उद्यमी महिलालाई कर शिक्षा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्यमी महिलालाई कर शिक्षा

अर्जुन राजवंशी

(बिर्तामोड) — बिनु कट्टेल थपलिया नारी फिटनेस सेन्टर सञ्चालक हुन् । तीन वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आए पनि थपलियालाई करसम्बन्धी ज्ञान छैन । थपलिया जस्तै नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली पनि व्यावसायिक करका विषयमा अनविज्ञ छिन । उनीहरूजस्तै समस्या बिर्तामोड नगरपालिकाका करिब ३ सय महिला उद्यमीमा रहेको छ ।

लामो समयदेखि विभिन्न उद्योग व्यवसाय गर्दै आए पनि त्यसबाट राज्यप्रतिको आफ्नो दायित्व र राज्यबाट प्राप्त हुने सेवा सुविधाका बारेमा उनीहरूलाई पर्याप्त जानकारी छैन । उद्यमशील महिला संघले शुक्रबार बिर्तामोडमा महिला उद्यमीलाई भेला गरेर करसम्बन्धी जानकारी दिएको छ । वर्षौंदेखि व्यवसाय गर्दै आए पनि अधिकांश महिलाले आफ्नो व्यवसायलाई दर्ता प्रक्रियामा समेत लगेका छैनन् । दर्ता प्रक्रियामा नजाँदा राज्यबाट पाउने छुट र सुविधा प्राप्त गर्न नसकिरहेको संघकी महासचिव सावित्रा दाहालले बताइन ।


‘व्यवसाय गर्दा नाफा कमाउन मात्र केन्द्रित हुनु भएन । व्यवसायीले राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्नुपर्छ,’ बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाईले भनिन, ‘राज्यको कानुनअनुसार कर तिर्ने र कर तिरेपछि राज्यबाट पाइने सेवा सुविधा लिन पनि महिला उद्यमी पछि पर्नु हुँदैन ।’ कर बाध्यता नभई व्यवसायीले कर्तव्य ठानेर तिर्नुपर्ने प्रसाईको सुझाव थियो । उनले मुलुकको नियम भन्दैमा जथाभावी नभई व्यवसायीको हितमा हुनेगरी करको दर र दायरा तय गर्नुपर्ने धारणा राखिन । संघकी अध्यक्ष विमलीले जिल्लामा पटकपटक कर बारे छलफल कार्यक्रम भए पनि महिलाको उपस्थिति नहुने गरेकाले महिला करबारे अनविज्ञ रहँदै आएको बताइन । ‘व्यवसाय गर्नेलाई करका विषयमा जानकारी राख्न अनिवार्य छ । तर, महिलालाई त्यसबारे कुनै जानकारी नै हुँदैन,’ विमलीले भनिन, ‘करबारे अझै पनि जानकारी नदिने हो भने धेरै महिला उद्यमी विभिन्न समस्यामा पर्न सक्ने अवस्था आउन लागेको छ ।’


अर्जुनधाराकी उद्यमी सरु बुढाथोकीले महिलाले गर्ने व्यवसायमा करको विशेष सहुलियत हुनुपर्नेमा जोड दिइन । समयमै व्यवसाय दर्ता गर्दा, नियमित कर तिर्दा तथा व्यवसाय छोड्नुपर्दा सम्बन्धित कार्यालयमा खारेज नगरी छोडदा धेरै महिला दिदीबहिनीले दु:ख पाएकोबारे छलफल भएको थियो । पछिल्लो समय करको दायरा र दर वृद्धि हुँदा महिला व्यवसायी थप मारमा परेको व्यवसायी सुवास भट्टराईले बताए । आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यले करको विभिन्न पक्षबारे जानकारी दिएका थिए ।


प्रकाशित : असार ७, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

हुलाकी सडकको रुट परिवर्तन

तराईका जिल्ला जोड्ने लाइफ लाइनका रूपमा हेरिएको हुलाकी सुरु भएको १४ वर्ष बित्न लाग्दा पनि मोरङमा निर्माण हुन सकेको छैन । विराटनगरको बरगाछी हुँदै सुनसरी जोड्ने सडकलाई अघोषित रूपमा हुलाकी राजमार्ग बनाइएको प्रति स्थानीय असन्तुष्ट छन्
देवनारायण साह

(मोरङ) — इटहरीस्थित हुलाकी राजमार्ग आयोजना इकाईले सुनसरीमा हुलाकी सडक छोडेर अर्कै सडक निर्माण गर्न थालेको छ । सुनसरीस्थित २६ किलोमिटर हुलाकी सडक विराटनगरस्थित भठ्ठीमोड हुँदै जाने केसलीया–चिमडी–लौकही–फूलचौकी सडक भए पनि आयोजनाले विराटनगरको बरगाछी हुँदै जाने केसलीया–चिमडी–लौकही सडक गत वर्षदेखि निर्माण गरिरहेको छ ।

सुनसरीस्थित हुलाकीमार्ग १ अर्ब १६ करोड ७१ लाख ३० हजार ५ सय ४१ रुपैयाँमा ठेक्का लिई शर्मा बिकोइ–सूर्य जेभि काठमाडौंले निर्माण गरिरहेको हो ।

