कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री रोजगार कार्यक्रम : झार उखेल्दै, नाला सफाइ गर्दै

छनोटमा परेका अधिकांश कामदारलाई विद्यालय रंगरोगन पुल–पुलेसा मर्मत र सडकका खाडल पुर्ने काममा लगाइयो
प्रदेश १ ब्युरो

विराटनगर — प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेश १ का विभिन्न जिल्लामा काम सुरु भएको छ । छानिएका अधिकांश कामदारलाई सडकका झार उखेल्ने, नाला सरसफाइ गर्ने, झाडी फाँड्ने, विद्यालयमा रंगरोगन, भत्किएका पुल–पुलेसा मर्मत, सडकका खाल्डा पुर्नेजस्ता काममा लगाइएको छ । कतिपयले रोजगारीका नाममा अरूले गरेको फोहोर सफा गर्न लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : झार उखेल्दै, नाला सफाइ गर्दै

प्रधानमन्त्रीको जिल्लामा २६६९ लाई रोजगारी

प्रधानमन्त्री केपी ओलीको जिल्ला झापामा २ हजार ६ सय ६९ सर्वसाधारणले रोजगारी पाएका छन् । यसका लागि ३ करोड ९४ लाख रुपैयाँ खर्च हुँदै छ । जिल्लाका पन्ध्रवटै स्थानीय तहले रोजगारी दिएका हुन् ।


सबभन्दा बढी अर्जुनधारा नगरपालिकाले २ सय ७० जना र सबैभन्दा कम गौरीगन्जले २९ जनालाई रोजगारी दिएको छ । मेचीनगरमा २ सय ५२ लाई रोजगारीका लागि ५६ लाख पारिश्रमिक छुट्याइएको छ । भद्रपुरले १ सय ४९ जनाका लागि ३३ लाख, बिर्तामोडले १ सय ५५ का लागि ४५ लाख, शिवशताक्षीले १ सय ४४ का लागि २२ लाख, दमकले १ सय ३९ का लागि ३९ लाख बजेट छुट्याएका छन् ।


कतिपय पालिकामा कामदार छनोट जारी छ । कन्काई नगरका सूचना अधिकारी हरि मिश्रका अनुसार अहिलेसम्म १ सय २० जनालाई रोजगारी उपलब्ध गराइएको छ । बाँकीलाई पनि यही महिनाभित्र उपलब्ध गराइँदै छ । ‘सबै वडाबाट २ देखि अढाई सय जनाले रोजगारी पाउने सम्भावना छ,’ उनले भने ।


गौरादह र गौरीगन्ज नगरमा पनि छनोट जारी छ । गौरादहमा हाल ५० जनाले रोजगारी पाएका छन् भने गौरीगन्जमा २९ ले । कन्काईले कार्यक्रमका लागि २० लाख बजेट छुट्याएको छ । गौरादह र गौरीगन्जले क्रमशः २६ र १६ लाख रुपैयाँ विनियोजन गरेको सम्बन्धित पालिका प्रमुखहरूले जनाएका छन् ।


कमल गाउँपालिकाले ९० जनाका लागि २२ लाख, झापा गाउँपालिकाले ७२ का लागि १५ लाख, बाह्रदशीले ७१ जनाका लागि १६ लाख, कचनकवलले ८६ का लागि १९ लाख, हल्दीबारीले ६३ का लागि १४ लाख र बुद्धशान्ति गाउँपालिकाले १ सय ५५ का लागि २१ लाख पारिश्रमिक छुट्याएका हुन् । ‘अहिले छनोट भएका अधिकांश कामदार प्रायः झार उखेल्ने काममा मात्रै सीमित छन्,’ मेचीनगरका एक जनप्रतिनिधिले भने, ‘चाँडै अन्य गतिविधिमा समेत खटाउने योजनामा नगरपालिकाको छ ।’


कार्यक्रमको मापदण्डअनुसार कृषि उत्पादनले वर्षमा तीन महिना खान नमिल्ने, आफ्नै घर नभएका, एकल महिला घरमूली भएका, दलित, अल्पसंख्यक र लोपोन्मुख समुदाय, सहिद र बेपत्ता परिवारका सर्वसाधारण पहिलो प्राथमिकतामा पर्छन् ।


