१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कारागारमा नाचगान

धनकुटा — बन्द पर्खालभित्र कन्सर्ट र प्रहसन चलिरहेको थियो । मुस्किलले ५० जना अटाउने कोठा भरिभराउ थियो । कलाकारको प्रस्तुतिसँगै नाच्दै र गाउँदै साथ दिनेको कमी थिएन । 

कारागारमा नाचगान

हंस बाहिनी फिल्म शो आयोजनामा धनकुटा कारागारमा सोमबार सांगीतिक कार्यक्रम आयोजना गरिएको हो । कारागारभित्रको जीवन भोग्दै आएका कैदीबन्दीलाई सकारात्मक गोरेटोमा ल्याउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका संयोजक कृष्णप्रसाद नेपालले बताए ।


‘कारागार मानवअधिकार प्रवर्द्धनसम्बन्धी सचेतनामूलकका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘कैदीबन्दीको मानसिकतामा यस्ता कार्यले सकारात्मक परिवर्तन गराउन मद्दत मिल्ने आशा गर्न सकिन्छ ।’


उक्त अवसरमा गायिका गंगा गौतमले ‘सालको पात टपरी’ लगायत केही गीत प्रस्तुत गरिन् । यस्तै, रोहिता भट्टराई, कल्पना पाण्डे, शिव भट्टराई भोजपुरे, सुष्मा तिमल्सिना, ओम बस्नेत, निशु बस्नेतलगायतले गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।


कैदी जीवन भोग्दै आएका विक्रम लिम्बुको क्यारिकेचर स्थापित कलाकार जस्तै थियो । उनले नेता, मन्त्री तथा विभिन्न हास्य कलाकारको क्यारिकेचर प्रस्तुत गरेका थिए । अर्का कैदी सुनील तामाङले पनि कला प्रस्तुत गरे ।


दर्शकदीर्घामा रहेका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले कैदीबन्दीको जीवन अर्थपूर्ण बनाउन मनोरञ्जनात्मक क्रियाकलाप फलदायी हुने प्रतिक्रिया दिए । धनकुटा ६ स्थित जीर्ण घरमा सीमित कारागारलाई व्यवस्थित गरिने कार्कीले जानकारी दिए । आगामी आर्थिक वर्षभित्र सुविधासम्पन्न कारागार भवन बनाउने तयारी गरिएको बताए ।


२५ करोड रुपैयाँको लागतमा बन्न लागिरहेको भवनमा खेलकुद मैदान, पुस्तकालय, सांगीतिक वाद्यवादन तथा आवश्यक पूर्वाधार रहने प्रजिअ कार्कीले सुनाए । प्रदेश-१ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शनप्रसाद कोइराला, मन्त्रालयका शाखा अधिकृत विज्ञान भण्डारीलगायतले कैदीबन्दीका लागि नयाँ शैलीको कार्य भएको प्रतिक्रिया दिए ।


ताप्लेजुङबाट सुरु गरिएको कार्यक्रम पाँचथर, इलाम, धनकुटा, तेह्रथुममा आयोजना भएको आयोजकले जनाएको छ । यसपछि क्रमशः संखुवासभा, ओखलढुंगा, खोटाङ र सोलुमा आयोजना गरिने भएको छ ।

प्रकाशित : असार १०, २०७६ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?