रोजगार योजना : नाला सफाइमा युवा

डम्बरसिं राई

खोटाङ — प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १ हजार ७ सय ९६ जनाले रोजगारी पाएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १५ वडाका १ सय ८० युवाले रोजगार पाएका छन् । बेरोजगार र अति विपन्न परिवारका नागरिकलाई रोजगारको अवसर दिइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।

छानिएका युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय रङ्गरोगन, विद्यालय वरपर बगैंचा निर्माण, फलफूलका बिरुवा रोप्नेलगायत काममा खटाइएको रिजालले जनाए ।

त्यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा १ सय ६१ जनाले रोजगारी पाएका छन् । उनीहरूलाई सडक मर्मत, हाटबजार व्यवस्थापनको काम जिम्मा लगाइएको कार्यक्रम संयोजक शान्ता अधिकारीले बताइन् । रोजगार पाउने युवालाई प्रतिव्यक्ति ६ सय ५० रुपैयाँका दरले ज्याला दिइएको अधिकारीले सुनाइन् ।

केपिलासगढी गाउँपालिकाका २ सय युवाले रोजगारी पाएका छन् । उनीहरूले सडक मर्मत, सोलिङ, नाली, विद्यालय घेराबारा लगायतको काम जिम्मा दिइएको छ । यसवापत प्रतिव्यक्ति ५ सय १७ रुपैयाँ दिइएको कार्यक्रम संयोजक आस्मिका राईले सुनाइन् ।

ऐसेलुखर्क गाउँपालिकामा १ सय ११ जनाले रोजगारी पाएका छन् । प्रतिव्यक्ति ५ सय १७ रुपैयाँका दरले उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । निरौलाका अनुसार सडकको नाली काट्ने, खाल्डा खुल्डी मर्मत गर्ने लगायतको काममा लगाइएको छ ।

रावाबेसी गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यहाँका १ सय सात जनाले रोजगार पाएका छन् । उनीहरूले दैनिक ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउने गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

रोजगार पाउने युवालाई कुभिण्डेमा, नुनथला–कुभिण्डे सडकको नाली काट्ने, खार्पा–महुरे–झिगटीघर सडकको नाली काट्ने, बिजुले–लामिडाडाँ भन्ज्याङसम्म सडकको नाली काट्ने, खाल्डाखुल्डी सोलिङ गर्ने, छोटो दूरीका पुराना पैदल हिंड्ने बाटोमा सिढी लगाउने लगायतका काममा खटाइएको अध्यक्ष निरौलाले सुनाए ।

साकेला गाउँपालिकामा ७ सय ५३ जनाले रोजगारी पाएका छन् । सामुदायिक भवन मर्मत, सडक तथा बाटो मर्मत, सिंचाइ कुलो मर्मत लगायत काम खटाइएवापत प्रतिव्यक्ति प्रतिदिन ६ सय रुपैयाँका दरले ज्याला दिइएको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खडकाले सुनाए ।

जन्तेढुङ्गा गाउँपालिकामा १ सय ८० जनाले रोजगारी पाएका छन् । सडक मर्मत, नाली तथा खाल्डाखुल्डी पुर्ने काम लगाइएको जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष शंकर राईले बताए । बराहापोखरी गाउँपालिकामा १ सय चार जनाले रोजगारी पाएका छन् ।

प्रकाशित : असार १७, २०७६ ०९:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खोटाङमा यसरी मनाइयो धान दिवस (तस्बिरहरु)

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीमा १६ औं धान दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोलेबारी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा धान दिवस मनाइएको हो ।

धान दिवसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतका विभिन्न कार्यालय प्रमुखहरु सहभागी भएका थिए । नगरप्रमुख रिजालले जोत्नुका साथै धान रोपेर दिवस मनाएका हुन् । नगर उपप्रमुख राईले धान रोप्नुका साथै हिलो खेलेर रमाइलो गरिन् ।

असारे भाकाको साथमा बालबालिकादेखि तन्नेरी र पाकाहरु समेत रमाएका छन् । यो वर्ष लामो खडेरीले धान रोपाइ प्रभावित भएकाले धान रोपाइ हुन सकेको छैन । कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार यो वर्ष १० प्रतिशत मात्र धान रोपिएको छ । जिल्लामा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अर्गानिक अभियान सुरु गरेकाले रसायनिक मल भन्दा कम्पोष्ट मल प्रयोग गर्न नगरप्रमुख रिजालले अनुरोध गरे । ‘नगरक्षेत्र अर्गानिक बन्ने भएकाले रसायनिक मललाई विस्थापित गर्दै कम्पोष्ट मल प्रयोगमा जोड दिनुपर्छ ।’ नगरपप्रमुख रिजालले भने,‘यसका लागि कम्पोष्ट मल उत्पादनको चरणमा पुगेको छ ।’ नगरप्रमुख रिजालले थपे,‘अब पाँच वर्षभित्र नगरपालिका पूर्ण रुपमा अर्गानिक हुने छ ।’

दिवसकै अवसरमा कोलेबारी कृषि सहकारी संस्थालाई नगरप्रमुख रिजालले कृषि आधुनिक औजार हस्तान्तरण गरेका छन् । कम्माइन मेसिन (धान, मकै, कोदो पिस्ने), कन्सिलर मिसिन (मकै छोडाउने), ओइडिङ मेसिन (जोख्ने) र पावर टिलर (जोत्ने) हस्तान्तरण गरेका हुन् ।

प्रकाशित : असार १५, २०७६ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×