यस्तै, बेलबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय ९९ जनालाई ३० दिनका लागि रोजगारी दिएको छ । पर्यटकीय क्षेत्र विकास कार्यक्रम र सुपारीका बिरुवा उत्पादनमा उनीहरूलाई खटाइएको छ । रमितेमा निर्माणाधीन भ्यु टावर जान पैदलमार्ग निर्माण, पर्यटकीय स्थल धनपालगढीमा सरसफाइका साथै विभिन्न संरचना निर्माण र वडा ४ मा ८ हजार सुपारीका बिरुवा उत्पादनका लागि उनीहरूलाई खटाइएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।


उनले उक्त कार्यक्रमअनतर्गत आएको ४४ लाख बजेट शतप्रतिशत खर्च हुने बताए । उर्लाबारी नगरमा हालसम्म कार्यक्रम सञ्चालन हुन सकेको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद भट्टराईले प्रत्येक वडाबाट छनोट भएर आइसकेकाले तत्काल बैठक बसेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताए । नगरपालिकामा उक्त कार्यक्रमका लागि ३५ लाख बजेट आएको छ ।


यस्तै, केराबारी गाउँपालिकामा ८५ जनाले १५ दिनको रोजगारी पाएका छन् । गाउँपालिकाका कार्यक्रम संयोजक पम्फादेवी अधिकारीले रोजगारीका लागि छनोट भएका व्यक्तिलाई नाला सफाइ, वृक्षरोपण, बाटो मर्मत र जाली भर्न खटाइएको बताइन् । सडक बाटो मर्मतका लागि वडा १ मा १४ र वडा २ मा २५ जनाले, वडा ९ मा वृक्षरोपणका लागि २४ जनाले, नाला सफाइमा १५ र जालीमा ढुंगा भर्न ७ जनाले रोजगारी पाएका छन् । उक्त कार्यक्रमका लागि आएको २० लाखमध्ये केही फिर्ता हुने अवस्था रहेको उनको भनाइ थियो ।


यस्तै, धनपालथान गाउँपालिकाले पनि १ सय ८ जनालाई ३० दिनको रोजगारी दिएको छ । गाउँपालिकाले सरसफाइ र वृक्षरोपण कार्यक्रममा उनीहरूलाई परिचालन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचनप्रसाद दाहालले कर्सिया बजारस्थित हाटबजारमा थुपारेर राखिएको फोहोर र नाला सरसफाइका साथै सार्वजनिक जग्गामा वृक्षरोपणका लागि खटाएर १ सय ८ जनालाई ३० दिनका लागि रोजगारी दिइएको बताए ।


पारिश्रमिक सिधै बैंकमा

प्रधानमन्त्री रोजगार कार्यक्रम सकिनै लाग्दा कामदारको खाता खोल्न ताप्लेजुङका बैंक गाउँमै पुगेका छन् । नगद नदिने र अनिवार्य खातामा लगाइदिने भएकाले काम गरेकै ठाउँमा जानुपरेको कार्यक्रम सञ्चालकले बताएका छन् ।


फुङलिङ नगरपालिकाको सबैभन्दा टाढाको वडा ११ मा लक्ष्मी बैंकमा खाता खोलाइएको राजकुमार बानियाँले बताए । स्वरोजगारकै रोजाइमा बैंक छानेर कर्मचारी गाउँ पुर्‍याउने र शून्य मौज्दातमा खाता खोलाउने उनले जनाए ।


यहाँबाट पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र नजिकै रहेको र त्यहाँ लक्ष्मी बैंकको शाखा रहेकाले त्यसैमा खोलिएको कामदारको भनाइ छ । कार्यविधि तथा निर्देशिकामा नगदै पैसा दिन नपाउने उल्लेख छ । ‘शाखारहित बैंकिङ कारोबार गर्नेले गाउँमै गएर सेवा दिने जनाउँदा रहेछन्,’ पाँचथरको फिदिम नगरपालिका रोजगार संयोजक लक्षिमा योञ्जनले भनिन्, ‘निर्देशिका अनुकूल हुने र स्वरोजगारलाई पनि राहत पुग्ने गरी बैंक छनोट गरेका छौं ।’ स्वरोजगारको पहिल्यै खाता भए जुनमा छ, त्यसैमा हालिदिने कार्यक्रम संयोजकहरूले बताए ।


११ वडा रहेको फुङलिङ नगरपालिकामा २८ वटा योजना छन् । वडा नं ४ र ५ का स्वरोजगारले सदरमुकाम क्षेत्रको नाली, सार्वजनिक स्थल सरसफाइ गरेका छन् । वडा ७ र ८ ले पैदलमार्ग निर्माण तथा सरसफाइमा जनशक्ति परिचालन गरेका छन् । नेपाल सरकारको नक्सामा गोरेटो रहेको तर हराइसकेको पैदलमार्ग मर्मत भएको भन्दै स्थानीय खुसी भएका छन् ।


