको छ । सिंघिया, चिसाङ र लोहन्द्रा खोलामा तटबन्धको व्यवस्थापन गर्न सकिए बाढीले बर्सेनि हुँदै आएको जनधनको क्षति रोक्न सकिने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनु आवश्यक भएको विश्वासको भनाई थियो ।

सांसद वसन्तीदेवी यादवले मनसुन अझै सक्रिय रहेकाले क्षति न्यूनीकरणका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरिन् । उनले बाढी पहिरोबाट विस्थापित परिवारका लागि खान र बस्नका लागि आवश्यक सामग्रीसँगै हैजा लगायतको रोगको महामारी फैलिन नदिनका लागि समेत पूर्व तयारीका साथ काम अघि बढाउन माग गरिन् ।

सांसद विष्णु तुम्बाहाम्फेले अव्यवस्थित बसोबास, जथाभावी सडक, कुलो, पैनी खनेकाले बर्सेनि बाढी पहिरोले क्षति हुने क्रम बढेको बताइन् । स्थानीय तहलाई बढी जिम्मेबार बनाएकाले पनि बाढी पहिरोले बढी क्षति भइरहेको हुँदा अब प्रदेश सरकार आफै जिम्मेबारी लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सांसद राजकुमार ओझाले बाढी र पहिरोले धनजनको क्षति र खान बस्ने अवस्था नभएकाले तत्काल सरकारलाई राहत वितरणको व्यवस्था गर्न माग गरे । अन्य सांसदहरूले पनि बाढीपीडितहरूलाई राहतको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे ।

संसदमा विशेष समयमा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बाढीपहिरोले प्रदेशभरमा भएको क्षति र भइरहेको राहत, उद्धार कार्यको बारेमा सदनलाई जानकारी गराए । ‘अविरल वर्षाले आएको बाढी पहिरोले प्रदेशभरमा १६ जनाको मृत्यु, १० बेपता र ९ जना घाइते भएका छन्,’ उनले भने, ‘पाँचथरमा १ बेपत्ता, इलाममा १ को मृत्यु ३ बेपत्ता, झापामा २ को मृत्यु र १ बेपत्ता, मोरङमा ३ बेपत्ता, सुनसरीमा १ को मृत्यु, १ बेपत्ता २ घाइते, धनकुटामा ३ घाइते, भोजपुरमा ५ को मृत्यु र २ घाइते, ओखलढुंगामा ४ को मृत्यु र १ जना बेपत्ता, खोटाङमा ३ को मृत्यु र १ बेपत्ता र उदयपुरमा १ जना घाइते भएका छन् ।’

बेपत्ताको खोजी जारी रहेको र हालसम्म फेला नपरेको उनले जानकारी गराए । प्रदेशभरमा बाढी पहिरोले ३ सय ६५ घरधुरीका करिब १८ सय जना विस्थापित भएको उनले बताए । ‘पीडितहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, संघ संस्थालगायतका नागरिक समाज बुद्धिजीवी र व्यापारी राहत तथा उद्धार कार्यमा जुटिरहेका छन् ।’

कार्कीले प्रदेशस्थित १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विस्थापित परिवारलाई सुरक्षित स्थानमा राखेर आवश्यक राहत प्रदेश सरकारबाट सोध भर्ना हुने गरी तत्काल उपलब्ध गराउन निर्देशन दिएको र त्यही अनुसार काम भइरहेको बताए ।

एक विधेयक पारित, एक टेबल
मोरङ- आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आइतबार प्रदेशसभामा ‘जाँचबुझ तथा अनुसन्धान आयोग ऐन २०७६’ विधेयक टेबल गरेका छन् । यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीस कुसियतले पर्यटन विकास विधेयक पारितका लागि संसदमा गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

सडक मर्मत सुरु
खोटाङ– वर्षाका कारण भत्किएका सडक मर्मत सुरु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको जयरामघाट–दिक्तेल सडक मर्मत सुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आ–आफ्नो क्षेत्रमा जेसीबी प्रयोग गरेर सडक सफा गरिरहेका छन् । यसबाहेक मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीको जेसीबीले पनि सडक सफा गर्न थालेको हो ।

