बढी उत्खनन गरे २४ लाख जरिवाना

विनु तिम्सिना

विराटनगर — अनुमतिभन्दा बढी खोलाजन्य वस्तु उत्खनन गरेको भन्दै जिल्ला समन्वय समिति मोरङले एकीकृत भन्सार जाँच चौकी (आईसीपी) लाई जरिवाना गर्ने भएको छ । 

भारत सरकारको सहयोगमा विराटनगर महानगरपालिका १८ मा आईसीपी निर्माणका लागि निःशुल्क ढुंगागिट्टी उत्खनन् गर्ने अनुमति दिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारी र सहायक वन अधिकृतको अनुगमन समितिले वातावरण परीक्षण गरेर खोलाजन्य पदार्थ उत्खननकोअनुमति दिएको थियो ।

आईसीपीले एक लाख १० घनमिटर माग गरेकोमा पहिलो चणमा ६७ हजार ५ सय घनमिटर उत्खननको अनुमति दिइएको थियो । आईसीपी निर्माणका लागि बेलबारी नगरपालिकामा पर्ने चिसाङ खोलाको बीच भागबाट ६७ हजार ५ सय घनमिटर नदीजन्य पदार्थ निकाल्ने अनुमति दिइएको जिल्ला समन्वय समितिका सभापति नरेश पोखरेलले बताए ।

खोला खन्दा १ मिटर गहिराइमा हरेक ३ सय मिटर लम्बाइमा १०/१० मिटर छोडी प्राविधिकको रोहबरमा ६७ हजार ५ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्रालिलाई अनुमति दिइएको थियो ।

तर निर्माणका लागि अनुमति दिएभन्दा खोलाजन्य वस्तु बढी उत्खनन गरेपछि जिससले जरिवाना तिर्न पत्र काटेको हो । आईसीपीले अनुमतिभन्दा २३ हजार घनमिटर बढी उत्खनन गरेको समिति सभापति पोखरेलले बताए ।

‘प्राविधिकको रिपोर्टअनुसार ३३ हजार घनमिटर बढी उत्खनन गरेको देखियो,’ उनले भने, ‘प्राविधिकको टोलीले जेठ ३० गते आफ्नो रिपोर्ट बुझाएपछि हामीले जरिवाना तिर्न गत १ गते पत्र काटिसकेका छौं ।’ तर आईसीपीले भने जरिवाना रकम नतिर्ने संकेत गरेको छ ।

आईसीपीका इन्जिनियर अवधेर साहले जिल्ला समन्वय समितिबाट जरिवाना रकम उल्लेख गरी पठाएको पत्र प्राप्त भएको बताए । उनले उत्खनन गर्ने क्रममा केही बढी मेटेरियल आएको हुनसक्ने भन्दै जरिवानाको विषयमा भने छलफल पछि मात्रै भन्न सकिने बताए ।

उनले आईसीपी निर्माणका लागि निःशुल्क ढुङ्गा गिट्टी आपूर्ति गरिरहेको आईसीपीले जरिवाना तिर्ने विषयमा भने छलफल गर्नुपर्ने भन्दै पन्छिन खोजेको देखिन्छ । जिल्ला समन्वय समितिका उपप्रमुख प्रकाश साहको नेतृत्वमा भएको अनुगमनका क्रममा चिसाङ खोलाबाट १ लाख ५२ हजार घनमिटर बढी उत्खनन भएको पाइएको साहले बताएका थिए । जिल्ला समन्वय समितिमा प्राविधिक नभएका कारण बेलबारी नगरपालिका इन्जिनियर बालकृष्ण निरौला र सबइन्जिनियर योगेन्द्र गौतमले गरेको परीक्षणमा एक लाख ५२ हजार घनमिटर उत्खनन गरेको पाइएको उनले बताएका थिए ।

यसमा विवाद उत्पन्न भएपछि पुनः अनुगमन गरिएको र त्यसबेला भने प्राविधिक टोलीले ९० हजार ५ सय घनमिटर उत्खनन भएको बताएको थियो । तर अहिले आएर रिपोर्टमा भने निकै कम देखाइएको भन्दै उपप्रमुख साहले
असन्तुष्टि व्यक्त गरे ।

अनुगमन भएको लामो समयसम्म प्राविधिक टोलीले आफ्नो रिपोर्ट बुझाउन आनाकानी गरिरहेको अवस्थामा अनुगमनमा देखिएको भन्दा कम उत्खनन भएको कुरा रिपोर्टमा देखिनु शंकास्पद भएको उनले बताए ।

