ताल विकासमा एक भए सत्ता–प्रतिपक्ष

जितेन्द्र साह

सुनसरी — संसद्मा सत्तापक्षमा कम्युनिस्ट र विपक्षमा कांग्रेस छ । तर सुनसरीको बर्जु गाउँपालिकामा यी दुवै दल एकै कित्तामा उभिएका छन् । विकासमा हातेमालो गरिरहेका छन् ।

गाउँपालिका ६ चिमडी बस्तीस्थित झन्डै १ सय ५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जु ताल क्षेत्रमा हालै कांग्रेस नेता विजयकुमार गच्छदारले भ्युटावर शिलान्यास गरेपछि यो सद्भाव प्रस्टै देखियो ।

विराटनगरदेखि ९ किमि पश्चिममा पर्छ यो ताल । यहाँ भ्युटावर बन्ने भएपछि बर्जु १ का नेकपा प्रदेश १ कमिटी सदस्य सुरेन्द्र मेहता निकै खुसी छन् । ‘मुलुककै पहिलो नम्बरको पर्यटकीय थलो बनाउने हाम्रो योजना छ,’ उनले भने, ‘यसका लागि यहाँ कांग्रेस र कम्युनिस्टका नेता–कार्यकर्ता एक छौँ ।’


दुवै दलको सहकार्यमा यो स्थानलाई राष्ट्रिय सम्पदा सूचीमा पार्ने प्रयास भइरहेको उनले बताए । दुई आर्थिक वर्षभित्र निर्माण सक्ने भनिएको भ्युटावरका लागि गच्छदारले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ५० लाख रुपैयाँ दिइसकेका छन् । निर्माणमा करिब ६ करोड रुपैयाँ लाग्ने बर्जु ताल सिमसार विकास तथा संरक्षण समितिले जनाएको छ ।

दुई महिनाअघि प्रधानमन्त्री केपी ओलीले यो ताल क्षेत्रको अनुगमन भ्रमण गरी गुरुयोजना अध्ययनका लागि प्राविधिक टोली खटाएका थिए । प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि यहाँ दुईपटक आइसकेका छन् । ‘प्रधानमन्त्री टोलीको अन्तिम रिपोर्ट पनि चाँडै आउने संकेत पाएका छौँ,’ मेहताले भने, ‘संघीय सरकारले पनि बजेट दिन्छ ।’

गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी कांग्रेसका हुन् । तर उनी कम्युनिस्ट एवं मधेसी दलसँग छलफल नगरी केही गर्दैनन् । विरोध मात्र गर्ने पूर्वाग्रही मानसिकता एवं परम्परागत राजनीतिक सोच नत्यागे कहिल्यै विकास नहुने उनको भनाइ छ । ‘आज म गाउँपालिका अध्यक्ष छु, भोलि अरूदलका बन्लान्,’ उनले भने, ‘नागरिक हितका काममा जहिल्यै मेरो प्रयास हुन्छ ।’

गाउँपालिकाको अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको पहलमा ताललाई पुनर्जीवन दिन स्थानीय लागिपरेको समितिका सचिव बिलट सिंह श्रेष्ठको भनाइ छ । ‘बजेट आउने क्रमसँगै काम अघि बढेको छ, अर्को वर्ष जलकुम्भी सफा भएर ताल सफा देखिनेछ,’ उनले भने ।

तालको विकासमा दलहरूको ऐक्यबद्धता देखेर स्थानीय दंग छन् । ६९.४३ वर्गकिमि क्षेत्रफल र ३१ हजार १ सय ७८ जनसंख्या भएको यो थारू, मधेसी, जनजाति र दलित बहुल गाउँ हो । ‘पहाडको विकास पनि पर्यटकले गर्दा भएको हो, मिलेर लागेपछि असम्भव केही छैन,’ बर्जु १ का युवा गोविन्द गुरुङले भने । तालमा आगन्तुक बढेपछि व्यवसाय र रोजगारीमा पनि वृद्धि हुने बर्जु २ भीमपुर टोलका किराना व्यवसायी राजकुमार रौनियारले बताए ।