मध्यपहाडी लोकमार्गमा दर्जनौं स्थानमा पहिरो गएकाले समय लागेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । केही दिनमै सडक सञ्चालन गरिने रिजालले सुनाए ।

रिजालका अनुसार सबैभन्दा बढी तुवाचुङ जायजुममुनिको सडकमा क्षति पुगेको छ । यसबाहेक ओखलढुङ्गा, सिन्धुली लगायतका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध पारेपछि तीन दिनदेखि यात्रु अलपत्र छन् ।

प्रकाशित : असार ३०, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

पुल नचल्दा थुनिए ठोरीवासी

शंकर आचार्य

पर्सा — ठुटे खोलामा एक वर्षअघि नै पुल बने पनि सञ्चालनमा नआउँदा बर्खामा ठोरीवासी गाउँमै थुनिएका छन्  । भारतीय पक्षले एप्रोच सडक निर्माणमा अवरोध गरेपछि पुल प्रयोगमा नआएको हो  ।

वर्षाले ठुटे खोला उर्लिएपछि बुधबारदेखि ठोरीबाट सदरमुकाम वीरगन्ज चल्ने सवारीसाधन ठप्प छन् । बाघमोर्चासहितका खोलामा बहाव बढेपछि चितवनको माडी हुँदै नारायणघाटसम्म चल्ने सवारी पनि रोकिएका छन् । ठोरीबाट वीरगन्जसम्म दैनिक ३ बस, हेटौंडा हुँदै काठमाडौंसम्म २ वटा सुमो र माडीतर्फ दैनिक ८ देखि १० वटासम्म सवारी चल्थे ।

स्थानीय प्रकाश खनाल अहिले टापुमा बसेजस्तै अनुभव भएको बताउँछन् । ‘न आफ्नै सदरमुकाम जान सक्छौं न त छिमेकी जिल्लातर्फ,’ उनले भने । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख केदार पन्तले ठुटे र बाघमोर्चा खोला ठोरीवासीका लागि समस्या बनेको बताए । उनका अनुसार गाउँमा बाढी पस्ने सम्भावना उच्च छ । बाघमोर्चा खोला यसअघि जेसीबी लगाएर खारिएकामा भेलसँगै आएको ग्राभेलले फेरि पुरिसकेको छ ।

वडा नं. २ र ३ जोड्ने ठुटे खोला पुल एक वर्षअघि बनेको हो । तर पुलको पूर्वतर्फ एप्रोच सडक बन्न सकेको छैन । सीमापारि भिखना ठोरीका बासिन्दाले कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद झिकेका छन् । भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहानबाट वर्षौंदेखि २ वटा कुलो सिँचाइमा प्रयोग गर्दै आएको छ । तीनवटा कुलो रहेकामा नेपाली पक्षले एउटा मात्र प्रयोग गर्छ ।

नेपाली पक्षले सडक बनाउन कुलो पुर्न दिन सहमति जनाए पनि भारतीय पक्षले मानेको छैन । कुलो सञ्चालन गर्न दिँदा पुल जोखिममा पर्ने भन्दै पुरेर एप्रोच रोड बनाउन स्थानीयले दबाब दिएका छन् । भारतीय पक्षले साबिक स्थानबाटै ह्युम पाइप राखेर पानी लैजान पाउनुपर्ने अडान राखेको छ ।

नेपाली पक्षले ह्युमपाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुल जोखिममा पर्ने तर्क अघि सारेको छ । ठेकेदार कम्पनी अमर एन्ड मृत सञ्जीवनीले एप्रोच सडक निर्माण गर्न नेपाल सरकारको निर्णय कुरेको थियो । विवाद समाधान नभएपछि काम रोकेको छ । उसले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा ठेक्का पाएको हो ।

४ वटा स्पान रहेको १ सय २ मिटर लामो पुल ७ दशमलव २ मिटर चौडा छ । नेपाल–भारत सीमा सर्वेक्षण टोलीले २ वर्षअघि सीमा विवाद टुंगो लगाएसँगै पुल बनेको हो ।

प्रकाशित : असार ३०, २०७६ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्