२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सिम खेतमा रोपाइँ

आनन्द गौतम

(ताप्लेजुङ) — फुङलिङ नगरपालिका ३ साउनेका पदम निरौला सोमबारदेखि धान रोपाइँमा व्यस्त छन् । बोझेमा रहेको सिम खेतमा धान रोप्न भाइ योगेश्वरको परिवार र छरछिमेकको सहयोगमा उनी खेतमा निस्किएका हुन् ।

सिम खेतमा रोपाइँ

एक हल गोरु र छरछिमेकको सहयोगमा निरौला रोपाइँमा व्यस्त छन् । ठूला गरा भए पनि सिम खेतमा गोरु भासिने भएकाले मान्छेले धेरै खन्नुपर्छ । त्यसैले जनशक्तिको परिचालन ठूलै छ । मेरिङदेन ४ लिंतेपको लुबुवा बेंसीमा पनि रोपाइँ सुरु भएको छ । २१ सय मिटर उचाइको यो ठाउँमा प्रत्येक घरका मूलीले रोपाइँ थालेका हुन् । यसअघि लगाइएको गहुँबाली उठाएका यहाँका बासिन्दा रोपाइँमा व्यस्त भएको बताउँछन् ।


यो वर्ष दिनहुँजसो पानी परिरहेकाले किसानले यसलाई अनुकूल समयका रूपमा लिएका छन् । त्यही अनुकूलतालाई उपयोग गर्दै रोपाइँ थालेका हुन् । ‘हाम्रामा सिँचाइ हुने कुलो छैन, पानी परेको मौका छोप्नुपर्छ,’ निरौलाले भने, ‘सिमखेत भएकाले पानीको समस्या त हुँदैन तैपनि अलिअलि परेको बेला रोपाइँ गर्दा सहज भएको छ ।’ चैते र वर्षे गरी दुई सिजनमा धान फल्ने जिल्लामा जेठ १५ देखि सुरु गरी साउन १५ सम्ममा बाली लगाइसकिने कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । दुई बाली मात्रै फल्ने लेकाली क्षेत्रमा जेठदेखि असार १५ सम्ममा रोपाइँ सकिन्छ भने तीन बाली लाग्ने औल क्षेत्रमा साउन १५ सम्म रोपाइँ हुन्छ ।


जिल्लामा ९ हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिन्छ । एक सय हेक्टरसम्म चैते धान लाग्छ । उत्पादन भने २० हजार टनसम्म हुने गरेको छ । जिल्लाका सिनाम, थुम्बेदिन, निगुरादिन, फुलबारी, खोक्लिङ, लिंखिमलगायत क्षेत्र धानखेतीका चर्चित बेंसी हुन् । फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाहेक जिल्लाका सबै वडामा थोर, धेर धान उत्पादन हुने गरेको छ । खेतीयोग्य जमिन २८ हजार हेक्टरमध्ये ७ हजार हेक्टरमा मात्रै वर्षभरि सिँचाइ हुन्छ । ६ हजार हेक्टर आंशिक सिञ्चित हुने क्षेत्रफल भएकाले धेरै किसानले आकासे–पानीको भर पर्नुपर्छ । जिल्लाका २२ हजार हेक्टरमा विभिन्न बाली लगाइएको छ । जिल्लाका दर्माली, मासी मान्सुली, अट्टे, बेलगुटी, टाइचुङलगायतका जातको धानखेती हुने गरेको छ ।


प्रकाशित : जेष्ठ २७, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?