वडा ७ का सुरेश पालुङवाले भने, ‘यस्ता सडकले रूप फेर्ने दिन आउँदो रहेछ भन्ने उदाहरण यो कार्यक्रम बनेकामा खुसी लागेको छ ।’ सुरेश राप्रपाबाट वडाध्यक्ष उम्मेदवार हुन् । व्यापारीहरूले गरेको फोहोर सरकारको कोष खर्चेर सफा गर्न लगाइएको भन्दै सदरमुकाम क्षेत्रका कतिपयले भने असन्तुष्टि पनि जनाएका छन् । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सन्तोष खतिवडा व्यापारीले गर्नेभन्दा बाहिरका क्षेत्रमा सरसफाइ भएको बताउँछन् । नगरपालिकाका ४ सय १० जनालाई रोजगार दिइएको छ ।


२५ दिने रोजगार

भोजपुरका तीन स्थानीय तहले ३ सय ४६ जनालाई रोजगारी प्रदान गरेका छन् । कार्यक्रमअर्न्तगत षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिकाले २५ दिनको रोजगारी दिएका हुन् । गाउँपालिकामा बेरोजगार र काम गर्न इच्छुक जनाउँदै फारम भरे पनि तोकिएको सय दिनसम्म पनि कुनै रोजगारमा संलग्न नभएका आधारमा छनोट गरी स्थानीयलाई रोजगारी प्रदान गरिएको हो ।


षडानन्द नगरपालिकाका १४ वटै वडाबाट १ सय ७९, साल्पासिलिछो गाउँपालिकाका २ र ३ वडाबाट ४० र अरुण गाउँपालिकाका ७ वटै वडाबाट १ सय २७ गरी कुल ३ सय ४६ जनालाई रोजगारी प्रदान गरिएको हो । उनीहरूलाई दैनिक ५ सय १७ रुपैयाँ तलब हुने गरी कृषि, सडक, वातावरण, वनलगायत क्षेत्रमा काम गर्ने अवसर दिइएको छ । तोकिएको १ सय दिनसम्मको समयमा पनि कुनै क्षेत्रमा नजोडिएपछि बेरोजगार फारम सूची भर्ने इच्छुकहरूलाई कार्यक्रमअन्तर्गत उनीहरूको योग्यताअनुसारकै क्षेत्रमा रोजगारी प्रदान गरिएको हो ।


आफ्नो दक्षताअनुसारको बाटो खन्ने काम पाएपछि षडानन्द नगरपालिका ३, खार्तम्छाका मणिराम भट्टराईले फुर्सदको समय उपलब्धिमूलक भएको बताए । त्यस्तै, षडानन्द नगरपालिका–८, तुङ्गेछाकी फूलकुमारी विकले स्वरोजगार कार्यक्रमले आफूजस्ता बेरोजगारीलाई कामप्रति उत्साह र हौसला मिलेको सुनाइन् । उनले भनिन्, ‘पहिल्यै यो कार्यक्रम आएको भए हाम्रा दाजुभाइ बिदेसिनुपर्ने थिएन ।’


तोकिएको समयमा पनि कुनै क्षेत्रमा नजोडिएपछि बेरोजगार फाराम सूची भर्ने इच्छुकलाई कार्यक्रमअन्तर्गत उनीहरूको योग्यताअनुसारकै क्षेत्रमा रोजगारी प्रदान गरिएको षडानन्दकी उपमेयर मेरिका राईले बताइन् । सरकारले जारी गरेको कार्यक्रम बेरोजगार जनताका लागि यो निकै उपलब्धिमूलक भएको उनले बताइन् ।


छनोटमा परेकालाई सार्वजनिक स्थानमा सरसफाइ, सडक, बाटोघाटो मर्मत, वृक्षरोपण गर्ने, सडकका नाली खन्ने, सफा गर्ने जस्ता सामुदायिक पूर्वाधारका काममा संलग्न गराइएको छ । यसबाहेक उनीहरूको कार्यदक्षताअनुसार आवश्यकता र कामको प्रकार हेरी विद्यालय, वन तथा वातावरणका क्षेत्रमा पनि रोजगारी प्रदान गरिएको साल्पासिलिछो गाउँपालिका प्रमुख महेश राईले बताए ।

प्रकाशित : असार १४, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?