नौमती बाजा संरक्षणमा गैरदलित
धनकुटा — धनमाया गुरुङ र सीता घिमिरे जोर दमाहा बजाउँदै गीत गाउन व्यस्त छन् । उनको छेउमा रहेकी राधिका बस्नेत पनि झ्याम्टा बजाउँदै लयमा लय खिप्दैछिन् । अन्यको हातमा पनि कुनै न कुनै बाजा छ । बाजा बजाउने र गीत गाउने मात्र व्यस्त छैनन्, अन्यले पनि नाच्दै साथ दिएका छन् ।
नौमती बाजा संरक्षणमा जुटदै आएका धनकुटा छथरजोरपाटी गाउँपालिका ४ नाम्जाङका स्थानीय गैरदलित समुदाय यसरी व्यस्त बन्दै आएका हुन् । गाउँबस्तीमा आयोजना हुने हरेक शुभकार्यमा नौमती बाजाका लागि यही समूहलाई निम्ता गरिन्छ ।
स्थानीय बाहुन, क्षेत्री, गुरुङ, मगरलगायत ३६ जना गैरदलित समुदाय सहभागी रहेको नौमती बाजा संरक्षण समूहका अध्यक्ष दीपक गुरुङले बताए । यसमा महिलाको सहभागिता उल्लेख्य छ ।
परम्परागत रूपमा नौमती तथा पञ्चेबाजा बजाउने दलित (दमाई) जाति अन्य व्यवसायमा समेटिएपछि अभाव खड्किँदै आएकाले संरक्षण अभियान थालिएको गुरुङको भनाइ छ ।
‘बिहे, व्रतबन्ध, विभिन्न उत्सवमा नौमती बाजाकै माग बढी हुने भएकाले यसको संरक्षण गर्नु जरुरी छ,’ उनले भने, ‘बाजा बजाउन यही जात भन्ने नै छैन, यसर्थ हामीले थालेको प्रयासले सार्थक रूप पाएको छ ।’
कला संस्कृतिको जर्गेना र नौमती बाजा संरक्षण गर्ने उद्देश्यले यो अभियान थालिएको उनले बताए । दमाहा, झ्याम्टा, टेम्को, मादल, बागदल, समया, झ्यालीमा महिला सहभागी हुन्छन् । तर, नरसिंहा र सनई बजाउन कठिन भएकाले पुरुषले साथ दिएको दिपा घिमिरेले बताइन् । सनई बजाउन महिलाले समेत सिक्दै आएको उनले भनिन् ।
सुरुमा कठिन भए पनि सहज बन्दै गएको सनई बजाइरहेका उमेश गुरुङले बताए । तीन समूहले एउटै संस्था खोलेर संरक्षणमा जुटदै आएका छन् ।
सुरुमा तेह्रथुमको लालीगुराँस नगरपालिकाका लालबहादुर नेपालीलाई प्रशिक्षकका रूपमा १५ दिन तालिम लिएपछि स्थानीयले बाजा बजाउन थालेको सचिव इन्द्र घिमिरेले बताए । गत तिहारमा देउसीभैलो खेलेर संकलन गरेको १ लाख ४५ हजार रुपैयाँमा आवश्यक अन्य रकम आफूहरूले थपेर बाजा किनेको उनले सुनाए ।
मेला महोत्सवदेखि विवाह, व्रतबन्धजस्ता काममा समूहले शुल्क लिएर सहभागिता जनाउँदै आएको छ । महिलाले साडी,
चोलो र पुरुषले दौरासुरुवाल, टोपीमा सजिएर बाजा बजाउँछन् ।