२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दिनहुँ १० पटक वारिपारि

पक्की पुल भएको बाटो प्रयोग गर्दा १२ किमि र खोला तर्दा ६ किमिमै विराटनगरको मुख्य बजार पुगिने भएकाले जोखिम मोलेरै वारपार
जितेन्द्र साह

मोरङ — एक महिला भारी बोकेर खोला तरिन् । एकछिनपछि फर्किएर खेततिर हराइन् । फेरि पोका बोकेर खोलामा छिरिन् । तराई–मधेसको प्रचण्ड गर्मी र खोलामा पानीको सतह घटबढ भई राख्ने वर्षायाममा उनको हिम्मत एवं जाँगर देख्ने जो कोही पनि आश्चर्य मान्छन् ।

दिनहुँ १० पटक वारिपारि

मोरङको दक्षिणपूर्वी भेकमा तरकारी खेतीका लागि कहलिएको जहदा गाउँपालिका–४ किसान बस्तीको दृश्य हो यो । जहदा गाउँपालिका–४, मधुरा बस्तीकी महिला तरकारी व्यवसायी ३८ वर्षीया सीतादेवी मण्डलको कथा हो यो । यो बस्ती र मोरङकै कटहरी गाउँपालिका बीचमा लोहन्द्रा खोला पर्छ ।


बटुवा र आगन्तुकलाई अचम्म लागे पनि खोला वारिपारि गर्नु सीतादेवीको १० वर्षदेखिको दिनचर्या हो । उनी तरकारी बोकेर नियमित ओहोरदोहोर गर्छिन् । सीतादेवीका श्रीमान् ४२ वर्षीय विजय चार वर्षदेखि खाडी मुलुकमा छन् ।


‘बिहानदेखि दिउँसोसम्म दिनको ९/१० पटक वारिपारि गर्छु,’ उनले भनिन्, ‘छेउमा बाँसको पुल थियो, भाँच्चियो, नजिकै दक्षिणतिर सरकारले पक्की पुल बनाउन सुरु गरेको छ, दुई वर्षमा बन्ला भनेर सुनेकी छु, त्यसपछि दुःख हुँदैन होला ।’


मुख्य पक्की बाटोसम्म पुग्न समय लाग्ने हुनाले पानीको स्तर कम भएका बेला उनले खोलाको छोटो बाटो प्रयोग गर्छिन् । खोलामा पानीको बहाव बढेका बेला मुख्य सडक जानै पर्ने बाध्यता छ । वर्षायाममा खोलामा अचानक पानीको सतह बढ्ने हुनाले जोखिम हुने उनले बताइन् । अहिलेसम्म आफू भाग्यशाली नै रहेको सीतादेवीले सुनाइन् । ‘मैले बोक्ने एउटा पोका ४५/५० किलोको हुन्छ,’ उनले भनिन्, ‘धेरै तरकारी भएको हुनाले थोरथोर गर्दै खोला भएर पारी लान सजिलो हुन्छ ।’


उनले हरेक दिन पटकपटक गरी साढे चार क्विन्टल तरकारी बोकेर पारि पुर्‍याउँछिन् । त्यसपछि तरकारीलाई सिटी सफारीमा राखेर कटहरी गाउँपालिकाको पक्की सडक हुँदै विराटनगरको साप्ताहिक हाटमा बेच्छिन् । सातै दिन लाग्ने हाटहरूमा सीतादेवीको दिउँसोदेखि साँझ बित्छ । ‘घर फर्किंदा राति ८/९ बज्छ,’ उनले भनिन् । खोलादेखि उत्तरपट्टिको मुख्य सडक जोड्ने राम चोकको दुरी ४ किमि छ र त्यहाँबाट विराटनगर पुग्न ८ किमिको बाटो पार गर्नुपर्छ । खोला पारिबाट विराटनगर केवल ६ किमि छ ।


