आमाले गरिन् नाबालक छोराको हत्या

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर नगरपालिका–९ पानिटयाङ्गीमा आमाले २२ महिने छोराको बिभत्स हत्या गरेकी छिन् । रामप्रसाद राई गाउँपालिका बासिखोरा घर भएकी २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् ।

सम्झनाको परिवार भिनाजुको घर पानीटयाङ्गीमा बस्दै आएका थिए।

उनले मंगलबार बिहान ७ बजेतिर छोरालाई घरको छतमा लगेर खुकुरीले घाँटीमा हानेर दुई टुक्रा बनाएर बिभत्स तरिकाले हत्या गरेकी हुन्।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सुर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम बाहिर गएको भोजपुर प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए।

प्रहरीले सम्झनालाई पक्राउ गरेको छ। घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। स्थानीयले सम्झनाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन्।

प्रकाशित : जेष्ठ १४, २०७६ १०:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिर्सिइँदै सिक्का छाप्ने थलो

सरकारी कामका लागि आएका पाटनका नेवारले आफ्नै संस्कृति भित्र्याएका थिए । अहिले उनीहरू पुनः सहर पसेपछि टक्सार बिरानो बन्यो
एलिसा श्रेष्ठ

भोजपुर — टक्सार बजार । मुलुकमै पहिलो पटक धातुका सिक्का (टक) बनाइएको स्थान । यही विशेषतायुक्त यो स्थानमा ऊबेला निकै चहलपहल थियो । भरपर्दो व्यापारिक केन्द्रका रूपमा परिचित थियो । तर, अहिले अवस्था बदलिएको छ ।

भोजपुरको टक्सारमा बनाइएको करुवाको प्रतिमा । तस्बिर : एलिसा/कान्तिपुर

भोजपुर नगरपालिका १२ मा रहेको धार्मिक, सांस्कृतिक तथा औद्योगिक दृष्टिले महत्त्वपूर्ण टक्सार अहिले भने सुनसान छ । विभिन्न प्रकारको धातुका सामान बनाइँदै आएको यहाँका कलामा पोख्त कालीगढहरू पलायन भएपछि अहिले भने नाममै सीमित भएको हो ।

टक्सार स्थापनाको २ सय वर्ष पुगेको अवसरमा २०७२ मा टक्सार महोत्सव आयोजना गरिएको थियो । त्यसपछि फेरि सुनसान बन्यो । महोत्सवका बेला बजारबीच करुवाको स्तम्भ बनाइएको थियो । करुवा करिब ३ सय ६० केजी झोरा काँसको प्रयोगबाट बनेको भोजपुर नगरपालिकाका पूर्वकार्यकारी अधिकृत प्रेम शाक्यले बताए ।

टक्सार बजारबाट पुराना बासिन्दा सबै विस्थापित भएकाले पनि यसको गौरव जोगाउन नसकिएको स्थानीय रमेश शाक्य बताउँछन् । ‘पुराना घर जीर्ण भएर बजार कुरूप हुँदै गएकाले घरधनीलाई घर मर्मत–सम्भार गर्न आग्रह गर्‍यौं,’ उनले भने, ‘तर त्यो प्रभावकारी बनेन ।’ टक्सारका पुराना बासिन्दा उद्योग व्यवसाय सञ्चालन हुन छाडेपछि पुराना घर, खेतबारी छाडेर सुविधायुक्त ठाउँतिर बसाइँ सरेकाले ऐतिहासिक बजारमा चहलपहल घट्दै गएको स्थानीय निर्मलकुमार श्रेष्ठले बताए ।

विसं १८७२ मा राजा गीर्वाणयुद्धविक्रम शाहको पालामा टक्सार खानीअड्डा स्थापना भएपछि बजारका रूपमा बस्ती विकास भएको हो । स्थानीय बासिन्दाका अनुसार विसं १८७० देखि तत्कालीन सरकारले भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलाममा सुन, तामा, सिसा, पित्तल र फलामखानी उत्खनन गर्न थालेपछि अड्डा स्थापना भएको हो ।

पहिलेकै अवस्थामा फर्काउन राजनीतिक दल, नागरिक समाज र सरकारले टक्सारमा सञ्चालित कला उद्योगको विकासका लागि छुट्टै व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । यहाँका ७५ प्रतिशत बासिन्दा आफ्ना घर, खेतबारी छाडेर अन्यत्र गइसकेका छन् ।

