खानेपानीमा अनियमितता : अख्तियारले थाल्यो छानबिन

संखुवासभा — खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयमा भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । खानेपानी समिति र निर्माण कम्पनीले आयोजनाको काम नसकी सकिएको भन्ने कागजपत्र दिएपछि छानबिन गरिएको हो ।

आयोगको इटहरीस्थित कार्यालयको टोलीले समितिले गरेको सबै कामको फाइलमाथि छानबिन थालेको जनाएको छ । निर्माण कम्पनीले पूरा धारा जडानसमेत नगरेको र पानी समेत नियमित सञ्चालन गर्न नसकिरहेको गुनासो बढेपछि अख्तियारले छानबिन थालेको हो । खानेपानी समितिले आयोजनाले काम बाँकी छदै सम्पन्न भएको सिफारिस दिएको खुलेको थियो ।


२ हजार ७ सय ७५ धारा जडान भए पनि २ हजार वटामात्र सञ्चालनमा रहेको खानेपानी कार्यालयले जनाएको छ । निर्माण कम्पनीले मागअनुसार उपलब्ध गराउने उद्देश्यले मकालु गाउँपालिका ५ सिमाली खोलाबाट पानी ल्याइएको भए पनि नियमित रूपमा पानी उपलब्ध गराउन सकेको छैन । समितिले ३ हजार ४ सय ९९ धाराबाट पानी वितरण गर्ने भनेर काम सुरु गरेको थियो ।


आयोजना सञ्चालनका लागि २ हजार ९ सय ५९ घरबाट ५ प्रतिशत रकम उठाइएको थियो । रकम जम्मा गरेका उपभोक्ताका घरमा धारा जडान गर्नु निर्माण कम्पनीको जिम्मेवारी भए पनि अझै धेरै धारा जडान गर्न काम बाँकी राखेको छ । आयोजना निर्माण २०७० असोजमा प्रारम्भ भएको थियो ।


पाँचपटक म्याद थप गरी २०७४ पुस १६ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको समितिको दाबी छ । कम्पनीले १८ महिनामा सक्नुपर्ने काम ५१ महिना लगाएको थियो । योजनाभन्दा १ हजार ४ सय कम धारा सञ्चालनमा आउँदा पनि खाँदबारीमा पर्याप्त पानी दिन उपभोक्ता संस्थाले सकेको छैन । संस्थाले काम सुरु गर्नुअघि उपभोक्तालाई फिल्टर

गरिएको शुद्ध पानी २४ सै घन्टा दिने भनेको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?