१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अत्यधिक गर्मीले जनजीवन प्रभावित

विनु तिम्सिना

(विराटनगर) — इलामका दिलाराज गोर्खाली विराटनगर आएको एक महिनामात्रै भयो । उनी एक छोरा र श्रीमतीसहित अटो रिक्सा चलाउन विराटनगर झरेका हुन् । तीन दिनदेखि बढेको गर्मीमा उनले अटो चलाउन सकेका छैनन् । शुक्रबार पनि गर्मीका कारण अटो चलाउन नसकेर उनी दिनभर शितल छहारीमा बसी रहे ।

अत्यधिक गर्मीले जनजीवन प्रभावित

'इलामजस्तो जाडो ठाउँबाट आएको मलाई त विराटनगरको गर्मीले हैरान नै बनायो,’ उनले भने, ‘ठूलो सहर भनेर अटो चलाउन आएको यहाँ त धेरै पो गर्मी हुने रैछ ।’ खर्च कटाएर दैनिक एक हजार आम्दानी गर्ने गोर्खालीले बिहीबार ५ सय मात्रै कमाइ भएको बताए । शुक्रबार त झन् अटो चलाउन नै नसकेको उनले बताए ।

यस्तै विराटनगर १५ रानीका जयराम साहले रिक्सा चलाउन थालेको लगभग २० वर्ष भयो । विराटनगरका सिटी रिक्सा र अटोले रिक्सालाई विस्थापित गराउन लागेको अवस्थामा गर्मीले झन् काम गर्नै नसक्ने बनाएको साहले बताए । दैनिक ५ सय आम्दानी गर्ने उनले दुई दिनदेखि त रिक्सा चलाउन नै नसकेको बताए । ‘अटो र सिटिले धेरै बजार खाएको छ,’ उनले भने, 'कमाइ नै खासै हुँदैन त्यसमा पनि तीन दिनदेखि बढेको गर्मीले त काम गर्न सकेकै छैन ।’


विराटनगरमा भएका रुख बिरुवा पनि काटेकाले छहारी कतै नभेटिने उनले गुनासो गरे । 'पहिला पहिला त विराटनगरमा धेरै रुखहरु थियो, सवारीलाई गन्तव्यमा पुर्‍याएर एक छिन छहारीमा शितल खाएपछि फेरि हिँड्न सकिन्थ्यो,’ उनले भने, 'अहिले त विराटनगरमा रुख बिरुवा भेट्टाउनै मुस्किल छ ।’


पूर्वी तराईमा तीन दिनदेखि बढेको गर्मीले जनजीवन अस्तव्यस्त छ । वायुमण्डल सफा रहँदा सूर्यको चर्को तापक्रमले तराईको जनजीवन प्रभावित बनेको छ । वायुमण्डलीय तापक्रम वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । मजदुर र विद्यार्थीहरु गर्मीका कारण धेरै समस्यामा परेका छन् ।


शुक्रबार विराटनगरको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन् । यस्तै बिहीबार ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै तीन दिन विराटनगरमा ठूलो वर्षा हुने सम्भावना कमै रहेको उनले जानकारी दिइन् ।


गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् । नियमित विद्युत् आपूर्ति नहुँदा र विद्युतको भोल्टेज कम हुँदा बढ्दो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन् ।


गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ । नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भए पनि पछिल्लो एक सातामा पानी परेको छैन । मनसुनको कतै कुनै अत्तोपत्तो छैन ।


गर्मीका कारण दही, चिसो पेय पदार्थ, खर्बुजा, स्याउ, आइसक्रिम लगायतका सामाग्रीको बिक्री भने बढेको छ । विराटनगरस्थित गुद्री बजारमा फलफूलको व्यापार गर्दै आएका दिनेशकुमार साहले तीन/चार दिनयता खर्बुजाको बिक्री बढेको बताए । अन्य समयमा दैनिक ४०/५० वटा खर्बुजा बिक्री हुने गरेकोमा अहिले दैनिक सय वटासम्म बिक्री भइरहेको उनले बताए ।

सन् २०१६ अप्रिल ९ तारिखमा विराटनगरको तापक्रम ४० दशमलव ५ डिग्रिसम्म पुगेको थियो । त्यसभन्दा माथि विराटनगरको तापक्रम पुगेको रेकर्ड छैन ।


अत्याधिक गर्मी भएपछि छहारीमा विश्राम गर्दै । विनु तिम्सिना/कान्तिपुर


प्रकाशित : जेष्ठ ३१, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?