चालु वर्षमा हुलाकी सडक परियोजनाले मोरङको पूर्वमा रतुवामाई नदीदेखि विराटनगरको हाटखोलासम्म मात्रै सडक निर्माणका लागि टेण्डर आहान गरेको छ । एकातिर हाटखोलासम्म मात्रै आयोजनाले सडक निर्माणका लागि टेन्डर आहान गर्ने र अर्कोतिर सुनसरी खण्डमा बरगाछी हुँदै जाने सडकलाई हुलाकी सडकका रूपमा निर्माण गरिरहेबाट हुलाकी सडकको अघोषित रूपमा रुट परिवर्तन भइसकेको स्थानीय मो. नसरुलको भनाई छ । कुनै पनि सडकको रुट परिवर्तनका लागि मन्त्रीपरिषदको बैठकले मात्रै गर्न सक्ने कानुनी व्यवस्था छ । तर यहाँ मन्त्रीपरिषदको निर्णयबिना नै आयोजनाले रुट परिवर्तन गरेर सडक निर्माण गरिरहेको हो ।

‘राजमार्ग सडक बाङ्गोटिङ्गो हुनु हुँदैन तर विराटनगरमा हुलाकी रजामार्गलाई सर्प हिडे जस्तो बाङ्गोटिङ्गो बनाउन खोजिएको छ,’ नसरुलले भने, ‘सडकमा पर्ने घर भत्किने र जग्गा दलालको दबाबमा आयोजना, सडक विभाग र मन्त्रालयले हुलाकी राजमार्गको रुट परिवर्तन गर्न मिल्दैन ।’ उनले जबजरजस्ती रुट परिवर्तन गरे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । हुलाकी सडक आयोजना इकाई इटहरीका प्रमुख विजयकुमार महतोले चालु वर्षमा मोरङस्थित ४६ किलोमिटर हुलाकी सडकमध्ये पूर्वमा रतुवामाई नदीदेखि हाटखोलासम्म सडक निर्माणका लागि आयोजना टेन्डर आहान गरेको बताए । चालु वर्षमा नै ठेक्का सम्झौता भई आउँदो वर्षबाट निर्माण सुरु हुने उनको भनाई थियो । हाटखोलादेखि केसलिया नदीसम्मको विराटनगर बजार क्षेत्रमा साइड क्लियर नभएकाले ठेक्का हुन नसकेको महतोले बताए । साइड क्लियर नगरी टेन्डर आहान गर्न नमिल्ने भएकाले आयोजनाले हाटखोलासम्म मात्रै टेन्डर गरेको उनको भनार्ई थियो । उनले स्थानीयले रुट परिवर्तनका लागि पहल गरिरहेको स्विकारे । ‘हुलाकी राजमार्गको रुट परिवर्तन कसैले पहल गर्दैमा भइहाल्दैन,’ उनले भने, ‘यसका लागि मन्त्रीपरिषदबाट निर्णय हुनु पर्छ ।’ केही स्थानीयले विराटनगरको हाटखोलाबाट सरस्वतीटोल–शनीहाट–तीनपैनी–बरगाछी हुँदै जाने केसलिया–सुनसरीको चिमडी–लौकही सडकलाई हुलाकी सडकका रूपमा विकास गर्न पहल भने गरिरहेका छन् ।

विराटनगरस्थित भठ्ठीमोड हुँदै जाने केसलिया–चिमडी–लौकही–फूलचौकी हुलाकी सडकको केसलिया–चिमडी खण्ड सडक डिभिजन कार्यालय विराटनगरले निर्माणका लागि ठेक्का प्रक्रिया पूरा गरिसकेको महतोले बताए । ‘आयोजनाको ठेक्केदारले विराटनगरको बरगाछी हुँदै जाने केसलिया–चिमडी–लौकही सडक निर्माण गरिरहे पनि हुलाकी राजमार्ग भने विराटनगरस्थित भठ्ठीमोड हुँदै जाने केसलिया–चिमडी–लौकही–फूलचौकी सडक नै हो, सडकको रुट परिर्वतन हाम्रो अधिकार क्षेत्रमा पर्दैन,’ उनले भने । तराई मधेसको जिल्ला जोड्ने लाइफ लाइन हुलाकी राजमार्ग निर्माण सुरु भएको १४ वर्ष बित्न लाग्दा पनि निर्माण कामले गती लिएको छैन । पूर्वको ४ जिल्ला झापामा ४८, मोरङमा ४६, सुनसरीमा २६ र सप्तरीमा ४६ गरी १ सय ६६ किलोमिटर हुलाकी सडकमध्ये अझै ७२ किलोमिटरमा निर्माण काम सुरु हुन सकेको छैन । अर्थमन्त्री युवराज खतिवडाले बुधबार ०७६/७७ का लागि प्रस्तुत गरेको बजेटमा ३ सय ५० किलोमिटर हुलाकी सडक कालोपत्रेका लागि १३ अर्ब ६३ करोड विनियोजन गरेका छन ।

०६२/६३ को राजनीतिक परिवर्तनपछि हुलाकी राजमार्गको निर्माण सुरु भएको हो । सप्तरीदेखि झापासम्मको १ सय ६६ किलोमिटर सडकको अधिकांश खण्डमा पैदल यात्रा गर्न पनि कठिन छ । यो सडक सप्तरी, मोरङ र झापाका राजविराज, विराटनगर र भद्रपुर जोड्ने छोटो दूरीको मार्ग हो ।

प्रकाशित : असार ७, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×