२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रतिष्ठानका चिकित्सक धर्नामा

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस/बीडीएस पास गरेर एकवर्षे इन्टर्न गरिरहेका चिकित्सक आइतबारदेखि काम छाडेर धर्नामा उत्रिएका छन् ।

प्रतिष्ठानका चिकित्सक धर्नामा

प्रतिष्ठानको व्याबस्थापन पक्षले इन्टर्नलाई दिने मासिक तलब भत्ता सुविधा अति कम भएकाले महाराजगन्ज शिक्षण अस्पतालले दिएसरह हुनुपर्ने भन्दै धर्नामा उत्रिएका हुन् ।


प्रतिष्ठानले आफ्नो शिक्षण जिल्लामा खटाएका ५० जना बढी इन्टर्न चिकित्सक पनि काम छाडेर आन्दोलमा सहभागी भएका छन् । संघर्ष समितिले नेपाल सरकारको स्वास्थ्यको आठौं तहको मेडिकल अफिसरले पाउने तलबको आधा प्रतिशत इन्टर्नले पाउनुपर्ने माग गर्दै धर्नामा उत्रेको जनाएको छ ।


सरकारको ८ औं तहका मेडिकल अफिसरको तलब ३६ हजार रुपैयाँ हाराहारीमा छ । ओपडीमा दैनिक ३ हजार जना र आकस्मिकमा दैनिक २ सय ५० बिरामी उपचारकालागि आउने ८ सय शय्या रहेको प्रतिष्ठानमा इन्टर्न चिकित्सक आन्दोलनमा उत्रेपछि प्रतिष्ठानको स्त्री तथा प्रसूति, हाडजोर्नी, नाक, कान घाँटी, मेडिसिन, आँखा, यौन तथा चर्म, बालरोग, मानसिक रोग, विभिन्न वार्ड, ओपीडी, इमर्जेन्सी र सघन उपचारकक्ष पनि प्रभावित भएको छ ।


प्रतिष्ठानको उपकुलपति भवन परिसरमा १ सय ५० जना इन्टर्न चिकित्सक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बसेका छन् । इन्टर्न संघर्ष समितिका संयोजक डा. सञ्जय बरालले भने, ‘साढे चारवर्षे एबीबीएस/बीडीएस पास गरेपछि इन्टर्न गर्ने १ सय ५० चिकित्सक गत चैतदेखि प्रतिष्ठान र यसका शिक्षण जिल्लामा कार्यरत छन् ।’


सिनियर र जुनियर चिकित्सकलाई सहयोग गर्ने, बिरामी उपचार, रोग पहिचान गर्न इन्टर्न चिकित्सक पनि हुन् । तर प्रतिष्ठानले मासिक ११ हजार ८ सय रुपैयाँ मात्र दिंदै आएको छ । यो रकम एक इन्टर्न चिकित्सकका लागि अति नै थोरै भयो ।’


संघर्ष समितिले दिएको एकसातो अल्टिमेटम गत शुक्रबार सकिए पनि प्रतिष्ठानले बेवास्ता गरेपछि आइतबारदेखि ओपीडी, वार्ड, इमर्जेन्सी र सघन उपचार कक्ष सबै विभाग छाडेर हातमा कालोपट्टी बाँधेर धर्नामा उत्रिएको संयोजक डा. बरालले बताए । उनका अनुसार इन्टर्न चिकित्सक दक्ष जनशक्ति भएकाले प्रतिष्ठानका उपचारका लागि आएका बिरामीको पहिलो चरणको जाँच गर्ने र थप उपचारका लागि व्यबस्थापन गर्ने जिम्मेवारी लिएर खटाइएका हुन्छन् ।


उनले इन्टर्नले पाउने तलब प्रतिष्ठानमा ज्यालादारी र तल्लो दर्जामा काम गर्ने कामदारलाई दिएजति पनि नभएकाले वर्षौंदेखि इन्टर्न आन्दोलिन हुँदै आएको बताए । गत आइतबार प्रतिष्ठानका तर्फबाट प्रवक्ता प्राध्यापक डा. पशुपति चौधरी र इन्टर्नहरूबीच वार्ता भएपनि सरकारको ८ औं तहका मेडिकल अफिसर र प्रतिष्ठानको मेडिकल असिफरको तलब फरक भएकाले बिनानिष्कर्ष वार्ता टुंगिएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?