कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मुसहर बस्तीमा खानेपानी अभाव, ट्युबवेल जोडिदिन माग

लाइन विस्तारका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले क्रमशः सबै वडामा विस्तार गर्ने इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमको आश्वासन

इटहरी — इटहरी उपमहनगरपालिका १६, उब्धिका मुसहर समुदायले ट्युबवेलको माग गरेका छन् । खानेपानीको समस्याको विषयमा पटकपटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीयको गुनासो छ । 

मुसहर बस्तीमा खानेपानी अभाव, ट्युबवेल जोडिदिन माग

१५ घरधुरी रहेको वडामा ३ सार्वजनिक ट्युबवेल गाडिएका छन् । पिउने पानी, लुगा धुने, भाडा धुने सबै प्रयोजनका लागी ट्युबवेल प्रयोग गरिने गरेको छ । एक ट्युबवेल बराबर ५ प्रतिपरिवारले प्रयोग गर्दा वरिपरि दुर्गन्ध फैलिएको छ । जसका कारण स्थानीयको स्वास्थ्य जोखिममा छ । पानी थाप्न लाइन लाग्नुपर्ने अवस्था रहेको स्थानीय सुशीला ऋषिदेव बताउँछिन् ।


सरकारले सबैको घरमा ट्यबेल राखिदिए समस्या समाधान हुने उनको भनाइ छ । ‘नेताहरूले बाटो, घर, कल दिन्छु भन्दै भोट मागेका थिए । तर केही गरेन,’ उनले गुनासो पोखिन् । उनका अनुसार पानी थाप्ने क्रममा दैनिक झगडासमेत हुने गरेको छ । ट्यबवेलको माग गरे पनि माग सुनुवाइ नभएको स्थानीय स्थानीय रूपा ऋषिदेवको भनाइ छ । उनले भनिन्, ‘पानी माग्दामाग्दै मानिसको मृत्यु भइसक्यो । अरू कहाँ माग्न जानु ।’


ट्युबवेलको अति आवश्यक भए पनि स्थानीयबीच नेतृत्व अभाव हुँदा सम्बन्धित पक्षलाई गम्भीर रूपमा ध्यानाकर्षण गराउन सकिएको उनको भनाइ छ । ‘अगाडि बढ्यो भने एक्लो हुन्छ । त्यसैले समस्या जस्ताको त्यस्तै छ ।’ उनले भनिन् । बस्तीका अधिकांश मजदुरी गरी जीवन निर्वाह गरिरहेका छन् ।


‘आज के खाने, भरै के खाने भन्ने अवस्था छ । कुन पैसाले ट्युबवेल गाड्नु ?’ सन्तोषी ऋषिदेवले भनिन् । वडा १६ का अध्यक्ष भने वडाको बजेट न्यून भएकाले आवश्यक ट्युबवेल वितरण गर्न नसकिएको बताए । ‘स्थानीयको समस्यालाई मध्यनजर गर्दै इटहरी खानेपानी संस्थानमा १० ट्युबवेल माग गरेका छौं,’ उनले भने, ‘समाधानका लागि सक्दो पहल गरिरहेका छौं ।’


उनका अनुसार ट्युबवेल वितरणपछि स्थानीयले मर्मत सम्भार नगर्दा यस्तो समस्या आएको बताए । ‘सामान्य मर्मतसमेत स्थानीय गर्न मान्दैन । कसले बनाइदेला भनेर कुरेर बस्ने बानी छ,’ उनले भने ।


यता, इटहरी उपमहानगरपालिका उप–प्रमुख लक्ष्मी गौतमले भने वडा १६ मा ट्युबवेलको समस्याबारे जानकारी नआएको बताइन् । ‘वडा ७ र ८ बाट ट्युबवेलको माग भएको थियो । तत्काल ट्युबवेल वितरण गर्‍यौं ।’ उनले भनिन्, ‘तर वडा १६ कार्यालयले भने यस विषयमा जानकारी गराएको थिएन । अब समस्याबारे तत्काल व्यवस्थापन गर्नेछौं ।’


नगरले खानेपानी व्यवस्थापनको विषयमा चालु वर्षमा मात्र २० लाख बजेट विनियोजन भएको थियो । उनका अनुसार खानेपनीको विषयमा छुट्टिएको बजेटमध्ये आधा प्रतिशत मात्र खर्च भएको छ । ‘आधा बजेट मात्र खर्च भएको छ । त्यसैले छिट्टै समाधान गर्नेछौं,’ उनले भनिन् ।


नगरका ९ वटा वडामा अझै खानेपानीको लाइन विस्तार हुन सकेको छैन । खानेपानी लाइन विस्तारका लागि ठूलो बजेट खर्च हुने भएकाले क्रमशः सबै वडामा लाइन विस्तार गर्दै जाने उनले बताइन् ।

प्रकाशित : असार ८, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?