ढुंगा उखननले बस्ती जोखिममा

कान्तिपुर संवाददाता

धनकुटा — पाख्रिबास नगरपालिकाले स्थानीयबासीसँग आवश्यक समन्वय नगरी वस्तिको बिचमा रहेको खानिबाट ढुंगा निकाल्न थालेको छ  । पाख्रिबास ५ घोर्लिखर्कस्थित शिकारीडाँडामा नगरपालिकाले ठेकेदारमार्फत दुई साता अघि ढुंगा उत्खनन् थालेपछि बस्ती जोखिममा परेको हो  ।

बस्तीसँगै जोडिएको करिब १० रोपनी क्षेत्रफलबाट ढुंगा निकाल्दा आसपासका झन्डै ८५ परिवार प्रभावित बनेका छन् । ढुंगाखानीको माथिल्लो भागका करिब ७२ र तल्लो भागका १३ घर उच्च जोखिममा रहेको स्थानीयले बताए ।


अधिकांश दलित समुदायको वस्ति रहेको उक्त क्षेत्रमा सञ्चालित ढुंगा उत्खनन् कार्य रोक्न दबाब दिए पनि ठेकेदारले अटेर गरेको स्थानीयको गुनासो छ । ढुंगा फुटाउने क्रममा स्थानीयले प्रयोग गर्ने बाटोसमेत भत्किएको छ ।


ढुंगाले लागेर गाईबस्तु घाइते भएको र लडेर एक किशोरीसमेत घाइते भएकी छन् । ढुंगा फुटाएको स्थान भएर विद्यालय जानेक्रममा स्थानीय १६ वर्षीय सिर्जना विश्वकर्मा लडेर हात भाँचिएको भीमबहादुर विश्वकर्माले बताए । नगरपालिका कार्यालयले सार्वजनिक जग्गामा ढुंगा उत्खनन गर्न स्वीकृति दिएको थियो । यसैबीच विराटनगर उच्च अदालत धनकुटा इजलासले दलित बस्तीलाई जोखिम हुने गरी ढुंगाखानी ठेक्का लगाउनुपरेको बारे पाख्रिबास नगरपालिकासँग लिखित जवाफ माग गरेको छ ।


विराटनगर उच्च अदालत धनकुटा इजलासका न्यायाधीश श्रीमणकुमार गौतम र वविता उप्रेतीको संयुक्त इजालासले स्थानीय बासिन्दासँग आवश्यक समन्वय नगरी विवादित अवस्था सिर्जना हुने गरी ठेक्कामार्फत ढुंगा फोर्ने कार्यको १५ दिनभित्र लिखित जवाफ अदालतमा पेस गर्न आदेश गरेको छ ।


यसैबीच जिल्ला समन्वय समितिका संयोजक टंकबहादुर चुवानको नेतृत्वमा उक्त क्षेत्रको स्थलगत अवलोकनमा एक टोली गएको छ । जोखिमपूर्ण रुपमा उत्खनन कार्य गरिएको चुवानले बताए । ‘ढुंगा निकालिसकेकाले अब यसको व्यवस्थापन गर्न जरुरी रहेको छ,’ उनले भने, ‘बस्तीको जोखिमबारे सबै पक्ष गम्भीर हुनुपर्ने देखिन्छ ।’


पाख्रिबास नगरपालिका ५ का वडाध्यक्ष गोपाल थापाले ढुंगा फुटाउन पहिले आवश्यक सबै प्रक्रिया पूरा गरेको दाबी गरे तर बस्ती जोखिम रहेको बारे उनले स्वीकार गरे । क्षति न्यूनीकरण गर्दै आवश्यक सहमतिबाट समस्या समाधान गर्नुपर्ने उनको तर्क छ ।

प्रकाशित : असार १०, २०७६ १०:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

परम्परागत सीप सिक्दै राजवंशी महिला

कान्तिपुर संवाददाता

बिर्तामोड — राधिका राजवंशी गृहणी हुन् । सधैं घरकै काममा व्यस्त हुने उनलाई हिजोआज हर्चना चोकमा भेटिन्छ । बिर्तामोड नगरपालिका ८ हर्चना चोकमा राधिका जस्तै अन्य २० राजवंशी महिला पनि सँगै भेटिन्छन् । बिहान १० बजे भेला हुने गरेका उनीहरु चार दिन यता जातीय परम्परागत खाना मुरै (भुजा) बताउने तालिम लिइरहेका छन् ।

