कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हाडे लसुनबाट कमाइ

धनकुटा — महत्त्व थाहा नपाएर खेर जाने वनस्पतिबाट पछिल्लो समय सर्वसाधारणले आयआर्जन गर्न थालेका छन् । लेकाली भेगका बारीका कान्ला तथा खोल्साखाल्सीमा पाइने जंगली फूलका रूपमा रहेको हाडे वन लसुन आम्दानीको स्रोत बन्दै गएको छ ।

हाडे लसुनबाट कमाइ

स्थानीयले जंगली लसुन वा हाडे वन लसुन भनेर चिनिने वनस्पति बिक्री गरेर छथरजोरपाटी गाउँपालिकास्थित हात्तीखर्कका किरण कार्कीले १५ हजार आम्दानी गरेको बताए । आम्दानीका हिसाबले रकम थोरै भए पनि बारीको कान्लामा त्यसै खेर गएको वस्तु बिक्री गरेर घर खर्च सघाउ पुगेको उनी बताउँछन् । ‘कुनै दलहन वस्तुभन्दा राम्रो आम्दानी भएको छ,’ उनले भने, ‘गाउँभरिका खोल्साखोल्सीमा फुल्ने जंगली लसुन बिक्री हुन्छ भन्ने भर्खर थाहा पाइँदैछ ।’


धनकुटाको निगाले, हिले, हात्तीखर्क, गुराँसे, पाख्रिबास लगायतका स्थानमा यो वनस्पति प्रशस्तै पाइने गरेको स्थानीयले बताए । झट्ट नियाल्दा आकर्षक फूल देखिने हाडे लसुनको जरा मुनि लसुन जस्तै झुप्पा हुन्छ । उक्त वस्तु निकालेर पानीमा उसिन्ने र सुकाएपछि बिक्री गर्न योग्य हुने स्थानीय भरत कार्की बताउँछन् ।


एउटै झुप्पोमा झन्डै आधा केजी तौलसम्म पाइने गरेको उनले जानकारी दिए । कृषकको आकर्षण देखेपछि हिले बजारमा हाडे लसुनको संकलन केन्द्र नै खुलेको छ । हालको बजार मूल्य प्रति केजी सय रुपैयाँ रहेको छ । तर, हिलेस्थित संकलन केन्द्रले केजीको १ सय २५ रुपैयाँले काँकडभिट्टा तथा जोगबनी नाकाबाट भारततर्फ निकासी गर्दै आएको केन्द्रका सञ्चालक धनबहादुर तामाङले बताए । झन्डै तीन दशक पहिल्यै हाडे लसुन भारतमा बिक्री गर्न सकिन्छ भन्ने आफूले जानकारी पाएको उनी बताउँछन् ।


२०४६ सालमा ८ रुपैयाँ केजीले खरिद गरेर बिक्री गरेको उनले सुनाए । तर, सर्वसाधारणले पछिल्लो केही वर्षदेखि मात्र आम्दानीको स्रोत भन्ने थाहा पाएको तामाङको भनाई छ । ‘निकासी कर तथा ढुवानी खर्च कटाएर प्रति केजी २५ रुपैयाँ नाफा मिल्ने गर्छ,’ उनले भने, ‘पहिले सीमित रूपमा मात्र संकलन गरे पनि पछिल्लो समय परिमाण वृद्धि हुँदै गएको छ ।’


हाडे लसुन डाबर कम्पनीले खरिद गरेको उनले बताए । उनको संकलन केन्द्रमा यति बेला बिक्रीका लागि तयारी अवस्थामा झन्डै एक क्विन्टल हाडे लसुन भण्डारण गरिएको छ । उक्त वस्तुको निकासी कर प्रतिकेजी १५ रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?