३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खानेपानीमा २० लाख हिनामिना

संखुवासभा — खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले २० लाख ३ हजार हिनामिना गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाले पत्रकार सम्मेलन गरेर प्रतिवेदनमा अनियमितता भएको जानकारी दिएको हो ।

विभिन्न सञ्चार माध्यममा अनियमितताको समाचार प्रकाशन र प्रशारण भएपछि समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

सबैभन्दा बढी रकम काउन्टर सहायक सुरेश ढकालले अनियमितता गरेको अध्यक्ष नरेन्द्र राईले जनाए ।


ढकालले १३ लाख ९५ हजार ४७ रुपैयाँ अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । लेखापाल लक्ष्मण पराजुलीले ६२ हजार ६ सय २७ र प्रशासन सहायक जुनिता कार्कीले ५ लाख ४५ हजार अनियमितता गरेको राईले बताए । लेखापाल लक्ष्मण र प्रशासन सहायक जुनिताले अनियमितता गरेको रकम दाखिला गरिसकेको समितिले जनाएको छ ।


काउन्टर सहायक ढकालले पानीको महसुल तर्फबाट उठाउन प्रयोग गरेको रसिदको अर्ध कट्टीमा लुकाएर र अर्ध कट्टीमा रद्ध लेखेर ६ लाख ५६ हजार ४ सय अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । आव ०७५/७६ मा सफ्टवेर प्रणालीको विलमार्फत २ लाख २८ हजार १ सय हिनामिना गरेको उनले बताए ।


त्यसैगरी ढकालकै जिम्मेवारीमा राखिएको ०७४/७५ मा समेत पाँचवटा रसिद बुक गायव बनाएको उनी माथि समितिको आरोप छ । एक बुकमा ५० प्रति रसिद रहेको संस्थाले जनाएको छ ।


अन्य बिलमा उठेको न्यूनतम र अधिकतम रकम अंकलाई आधार मानेर पाँचवटा रसिदबाट ५ लाख ५ हजार अनियमितता भएको हुनसक्ने लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । गायब भएका ती रसिदबाट ५ लाख ५ हजार असुल्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?