राजवंशी समुदायमा भात पछि धेरै खाने खाना हो, भुजा। पहिला घरमै भुजा बनाएर खाने चलन थियो। दुई दशक यता राजवंशीका घरमा भुजा बनाउने क्रम हराएको छ। मेसिनबाट उत्पादन हुने भुजा बजारमा पाउन थालेपछि राजवंशीका महिलाले भुजा बनाउन छोडेका थिए। मेसिनले भन्दा घरमै उत्पादन हुने भुजा अर्गानिक तथा स्वादिष्ट हुने भएपछि अहिले फेरी राजवंशी महिला भुजा बनाउन तम्सिएका छन्। राजवंशीको पुरानो खाना भुजा बनाउन वडा कार्यालयले सहयोग गरेको छ।


परम्परागत खानाको संरक्षण तथा राजवंशी महिलालाई व्यवसायिक बनाउने उद्देश्यले वडा ८ कार्यालयले १५ दिने भुजा बनाउने तालिम आयोजना गरेको वडा सदस्य गंगा राजवंशीले जानकारी दिए। वडा कार्यालयको १ लाख ९० हजार रुपैयाँको सहयोगमा असार ६ देखि तालिम सुरु गरेको छ। तालिममा सबै गृहणी एवं बेरोजगार महिलाको सहभागीता छ। ‘भुजा राजवंशी जातिको लागि नभई नहुने खाना हो। त्यसैले यो खानाको संरक्षण संगसंगै राजवंशी महिलालाई भुजा बेचेर व्यवसायिक बनाउन सकिन्छ कि भनेर यो तालिमको आयोजना गरेका हौं,’ वडा सदस्य राजवंशीले भने।


तालिमका लागि १५ जना महिलाको आव्हान गरेकोमा २१ जना आएको उनले बताए। सहभागीलाई प्रशिक्षक मंगली राजवंशीले भुजा बनाउन सिकाइरहकी छन्। मंगलीले २५ वर्षदेखि भुजाको व्यापार गर्दै आएको बताइन्। ‘मेसिनले बनाएको भन्दा घरमा बनाएको भुजा सफा, अर्गानिक र स्वादिलो हुन्छ,’ उनले भनिन्, ‘मैले भुजा व्यापार गरेरै तीन जना छोराको पालनपोषण गरें।’ तालिमपछि भुजाको व्यापार थाल्ने वसन्ती राजवंशीले सुनाइन्। ‘गाउँमै मेरो सामान्य पसल छ। तालिमपछि घरमै भुजा बनाउन सकें भने यसैको व्यापार गर्ने सोचमा छु,’ उनले भनिन्।


झापामा राजवंशी, ताजपुरिया, गनगाईलगायत आदिवासी महिलाले घरमै बनाउने भुजाको माग उच्च छ। एक सयदेखि १ सय २० रुपैयाँ प्रतिकेजीसम्म बिक्री हुने भुजा सहर, बजारका होटल र माछा फ्राई खाजा पसलले खरिद गर्ने गर्छन्। राजवंशी समुदायका परिवारमा पनि दैनिक भुजा खाने पुरानो चलन छ। बिहान र दिउँसोको खाजाको रुपमा खाने भुजा चाड पर्वमा अनिवार्य जस्तै खाने गरिन्छ।


‘माइती घरमा भुजा बनाउन सिकेको थिएँ। विवाह भएपछि २८ वर्षसम्म भुजा बनाइनँ,’ सूर्यकुमारी राजवंशीले भनिन्, ‘यतिका वर्षपछि गाउँमै भुजा बनाउने तालिम पुनः लिन पाउँदा खुसी लागेको छ। व्यापार नै नगरे पनि आफ्नै घरका लागि भुजा अब आफै बनाउन सक्ने गरी तालिम लिइरहेकी छु।’


जिल्लाको दमक, गौरादह, गौरीगन्ज, शिवगन्ज, महाभारा, बिर्तामोड, चन्द्रगढी, भद्रपुर, धुलाबारीलगायत ग्रामीण बजारमा घरेलु भुजाको माग उच्च छ। मेसिनबाट उत्पादन हुने भुजाभन्दा करिब ४० रुपैयाँसम्म महँगो हुने भए पनि अर्गानिक र स्वादको हिसाबले स्थानीयले घरेलु भुजा नै मन पराउँछन्। ५ केजी चामलको ४ केजी भुजा उत्पादन हुने गरेको प्रशिक्षक मंगलीले जानकारी दिइन्।

प्रकाशित : असार १०, २०७६ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×