३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

खुम्बुक्षेत्रमा दोस्रो अवतारी लामा

सोलुखुम्बु — दावा गेल्जेन र टासीफुटी शेर्पाका चार वर्षको अन्तरालमा दुई सन्तान भए, पहिलो छोरी र दोस्रो छोरा । दूधकोसी नदी किनारमा होटल व्यवसाय गर्दै आएका दावागेल्जेनले छोरा जन्मिएपछि ‘दुई सन्तान ईश्वरको बरदान’ झैं ठाने ।

छोराको नाम लामाले न्वारानामा सोनामफिन्जु राखिदिए । अढाई वर्षको उमेरमा बोल्न थालेका उनले बाटोमा हिँड्ने बटुवालाई आफ्नो गाउँघरको खबर सोध्न थाले । कतिपयलाई धेरै पहिलेदेखि प्रष्ट चिनेझैं गरी नामैले बोलाउँथे ।


बाटो हिँड्ने बटुवा पनि छक्क पर्थे । छोराको अनौठो व्यवहारले दावागेल्जेन र टासी बेलाबेलामा अचम्म मान्थे । ‘अलि प्रष्ट बोल्दै गएपछि त मेरो घर यो होइनसम्म भन्न थाल्नुभयो ।’ दावागेल्जेनले भने, ‘बिस्तारै छिमेकी र अन्य सबैले सोनामफिन्जु साधारण बालक नभएको अनुमान गरे ।’ उनको क्रियाकलापको सन्देश रोल्वालिङ गुम्बासम्म पुग्यो । गुम्बाका मान्छेले आएर अनुसन्धानपछि अवतारीका रूपमा जन्म भएको बताए ।


खुम्बुपा साङल्हामु गाउँपालिका ३ जोरसल्लेका यी बालकले रोल्वालिङमा आफ्ना आफन्त भएको बताए । साढे तीनवर्षको उमेरपछि हलेसीमा उनको गद्दी आरोहण गरियो । गद्दी आरोहणका बेला रोल्वालिङबाट आएका केही व्यक्तिलाई उनले छोराछोरीकै रूपमा सम्बोधन गरे । घरतिरका सबै कुरा सोधपुछ गरे । तीन छोरी र एक छोराका रूपमा पुकारिएका उनीहरूले आफ्नै बुवाको अर्को अवतार स्वीकार गरे ।


अहिले उनी सोलुखुम्बुकै थामे गुम्बामा छन् । गुम्बामा उनको नाम ङवाङठिलेन पल्वर राखिएको छ । उनले अब बौद्धधर्मको अध्ययन थालेका छन् । अवतारीले अघिल्लो जन्ममा लिएको ज्ञान पुनः एकपटक पढ्नुपर्ने चलन छ । अघिल्लो जन्ममा आफूले प्रयोग गरेका सामान र आफन्तको पहिचान सजिलै गर्न सक्ने क्षमता अवतारीमा हुने दावागेल्जेनले बताए ।


बौद्ध धर्ममा अवतारी लामालाई विशेष सम्मान दिन चलन छ । खुम्बुक्षेत्रमा अवतारीका रूपमा जन्मिएका उनी दोस्रो हुन् । यसअघि खुम्बुमै जन्मिएका अर्का अवतारी लामा त्याङबोचे गुम्बामा छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?