कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढीले मोरङमा २ सय ५० घर परिवार विस्थापित

विनु तिम्सिना

विराटनगर — लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा २ सय ५० घर परिवार विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने सुकुम्बासी छन् ।

विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसीले बताए ।


केसीका अनुसार विराटनगर १ मा रहेको सिंघीया खोलाका कारण ५० घर परिवार, विराटनगर ८ हाटखोला दक्षिणी क्षेत्रमा १ सय घर, विराटनगर १६ दरैयाबस्तीमा ५० घर परिवार, जहदा ८, कटहरी गाउँपालिकाको ४ र ५ नम्बर वडामा ५०/५० घर परिवार विस्थापित भएका छन् । विस्थापितहरुलाई रेडक्रसको सहयोगमा १ सय बढी त्रिपाल वितरण गरिएको उनले जानकारी दिए ।


यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली/कानेपोखरी सडक खण्डको कानेपोखरी २ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला परेका छैनन् ।


अन्दाजी २५/३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको थियो । उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यस्तै उर्लाबारीमा घाासको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।


प्रमुख जिल्ला अधिकारी केसीले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएको छ । प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजान तयारी अवस्थामा रहेको पनि जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?