१० रुपैयाँ प्रतिकिलोका दरले सबै तरकारी बेच्दा पनि सीतादेवीले प्रत्येक हाटमा झन्डै ४–५ हजार रुपैयाँ संकलन गर्छिन् । अहिले तरकारी उत्पादनकै मौसम भएकाले उनी व्यवसायीबाट तरकारी हेरी प्रतिकिलो ३ रुपैयाँदेखि ७ रुपैयाँमा किन्छिन् । ‘सबै त बिक्दैन, आधी बच्छ, एक हाटमा २ हजार रुपैयाँसम्मको तरकारी बिक्छ,’ उनले भनिन्, ‘बाँकी विराटनगरमा सुरक्षित थलो खोजेर राख्छु, भोलि फेरि बेच्न लान्छु ।’


पुँजी, ढुवानी र आफ्नो श्रमलगायत सबै खर्च काटेर दैनिक औषत १ हजार रुपैयाँभन्दा बढी नै बच्ने गरेको उनले सुनाइन् । ‘दुःख त धेरै छ तर शरीरले साथ दियो र गर्न सक्यो भने आम्दानी पनि राम्रै छ,’ सीतादेवीले भनिन्, ‘मासिक ३५ हजार रुपैयाँ त कमाइ हुन्छ ।’


रोचक के छ भने उनी किसानसँग उधारोमा तरकारी किन्छिन्, अनि बेचेपछि तिर्छिन् । ‘यसरी उधारोमा किनबेच गरिने हुनाले पुँजीको समस्या भएन,’ सीतादेवीले भनिन्, ‘विश्वासमै कारोबार चल्छ ।’


उनका दुई छोरा र एक छोरी छन् । जेठो छोरा वीरेन्द्र कक्षा–१२ उत्तीर्ण गरेका छन् । कान्छो विकास खोला पारिकै कटहरी बजारको एक निजी विद्यालयमा कक्षा–४ मा पढ्छन् । छोरी लता विराटनगरकै आदर्श विद्यालयमा शिक्षा संकायमा कक्षा–११ मा पढै छिन् । ‘छुट्टी भएका बेला छोरीले काममा सघाउने गरेको उनले बताइन् । ‘यति सहयोगले पनि मलाई धेरै राहत हुन्छ,’ सीतादेवीले भनिन् । आमालाई सहयोग गर्न पाउँदा लतालाई पनि नीकै खुसी लाग्छ ।


‘आमाले दिनहुँ गर्ने दुःखको अगाडि मैले गर्ने सहयोग त केही पनि होइन,’ उनले भनिन् । आमा घर बाहिरै रहने हुनाले खाना तयार पार्नु र दाइभाइसँग मिलेर लुगाफाटा धोएर सुकाउने मुख्य जिम्मेबारी लताकै छ । ‘छोरी कम, साथी बढी छिन्, मेरो अनुपस्थितिमा अभिभावक झैं लताले घरको देखभाल गर्छिन्,’ सीतादेवीले भनिन्, ‘राति फर्कंदा खाना तयार हुन्छ, मसँगै खाएर मात्र सुत्छिन् ।’


सबै जिम्मेबारी निभाउँदै सीतादेवीले २१ लाख रुपैयाँमा १३ कठ्ठा जग्गा पनि जोडेकी छन् । यसमा सात कठ्ठा घडेरी र ६ कठ्ठा खेत छ ।


उनले आफ्नो पौरखले यतिको जग्गा जोडा सहकारीबाट किस्तामा बुझाउने गरी ५ लाख रुपैयाँ ऋण लिएकी छन् ।

‘छोराछोरीलाई राम्ररी पढाएकी छु, जग्गा जोडेकी छु तर नगद बचत छैन,’ उनले भनिन्, ‘श्रीमान्ले विदेशबाट पठाउने रकम र आफ्नो कमाइले मासिक खर्च टार्दै किस्ता तिरिरहेकी छु ।’ खाडीबाट फर्केर आएपछि श्रीमान्सँग मिलेर आफ्नै जग्गामा तरकारी खेतीलाई निरन्तरता दिने उनले बताइन् ।

प्रकाशित : असार १७, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?