मुसहर आयोग गठन गर्न माग

कान्तिपुर संवाददाता

विराटनगर — नेपाल राष्ट्रिय मुसहर संघले मुसहर आयोग गठन गर्न माग गरेको छ । संघको विराटनगरमा सम्पन्न भेलाले विभिन्न १० बुँदे मागसहित मुसहर आयोग गठनको माग गरेको हो । नेपालको कुल जनसंख्यामध्ये  १२ लाख मुसहरहरु छन् । सोमबार विराटनगरमा भएको संघको प्रथम जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले जितेन्द्र ऋषिदेवको अध्यक्षतामा १७ सदस्यीय मोरङ जिल्ला समिति गठन गरेको हो । समितिका सचिव धर्मेन्द्र ऋषिदेवले देशमा ठूल्ठुला क्रान्तिपछि राजनीतिक परिवर्तनहरु भएपनि मुसहरहरुको अवस्थामा सुधार आउन नसकेकाले मुसहर आयोग गठन गरिनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए । सरकारले समृद्धिको नारा लगाएको भएपनि आफ्नै भोटले जितेका नेताहरु फर्केर गाउँ नआउने, मुसहर समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी, स्थायी बसोवास लगायतका विषयमा बेवास्था गरेको उनले गुनासो गरे ।


नेपालभरी २२ वटा जिल्लाका १ सय २४ स्थानमा मुसहरहरुको बसोबास छ । यसमध्ये ९८ प्रतिशत मुसहरहरु भूमिहीन रहेको समितिले जनाएको छ । ९९ प्रतिशत मुसहरहरु अझै पनि निरक्षर नै रहेको भन्दै उनले उच्च शिक्षा लिएका १२ हजार युवाहरु अझै शैक्षिक बेरोजगारका रुपमा यत्तिकै बस्न बाध्य रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

सरकारविरुद्ध प्रदर्शन 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक घटक सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट विद्यार्थीहरुले मंगलबारदेखि प्रदर्शन थालेका हुन् । उनीहरुले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग ऐन, वाइडबडी जहाज खरिद प्रकरण, सुन तस्करी, सरकारी जग्गा अतिक्रमण, ऐनसेल कर छली लगायत मुद्दा उठाएर सडक प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा विद्यार्थी नेताहरु मोतीलाल भण्डारी, लिलावल्लभ दाहाल, शिव रिमाल लगायतको उपस्थिति थियो । उनीहरुले यस्तो प्रदर्शन जारी राख्ने बताए । पार्टी केन्द्रीय कार्यसमितिले तत्कालीन नैनसिंह महरको कार्यसमितिलाई हटाएपछि नेविसंघ भद्रगोल अवस्थामा छ । 'सरकारले यत्रो काण्डैकाण्ड मच्चाउँदा पनि नेविसंघको भूमिका कतै देखिएन, पार्टीले मुल नेतृत्व गठन नगरे पनि हामीले स्वत:स्फूर्त सरकार विरुद्धको प्रदर्शन थालेका हौं' विद्यार्थी नेता भण्डारीले बताए ।

विश्वविद्यालयको स्वायत्तता माथिको हस्तक्षेप र निजी विद्यालयले लिने चर्को शुल्क तथा शिक्षा क्षेत्रमा भएको बेथितिको विरुद्ध प्रदर्शन जारी राख्ने उनीहरुको योजना छ । मंगलबार शंकरदेव क्याम्पसबाट निस्केको जुलुस बागबजार, पुतलीसडक हुँदै पद्यकन्या क्यापसमा पुगेर सभामा परिणत भएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७६ १६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×