कार्यक्रमस्थलमै हृदयाघातले मृत्यु

कान्तिपुर संवाददाता

पाँचथर — सदरमुकाम फिदिम नगरपालिका-१४ महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको स्वागत कार्यक्रम सञ्चालन भइरहेका बेला मृत्यु भएको छ । सोमबार आयोजित कार्यक्रममा मन्तव्य राखिसकेर कुर्सीमा बस्नासाथ उनको मृत्यु भएको थियो । 

उनी प्राथमिक तहको दरबन्दीमा जेठ १ गते नियुक्त भएका थिए । मन्तव्यपछि कुर्सीमा बस्नासाथ बेहोस भएका फागोको सहकर्मीले सम्हाल्दासम्हाल्दै मृत्यु भएको प्रधानाध्यापक कमल बाँस्कोटाले बताए ।

उनको हृदयाघातका कारण मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्

प्राधिकरणमा भ्रष्टाचार प्रमाणित भए कारबाही भोग्छु : घिसिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कार्यकारी निर्देशक भएर आएपछि कुनै आर्थिक अनियमितता भएको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले विद्युत्‌भार कटौतीको अन्त्य गरेको नाममा प्राधिकरणमा आर्थिक अनियमितता भएको आरोप लगाएपछि कार्यकारी निर्देशक घिसिङले त्यसको प्रतिवाद गरेका हुन् । 

'बाँकी बक्यौता रहेको महसुल उठाउन प्राधिकरणले हदैसम्मको प्रयास गरेको छ । कुनै पनि कमजोरी गरिएको छैन । आर्थिक अनियमितता गर्ने भन्ने कुनै प्रश्न छैन' घिसिङले भने, 'अनियमितता भएको प्रमाणित भए म कारबाही भोग्न तयार छु ।' सांसद मोदीले विद्युत्‌भार कटौतीको अन्त्य गर्न तत्कालीन मन्त्री, सचिव तथा अन्य कर्मचारीको पनि महत्वपूर्ण भूमिका रहेको भए पनि प्राधिकरणको नेतृत्व आफैँले जस लिएको र त्यसैका आधारमा आर्थिक अनियमितता भएको आरोप लगाएका थिए ।

बैठकमा कांग्रेस सांसद राजन केसीले बाँकी बक्यौता उठाउन प्राधिकरणले सार्थक प्रयास गर्नुपर्ने बताए भने नेकपा सांसद लेखराज भट्टले कमी कमजोरी नहुने गरी काम गर्न प्राधिकरण नेतृत्वलाई सुझाव दिए ।

त्यस्तै राजपा सांसद शरतसिंह भण्डारीले गलत भएको भए छानबिन गर्नुपर्ने तर काम गर्ने व्यक्तिको मान मर्दन गर्न नहुने बताए । समितिका सभापति भरत शाहले प्राधिकरणको महसुल बक्यौताको विषयमा समितिले सत्यतथ्य छानबिन गर्ने जानकारी दिए । विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङक लाइनबाट विद्युत् सेवा लिएका ग्राहकबाट रु नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता उठाउन बाँकी छ ।

प्रकाशित : जेष्ठ ७, २०७६ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्