‘विराटनगरदेखि तालसम्म फराकिला सडक, कल्भर्ट र पुल बन्ने क्रम धमाधम छ,’ उनले भने, ‘कच्चीबाट पक्की सडक हुनेबित्तिकै परिवार लिई घुमफिरका लागि आउन सहज हुन्छ ।’

थरीथरीका चरा हेर्न पाइने भएकाले गर्मीभन्दा जाडोमा घुम्न आउनेको संख्या बढी रहेको श्रेष्ठले बताए । दैनिक औसत सय जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ । यहाँ नौका विहार, चिल्ड्रेन पार्क, चरा अवलोकन स्थान र पिकनिक स्पट छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हिंसाका घटनामा मिलापत्र

निर्मला खडायत

धनगढी — जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलमा नजमा खान (नाम परिवर्तन) मलिन अनुहार लाएर भित्र पसिन् । ४ वर्षअघि धनगढीमा मजदुरी गर्ने एक युवकसँग उनको विवाह भएको थियो । अहिले ४ सन्तान छन् । अर्को बच्चा गर्भमा हुर्किरहेको छ । इद मनाउन ससुराली गएका उनका श्रीमान्ले नजमाकी आफ्नै बहिनी भगाएर लगे । 

केही समयपछि महिला सेलकै कक्षमा अर्को हूल पस्यो । कञ्चनपुरका १८ वर्षीय युवकले दाङबाट विवाहित महिलालाई भगाएर ल्याएको प्रकरणमा उक्त समूह प्रहरी कार्यालय पुगेको थियो ।

माइतीबाट दाइको घर जान्छु भनेर आएकी महिला र घरबाट भारत रोजगारीका लागि जान भनी निस्केका एक युवा भागेर जाने योजनामा रहेका बेला आफन्तले पक्रेर ल्याएका रहेछन् ।हिजोआज यस्तै गुनासा र उजुरीको संख्या महिला सेलमा बढेको छ । दैनिक १० वटासम्म उजुरी आउने गरेको महिला सेलकी एक प्रहरीले बताइन् ।

यस्ता उजुरी सकभर मिलापत्रमा टुंग्याइने गरेको छ । महिला सेलका प्रहरी दुवै पक्षलाई झिकाएर सम्झाउने, उनीहरूका अभिभावकसँग छलफल गरेर समस्या समाधान गर्नतर्फ लाग्छन् । धेरैजसो घरायसी झगडाबाट उत्पन्न सम्बन्धविच्छेदसम्मको अवस्था मिलापत्रमा टुंग्याउने गरिएको उनीहरू बताउँछन् ।

कैलाली जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आर्थिक वर्ष ०७२/७३ मा परेका १ सय ८५ उजुरीमध्ये १ सय ५ वटा मिलापत्रमा टुंगो लगाइएको छ । जसमा २० जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ । ६० जना सम्पर्कमा नै आएनन् । ०७३/७४ मा १ सय ९७ उजुरी परे । तीमध्ये १ सय ३२ उजुरीमा मिलापत्र गरियो ।

२२ जनालाई मात्र सम्बन्धित निकाय पठाइएको प्रहरी कार्यालयले जनाएको छ । ४३ जना सम्पर्कमै आएनन् । यस्तै आर्थिक वर्ष ०७४/७५ का १ सय ७३ उजुरीमध्ये १ सय १३ वटामा मिलापत्र भएको कार्यालयले जनाएको छ । २३ जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ । ३७ जना सम्पर्कमा नै आएका छैनन् ।

चालु वर्ष ०७५/७६ को हालसम्म परेका ६४ उजुरीमा ३९ वटा मिलापत्रमै टुंग्याइएको छ । १२ जनालाई मात्र सम्बन्धित निकाय पठाइएको छ । ६ जना सम्पर्कमा नै आएका छैनन् । महिला सेलमा आउने यस्ता घटना अधिकांशमा मेलमिलाप हुने गरेको छ । जघन्य प्रवृत्तिको घटनामा मात्र अनुसन्धान गरेर मुद्दा चलाइन्छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×