कृत्रिम खुट्टा पाएपछि...
विराटनगर — इलामको माङ्सेवुङ ४ सिङ्फेरे गाउँमा जन्मिएकी मनिहाङमा साम्बा १६ वर्षकी भइन् । जन्मँदै उनको दाहिने खुट्टाको पैताला थिएन । मार्चेबुङ माविमा कक्षा १० अध्ययनरत उनले १० वर्ष विद्यालय जान र आउन निकै कष्ट ब्यहोर्नुपर्यो ।
‘साथीहरू आधा घण्टा जतिमै विद्यालय पुग्थे,’ उनले भनिन्, ‘खुट्टामा चप्पल जुत्ता लगाउन नमिल्ने भएकाले खाली खुट्टा हिँडदा धेरै दुख्थ्यो, बीचमा बस्दै जाँदा मलाई एक घण्टा लाग्थ्यो ।’
विद्यालय जाँदाआउँदा र घाँस दाउरा गर्दा उनका खुट्टा कैयौं पटक रगतपच्छे भए । उनी एउटा खुट्टामा मात्रै चप्पल लगाएर हिँडडुल गर्थिन् । ‘मैले न जुत्ता नै लगाउन मिल्थ्यो न चप्पल,’ उनले भनिन, ‘खाली खुट्टा विद्यालय जाँदा आउँदा जहिले पनि चोट लाग्थ्यो ।’
सबैभन्दा कष्ट त उनलाई एक घण्टाको बाटो हिँडेर विद्यालय जाउजाउ गर्न थियो । एक वर्ष भयो उनी विद्यालय जाने सडक बनेको । सडक बन्नुअघि विद्यालय जान स्थानीय रतुवा खोलामात्रै ७ ठाउँमा तर्नुपथ्र्यो । उनले भनिन्, ‘अनेक कष्ट खेपेर पनि मैले हरेस भने खाइन् ।’
गत वर्ष भर्ना अभियानका क्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उच्च शिक्षासम्म उनको पठनपाठन र अरू खर्च व्यहोर्ने गरी ‘अभिभावकत्व’ ग्रहण गरेका थिए । विराटनगर ल्याएर उनको परीक्षण समेत गराए ।
कृत्रिम खुट्टा लगाउन मिल्ने सल्लाह चिकित्सकले दिएपछि अपांगता भएकाहरूका लागि विभिन्न हातखुट्टा र उपकरण बनाउँदै आएको विराटनगरस्थित सिविआर संस्थाले कृतिम खुट्टा बनाइदियो । खुट्टा पाएपछि मनिहाङ्मा निकै खुसी देखिन्थिन् ।
एक सातादेखि सिविआरमै बसेर कृतिम खुट्टाको परीक्षण गरिरहेकी उनले आइतबार घिमिरेकै हातबाट कृतिम खुट्टा ग्रहण गरिन् मनिहाङ्माजस्ता अन्य ११ जनालाई पनि कृत्रिम उपकरण वितरण गरियो ।
शारीरिक अपांगता भएका मोरङ रंगेलीका कमल हस्तालाई हिवलचियर, सुनसरी इनरुवाका सुस्त मनस्थिति भएका चन्द्रशेखर महतो, मनिका कटवाललाई विशेष कुर्सी, विवेक श्रेष्ठलाई कृत्रिम हात दिइएको थियो ।
–विनु तिम्सिना
प्रकाशित : जेष्ठ ७, २०७६ ११:११