कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परम्परागत सीप सिक्दै राजवंशी महिला

बिर्तामोड — राधिका राजवंशी गृहणी हुन् । सधैं घरकै काममा व्यस्त हुने उनलाई हिजोआज हर्चना चोकमा भेटिन्छ । बिर्तामोड नगरपालिका ८ हर्चना चोकमा राधिका जस्तै अन्य २० राजवंशी महिला पनि सँगै भेटिन्छन् । बिहान १० बजे भेला हुने गरेका उनीहरु चार दिन यता जातीय परम्परागत खाना मुरै (भुजा) बताउने तालिम लिइरहेका छन् ।

परम्परागत सीप सिक्दै राजवंशी महिला

राजवंशी समुदायमा भात पछि धेरै खाने खाना हो, भुजा । पहिला घरमै भुजा बनाएर खाने चलन थियो । दुई दशक यता राजवंशीका घरमा भुजा बनाउने क्रम हराएको छ । मेसिनबाट उत्पादन हुने भुजा बजारमा पाउन थालेपछि राजवंशीका महिलाले भुजा बनाउन छोडेका थिए । मेसिनले भन्दा घरमै उत्पादन हुने भुजा अर्गानिक तथा स्वादिष्ट हुने भएपछि अहिले फेरी राजवंशी महिला भुजा बनाउन तम्सिएका छन् । राजवंशीको पुरानो खाना भुजा बनाउन वडा कार्यालयले सहयोग गरेको छ ।


परम्परागत खानाको संरक्षण तथा राजवंशी महिलालाई व्यवसायिक बनाउने उद्देश्यले वडा ८ कार्यालयले १५ दिने भुजा बनाउने तालिम आयोजना गरेको वडा सदस्य गंगा राजवंशीले जानकारी दिए । वडा कार्यालयको १ लाख ९० हजार रुपैयाँको सहयोगमा असार ६ देखि तालिम सुरु गरेको छ । तालिममा सबै गृहणी एवं बेरोजगार महिलाको सहभागीता छ । ‘भुजा राजवंशी जातिको लागि नभई नहुने खाना हो । त्यसैले यो खानाको संरक्षण संगसंगै राजवंशी महिलालाई भुजा बेचेर व्यवसायिक बनाउन सकिन्छ कि भनेर यो तालिमको आयोजना गरेका हौं,’ वडा सदस्य राजवंशीले भने ।


तालिमका लागि १५ जना महिलाको आव्हान गरेकोमा २१ जना आएको उनले बताए । सहभागीलाई प्रशिक्षक मंगली राजवंशीले भुजा बनाउन सिकाइरहकी छन् । मंगलीले २५ वर्षदेखि भुजाको व्यापार गर्दै आएको बताइन् । ‘मेसिनले बनाएको भन्दा घरमा बनाएको भुजा सफा, अर्गानिक र स्वादिलो हुन्छ,’ उनले भनिन्, ‘मैले भुजा व्यापार गरेरै तीन जना छोराको पालनपोषण गरें ।’ तालिमपछि भुजाको व्यापार थाल्ने वसन्ती राजवंशीले सुनाइन् । ‘गाउँमै मेरो सामान्य पसल छ । तालिमपछि घरमै भुजा बनाउन सकें भने यसैको व्यापार गर्ने सोचमा छु,’ उनले भनिन् ।


झापामा राजवंशी, ताजपुरिया, गनगाईलगायत आदिवासी महिलाले घरमै बनाउने भुजाको माग उच्च छ । एक सयदेखि १ सय २० रुपैयाँ प्रतिकेजीसम्म बिक्री हुने भुजा सहर, बजारका होटल र माछा फ्राई खाजा पसलले खरिद गर्ने गर्छन् । राजवंशी समुदायका परिवारमा पनि दैनिक भुजा खाने पुरानो चलन छ । बिहान र दिउँसोको खाजाको रुपमा खाने भुजा चाड पर्वमा अनिवार्य जस्तै खाने गरिन्छ ।


‘माइती घरमा भुजा बनाउन सिकेको थिएँ । विवाह भएपछि २८ वर्षसम्म भुजा बनाइनँ,’ सूर्यकुमारी राजवंशीले भनिन्, ‘यतिका वर्षपछि गाउँमै भुजा बनाउने तालिम पुनः लिन पाउँदा खुसी लागेको छ । व्यापार नै नगरे पनि आफ्नै घरका लागि भुजा अब आफै बनाउन सक्ने गरी तालिम लिइरहेकी छु ।’


जिल्लाको दमक, गौरादह, गौरीगन्ज, शिवगन्ज, महाभारा, बिर्तामोड, चन्द्रगढी, भद्रपुर, धुलाबारीलगायत ग्रामीण बजारमा घरेलु भुजाको माग उच्च छ । मेसिनबाट उत्पादन हुने भुजाभन्दा करिब ४० रुपैयाँसम्म महँगो हुने भए पनि अर्गानिक र स्वादको हिसाबले स्थानीयले घरेलु भुजा नै मन पराउँछन् । ५ केजी चामलको ४ केजी भुजा उत्पादन हुने गरेको प्रशिक्षक मंगलीले जानकारी दिइन् ।

प्रकाशित : असार १०, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?