कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरे तलका बस्तीमा पानी अभाव

डिल्लीराम खतिवडा

उदयपुर — लामो सयमको खडेरीसँगै स्रोत सुकेपछि चुरे तलका बस्तीमा पिउने पानीको अभाव भएको छ । मध्य वर्षातको समयमै पानीको अभाव भएपछि सर्वसाधण सामस्यामा परेका हुन् । असार २० बितिसक्दा पनि वर्षात नहुँदा पानीका स्रोत सुकेका हुन् ।

बेलाका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका क्षेत्रका बस्ती बढी प्रभावित भएका छन् । बढो चुरे विनाशसँगै समयमा वर्षात नहुँदा सर्वसाधणले सास्ती खेप्नु परेको छ । पानीको मुख्य स्रोत नै चुरे वन क्षेत्र हो । चुरे क्षेत्र हिउँदमा लागेको डढेलोले सुख्खा भएको र समयमै वर्षात नहुँदा पिउने पानीको समस्या थपिएको स्थानीयले बताए ।


चुरे तल त्रियुगा नदी तटीय क्षेत्रमा रहेका दर्जनौटं बस्तीमा सुकेका इनार र चापाकल अहिलेसम्म रसाएका छैनन् । त्रियुगा नदीमा समेत पर्याप्त पानी छैन । त्यसैले ३ महिनायता पिउने पानीको अभाव भएको हो । पिउने पानीको मुख्य स्रोत इनार नै सुकेपछि त्यस क्षेत्रका सर्वसाधरण समस्यामा परेका छन् । विकल्प नहुँदा पानीको समस्या भोग्नु परेको स्थानीयले बताए ।


‘गाउँका एक दुई इनारमा मात्रै पानी छ,’ त्रियुगा नगरपालिकाको दमौतीकी स्थानीय गागामाया मगरले भनिन्, ‘त्यसका लागि मध्यरातमै पालो लाग्ने गरेकाले उज्यालो नहुँदै पानी सकिन्छ ।’ मध्यरातमा निद्रा माया मारेर पानीका लागि पालो कुर्न जानुपर्ने बाध्यताले दुई महिनायता धेरै सास्ती खेप्नु परेको उनले बताईन् ।


कटारी, चौदण्डीगढी नगरपालिकाको दक्षिण चुरे तलका बस्ती पनि पानी नहुँदा समस्यामा परेका छन् । यी क्षेत्रमा रहेका विभिन्न खानेपानी आयोजना पनि जमिन मुनिको स्रोत सुक्दा समस्यामा परेका छन् । सुख्खाले गर्दा भूमिगत पानीको स्रोत सुक्दै गएकाले पानी संकट आउन सक्ने बेल्टार दोस्रो खानेपानी योजना सिर्वानीका अध्यक्ष लक्ष्मीप्रसाद दाहालले बताए । ‘अभोर हेड ट्याकीमा पानी पुर्‍याउन पम्पले पर्याप्त पानी नै तान्दैन,’ उनले भने, ‘स्रोत नै सुक्दै गएपछि पानी तान्ने समस्या भएको छ ।’ यस्तै अवस्था रहिरहे पानी अभावमा गुजारा गर्नै समस्या हुने उनले बताए ।


‘वर्षौंदेखि हिउँदको समयमा पानी खान नपाएर काकाकुलीको जिन्दगी जिउने पर्ने बाध्यता छ,’ स्थानीय सृजना अधिकारीले भनिन्, ‘खानेपानी आयोजनाले धान्न नसक्दा इनार खनियो तर इनार पनि सुकेपछि विकल्पमा त्रियुगा खोलाको दुषित पानी पिउनु पर्ने बाध्यता छ ।’ नगरपालिकाका बासिन्दा भएर पनि पिउने पानी समेत नपाउँदा दिक्क लागेको उनले बताए । ‘पानीको भरपर्दो स्रोत नहुँदा समस्या हुँदो रहेछ,’ कटारी नगरपालिका २ का ७७ वर्षीय वृद्धा नरमान दनुवारले भने, ‘वर्षौंदेखि पानीको समस्यामा परेका छौं तर, सम्बन्धित निकायलाई गुहार्दा पनि वास्तै गर्दैन ।’ पानीकै कारण स्थानीयलाई गुजारा गर्न गह्रो भएको उनले बताए ।


गाउँमा पानी नभएपछि चुरे तलका दजनौं बस्तीका सर्वसाधरण त्रियुगा नदीको दुषित पानीबाट गुजारा गर्दै आएका छन् । ‘तर, नदीको पानी पनि लेदोमात्रै बग्न थालेपछि झनै समस्या उत्पन्न भएको छ,’ स्थानीय बासिन्दा करुणा कार्कीले भनिन, ‘यसै गरी पानी अभाव झेल्नु पर्‍यो भने बसाइँ सर्नुको विकल्प छैन ।’

प्रकाशित : असार २३, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?