दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण नाका सिल

पर्वत पोर्तेल

काँकडभिट्टा — आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण शनिवार साँझ ६ बजेदेखि नेपाल-भारत सीमा नाका सिल हुने भएको छ । तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

इलाका प्रहरी कार्यालयका काँकडभिट्टाका डिएसपी महेश थापाले झापाको काँकडभिट्टा-पानीट्यांकी र इलामको पशुपति-मिरिक नाका दुई दिन बन्द बताए । उनका अनुसार शनिवार साँझ बन्द भएर सोमबार बिहान मात्रै नाका पुनः सञ्चालनमा आउने छ ।

भारतीय सुरक्षा अधिकारीले खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि बन्द गर्नु परेको बताएका छन् । 'आइतबार नाका ठप्प रहने छ', ती अधिकारीले भने,'सवारी साधन र मानिस आवागमनमा समेत रोक लगाइने छ ।'

प्रकाशित : जेष्ठ ४, २०७६ १४:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चरेससहित पक्राउ परेका युवालाई छुटाउन भारतीयले गरे प्रहरी कार्यालय घेराउ, स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड हवाई फायर

सांसद कृष्णा केसी पनि ४ घण्टा प्रदर्शनकारीको घेरा परिन्
मधु शाही

बाँके — ५ किलो चरेससहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरी हिरासतबाट मुक्त गर्न शुक्रबार बाँकेको राप्तीपारी तनावग्रस्त बन्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ६५ राउन्ड गोली चलाउनु परेको थियो । देवीदिन बिक नाम गरेका भारतीय नागरिक राप्तीपारी नरैनापुरमा चरेससहित पक्राउ परेपछि उनलाई छुटाउन भन्दै सीमापारिका अधिकांश नागरिक नेपाल छिरेर प्रहरी कार्यालयलाई घेराउ गरेसँगै स्थिति तनावग्रस्त बनेको थियो ।

शनिबार पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराउदै सांसद् कृष्णा केसी । तस्बिरः मधु शाही,कान्तिपुर

प्रहरीका गाडीमा ढुङ्गामुढा र आगजनी भएपछि स्थिति नियन्त्रण गर्न गोली चलाउनु परेको प्रहरीले बताएको छ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएकी प्रदेश ५ की सांसद कृष्णा केसी पनि ६ बजे प्रहरी कार्यालयमा पुगेकी थिइन्। त्यसैबेला उनी पनि भारतीयहरुको घेराबन्दीमा परेकी थिइन्। 'मलाई सीमा क्षेत्रका मान्छेले घेरेर पक्राउ परेका भारतीय नागरिक नछुटाएसम्म कतै जान नदिने धम्की दिए ' उनले भनिन्। उनका अनुसार ४ घण्टासम्म प्रहरी कार्यालयमा उनलाई घेरा हालेर बार्गेनिङ गरिएको थियो।

'सबै घरेलु हातहतियारसहित थिए,' उनले भनिन्, 'अपराधी छुटाउने मेरो अधिकारको कुरो थिएन। त्यो प्रशासनले अनुसन्धान गर्ने हो भन्दा स्थिति झनै डरलाग्दो बन्यो।'

राती पौने दश बजे मात्रै जिल्लाबाट थप प्रहरी सुरक्षाका लागि आयो। प्रशासनले थप सुरक्षा बल बेलैमा पठाइदिएको स्थिति नियन्त्रणमा लिन सहज पर्ने उनले तर्क गरिन्।

शनिबार पत्रकार सम्मेलन मार्फत सांसद् केसीले जानकारी गराउँदै भनिन्, 'यस्तो बेला आफ्नै मुलुक बिरानो भएको महसुस गरेँ।' उनले सीमावर्ती क्षेत्रमा असुरक्षा बढ्दो देखिएकाले राज्यले यहाँ सुरक्षा शक्ति बढाउनुपर्ने बताइन्। आफूले यस विषयमा सरकार समक्ष कुरा राख्ने उनले बताइन्।

नरैनापुर गाउँपालिका प्रमुख इस्तिहाक अहमद शाहले भारतीय नागरिकको मनोमानीले असुरक्षित महसुस भएको बताए। अचानक भएको यस्तो घटनाबाट स्थानीय त्रसित भएका छन्।

नेकपाका सचिव अशोक कोइरालाले यो घटनाले राज्यकै अस्मितामा आँच आउने संकेत गरेको बताउँदै दोषीलाई कुनै पनि हालतमा उम्किन नदिने बताए। 'यहाँका आम मानिस पनि सुरक्षित छैनन्', उनले भने, 'राज्य सुरक्षामा गम्भीर हुन जरुरी छ।'

सीमापारिबाट आएका भारतीय युवाले देवीदिन विक नछोडेसम्म घेरा हाल्दै प्रहरीका गाडीमाथि ढुङ्गा मुढा र आगजनी गरेको बाँके प्रहरीका निमित्त प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए। प्रहरीका अनुसार स्थानीय हाटबजारमा पसल थाप्दै आएका देवीदिनले तस्करी गरेको लागूपदार्थ सहित नेपालमा प्रहरीले उनलाई पक्रिएको हो।देवीदिनमाथि प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : जेष्ठ ४, २०७६ १४:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×