‘प्राविधिकको टोलीले सुरुमा रिपोर्ट तयार गर्न नै आनाकानी गर्‍यो, अहिले आएर कम रिपोर्ट पेस गर्यो,’ साहले भने, ‘अनुगमनका बेला फिल्डमै प्राविधिकको टोली एक लाख ५२ हजार घनमिटर बढी उत्खनन गरेको बताएको थियो । कसको दबाबमा यस्तो भयो केही बुझ्न सकेको छैन ।’

प्रकाशित : असार ९, २०७६ १०:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भिरमा फलामे बाटो

भीरमा ३ सय मीटर लामो सुरक्षित पदमार्ग बनेपछि स्थानीय उत्साहित
अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा जोखिमपुर्ण लाक्याप भिरमा फलामे पदमार्ग बनाएको छ । जिल्लाको विकट तेम्बाथान् गाउँ जोड्ने लाक्याप भिरमा नेपेमेशाल पर्यटकीय पदमार्ग योजनाअर्न्तगत (३ सय मिटर )लामो फलामे पदमार्ग बनाइएको हो । 

प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको प्राविधिक सहयोगमा पर्यटकीय पदमार्ग, नेपेमेशालमा दुई कोठेको दुई वटा पाहुना घरदेखि सार्वजनिक शौचालय बनाइएको जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले बताए । ‘जुगल हिमाल, पवित्र मानिने नेपेमेशालमा आउने पर्यटक र स्थानीयलाई आउजाउमा सहज होस भनेर लाक्याप भिरमा पदमार्ग बनाइएको हो,यसले जुगलको पर्यटनमा ठुलो सहयोग पुग्नेछ,’उनले भने ।

वर्षौदेखि लाक्याप भिरमा झुण्डिएर यात्रा गरिरहेका स्थानीयले सुरक्षित फलामे पदमार्ग पाएपछि पर्वजस्तै गरी मनाएको उनले सुनाए । ‘चाँडै तेम्बाथान्सम्मको सडकको लागि पहल गर्दैछौ, पर्यटकीय योजनाअर्न्तगत कामलाई गति दिएका छौ,’गाउँपालिका महासंघका अध्यक्ष रहेका श्रेष्ठले भने ।

बलेफी गाउँपालिकाको जलविरे , जुगलको बराम्ची हुँदै अम्बाखर्कसम्म मात्रै कच्ची सडक पुगेको छ । त्यो भन्दा उता लाक्याप भिर र निमडोमा जंगलको पैदल हिड्नुबाहेक विकल्प छैन् । ‘अब लाक्याप भिरमा पहिलेजस्तो डराएर हिड्न पर्दैन्,पदमार्गले स्थानीयलाई आउजाउ गर्न सहज बनायो,’जुगल गाउँपालिका वडा ३ तेम्बाथान्की सोनङ्मु शेर्पाले भनिन् । अझैसम्म मोटरबाटोले नछोएको कारणले गर्दा तेम्बाथान्मा पुग्न एकदिन लाग्ने उनले गुनासो गरिन् ।

लामो बाटो भिरमा हिड्न गाह्रो हुने भएकाले पनि बिरामी हेलिकप्टर चार्ट गरेर लैजाने गरेको उनको अनुभव छ । ‘अब सामान्य बिरामी भए यही पदमार्ग हुँदै बोकेर ल्याउन सजिलो हुने भयो,’उनले भनिन् । दिनभर पैदल हिड्न परेपनि भिरमा सुरक्षित पदमार्ग बनेपछि स्थानीय उत्साहित छन् ।

यहाँको लाक्याप जंगल कटिसकेपछि नेशमखोला र त्यो पार गरेपछि निमाडोमाको भिर दिनभर हिडेपछि तेम्बाथान् पुगिन्छ । गुम्बाथान्बाट दुई दिन लगाउनुभन्दा भिरको बाटो एकदिनले छोटो पर्ने भएकाले सबै यही बाटो हुँदै तेम्बाथान् जान्छन् । तीन नगर र आठ वटा गाउँपालिकाको अधिकाशं गाउँटोलमा प्राया सबैतिर सडक संञ्जाल पुगिसकेको छ । स्थानीय तहले विशेष प्राथामिकतामा सडकलाई राखेर विकासे गतिविधि तिव्र बनाउँदै लगेका छन् ।

तर, आहिलेसम्म जुगल गाउँपालिकाको तेम्बाथान्मा मोटरबाटो नपुग्दा स्थानीय यसरी भिरको यात्रा गर्दै हिड्न बाध्य छन् । ‘माथिल्लो गाउँको बाटो हुँदै गए त दुई दिन लाग्छ त्यही भएर सबै यही छोटो भिरको बाटो आउने गर्छन्,’ जुगल गापाका गुम्बाकामिङ्मार लामाले भने ।

प्रकाशित : असार ९, २०७६ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्