पाटनबाट ल्याइएका कालीगढद्वारा फलाम र तामाको डोली पैसा बनाइन्थ्यो । पैसा छाप्ने पहिलो कालीगढ देवदत्त शाक्य हुन् । टक्सारमा टक छाप्ने पेसामा शाक्य वंशले लामो समयसम्म योगदान गरेका थिए । एक तोला र दुई तोला तौल भएको उक्त पैसा राणाकालसम्म चलेको स्थानीय गणेश वज्राचार्यले जनाए ।

आफ्नो अधीनमा आएपछि राणा शासकहरूले यहाँबाट छापबिनाको डोली पैसा प्रचलनमा ल्याएका थिए । टक छाप्न पाटनबाट कालीगढ ल्याइएका थिए । त्यतिबेला निर्मित दुई दर्जन मठमन्दिर, गुम्बा, चैत्य, बौद्धविहार, धारा, पाटीपौवा, हस्तकला र मूर्तिकलाका अवशेषहरू टक्सारमा छन् । संरक्षण अभावमा यी संरचना पनि जीर्ण बनेका छन् ।

विसं १९०० सम्ममा टक्सार बजारको विस्तार भइसकेको थियो । सुरुमा डोली पैसा र केही धातुका काममा सीमित रहेको यहाँका कालीगढ पछि धातुकै करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबकाजस्ता भाँडाकुँडा बनाउन थालेका थिए ।

भोजपुरमै उत्पादित धातुका कलात्मक करुवाको मूल्य अहिले पनि बजारमा १ हजार १ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा किनबेच हुँदै आएको छ । टक्सारमा बन्ने कलात्मक भोजपुरे करुवा देश/विदेशमा लोकप्रिय छ । एउटा बुट्टे कलात्मक करुवापूर्ण रूपमा तयार हुन १ महिनादेखि ३महिनासम्म लाग्छ ।

यहाँको करुवा अन्यभन्दा कलात्मक, आकर्षक र टिकाउ भएकै कारण ग्राहकको माग धेरै हुने गरेको ७० वर्षीया फूलमाया भुजेल बताउँछिन् । भोजपुरमै बनाइएका धातुका सामानमा ७ दिनसम्म पानी राख्दा पनि लेउ र खिया नलाग्ने हुँदा यहाँको गुणस्तर बाहिरबाट आउने सामानभन्दा राम्रो र भरपर्दो रहेको उनको भनाइ छ ।

तर, हाल यहाँबाट अधिकांश कालीगढ पलायन भइसकेका छन् । ऐतिहासिक कलामा पोख्त कालीगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप हुन लागेको छ । अहिले १/२ जनाले मात्र यो पेसालाई निरन्तरता दिएको स्थानीय शिक्षक अमृका ताम्राकारको भनाइ छ ।

कच्चा पदार्थ अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीयस्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महँगोसमेत हुने भएकाले पनि टक्सारबाट कालीगढको विस्थापन हुने क्रम बढेको बताइएको छ ।

टक्सारका ७५ प्रतिशत बजारवासीले आफ्ना घर र खेतबारी छाडेर अन्यत्र गइसकेका छन् । टक्सार क्षेत्रका ६५ परिवार हाल काठमाडौंको बानेश्वरमा बस्छन् । तर धेरैले घर बेचेका छैनन् । संरक्षणको अभावमा जीर्ण घर लड्ने अवस्थामा छन् ।

टक्सारमै रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्रमा मात्र सञ्चालित छन् । टक्सार ओलाङचुङगोलाबाहेक तिब्बतको व्यापारिक केन्द्र दिगर्चा जाने अर्को मुख्य बाटो थियो । टक्सारमा निर्मित हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत र भारतको दार्जिलिङ, असम, सिलगुढी तथा कोलकातासम्म निर्यात हुने गरेको स्थानीय बताउँछन् ।

सरकारी कामका लागि आएका पाटनका नेवार जातिहरूले आफूले प्रचलनमा ल्याएका भाषा, धर्म र संस्कृतिका साथै रीतिथिति र चाडपर्व पनि आफूसँगै भित्र्याए । उनीहरूले ठाउँठाउँमा मन्दिर, चैत्य र विहार निर्माण गरी नियमित रूपमा पूजापाठ गर्न र धार्मिक तथा सांस्कृतिक कार्यर्क्रमहरू सञ्चालन गर्न थाले ।

प्रकाशित : जेष्ठ १४, २०७६ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT