असिनाले तरकारी नष्ट

डिल्लीराम खतिवडा

उदयपुर — वर्षासँगै परेको असिनाका कारण कटारी नगरपालिका ११ गहुँबारी लगायत क्षेत्रमा सयौं रोपनी जग्गाको तरकारी बाली नष्ट भएको छ । सातायता असिनाका कारण व्यावसायिक रूपमा किसनाले लगाउँदै आएको तरकारी खेती नष्ट भएको हो ।

गहुँबारी, ताप्ले, काफलडाँडा, गोठडाँडा तनी लगायत क्षेत्रमा किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन । मौसमी र बेमौसमी खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेको तरकारी माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुगा र सोलुखुम्बुसम्म बिक्री गर्छन् ।


त्यसैगरी संघीय राजधानी काठमाडौं, वीरगन्ज, विराटनगरलगायत तराईका विभिन्न मुख्य बजारमा यहाँका किसानले उत्पादन गरेको तरकारी बिक्री हुँदै आएको छ । वर्षामास गहुँबारी क्षेत्रमा रायो साग, टमाटर, मुला, खुर्सानी, धनियाँ, हरियो प्याज र लसुन उत्पादन हुने गरेको छ ।


त्यसै गरी यस क्षेत्रमा मुख्य बाली भनेको टमाटर र अदुवा हो । तर यस वर्षको बेमौसमी तरकारी खेनीलाई वैशाख मसान्त र जेठ १, २ गतेको वर्षातसँगै आएको असिनाले नष्ट गरी दिएको किसानले बताए ।


वर्षातले सबैभन्दा बढी गोठडाँड क्षेत्रमा ७७ रोपनी आलु, १५ रोपनी टमाटर, ४२ रोपनी काँक्रा फर्सी, १० रोपनी प्याज, १५ रोपनी घ्यु सिमी, १५ रोपनी सुन्तला जुनार, २ रोपनी आँप, २ रोपनी नस्पानीसमेत गरेर १ सय ८३ रोपनी अर्थात् ४ सय बिघाको खेती नष्ट भएको कटारी नगरपालिकाकी कृषि प्राविधिक मीना राउतले बताइन् ।


‘गहुँबारी, ताप्ले, काफलडाँडा, गोठडाँडा तरकारी खेतीको पकेट क्षेत्र हो,’ प्राविधिक राउतले भनिन्, ‘यहाँका किसान बर्खामास तरकारी खेतीमात्रै गर्छन् ।’ माथिल्लो क्षेत्रमा सुन्तला, स्याउ र तल्लो क्षेत्रमा आँप लगायको फलफूल खेती पनि गर्दै आएको उनले बताइन् ।


गोठडाँडामा विशेष गरेर टमाटर खेती हुने गरेको छ । वर्षैभरि नै टमाटर खेती हुने गोठडाँडामा सबैभन्दा बढी असिनाबाट प्रभावित भएको कृषि प्राविधिक राउतले बताइन् । ‘यहाँका किसानको मुख्य व्यवसाय नै टमाटर खेती हो,’ उनले भनिन्, ‘एउटा किसानले महिनामा न्यूनतम १ लाख रुपैयाँको टमाटरमात्रै बिक्री गर्छन् ।’ तर अहिलेको असिनाले सम्पूर्ण खेती नै नष्ट गरिदिएपछि किसान चिन्तित भएको उनले बताइन् ।


‘मासिक न्यूनतम १ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान छन्,’ गोठडाँडाका किसान ज्ञानबहादुर कार्कीले भने, ‘तर अहिले किसानको उत्पादन बजार लैजाने तयारी हुँदा असिानाले सखाप पारिदियो ।’ वर्षौंपछि खेतीबाली नै नष्ट गर्ने गरी असिना आएको उनले बताए ।


असिनाले सबैभन्दा बढी काँक्रो, फर्सी, टमाटर र प्याज नष्ट गरिदिएको छ । ‘अहिले सबैभन्दा बढी माग र बढी मूल्यमा बिक्री हुने काँक्रो, टमाटर र प्याज नै हो,’ किसान शारदा कटुवालले भनिन्, ‘बारीमै ४० रुपैयाँ किलो टमाटर र ३० रुपैयाँ किलो काँक्रा, फर्सी र हरियो प्यजा बिक्री हुने गरेको थियो ।’ तर असिना पानीले बोटै समेत नष्ट गरिदिएको उनले बताइन् ।


अहिले गहुँबारीमा प्रतिकिलोग्राम ४० रुपैयाँ टमाटर र ३० रुपैयाँका दरले आलु, घ्यु सिमी, काँक्रो, तीतेकरेला र चुचेकरेला बिक्री हुने गरेको किसानले बताए । यो मौसममा जेठ पहिलो साता उत्पादन भएको तरकारीले सजिलै बजार पनि पाउने र मूल्य पनि किसानको लागत अनुसार नै पाउने गरेको किसान बताउँछन् । तर असिनापानीले गर्दा झन्डै ५ करोड मूल्यको तरकारी नष्ट गरिदिएको किसानको गुनासो छ ।


‘असिनापानीले किसानलाई धैरै ठूलो क्षति पुर्‌याएको छ,’ कटारी नगरपालिका ११ वडाध्यक्ष दीपक बुढाथोकीले भने, ‘असिनापानीले तरकारी र फलफूल खेतीमा क्षति पु¥याउँदा किसानलाई गुजारा गर्नै समस्या भएको छ ।’ तरकारी बालीमै निर्भर हुँदै गएका किसानलाई यस किसिमको क्षतिले सोच्न बाध्य बनाएको उनले बताए ।


असिनापानीले क्षति पु¥याएका किसानका लागि नगरपालिकाले सहयोगका लागि केही गर्ने कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘असिना पीडित किसानका लागि के योजना ल्याउने कार्यपालिकाको बैठकले निर्णय गर्नेछ,’ प्रमुख श्रेष्ठले भने, ‘कटारी नगरपालिकाको त्यो क्षेत्र भनेको तरकारीले चिनिएको क्षेत्र हो ।’ त्यसैले किसानलाई कसरी राहत दिन सकिन्छ योजना बनाइने उनले बताए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?