आवधिक योजना बनाउँदै स्थानीय तह

डम्बरसिं राई

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकाको समृद्धिका लागि जनप्रतिनिधि र स्थानीय आवधिक योजना निर्माणमा जुटेका छन् । कृषिलाई प्राथमिकतमा राखेर आवधिक योजना निर्माणमा जुटेका हुन् ।

दीर्घकालीन, मध्यकालीन र तत्कालीन गरी तीन तहको आवधिक योजना निर्माण भइरहेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 'आगामी २० वर्षसम्मका लागि योजना बनाइँदै छ,' राईले भने 'जो-जो जनप्रतिनिधि भए पनि २० वर्षभित्र पालिकाभित्रका जनताले समृद्धि हासिल गर्ने गरी आवधिक योजना निर्माण गरिएको हो ।' कृषिलाई पहिलो प्राथमिकतमा राखेर गरिबीको रेखामुनि रहेका जनतालाई समृद्धि दिने लक्ष्य राखिएको उनले बताए ।

राईका अनुसार कृषि अन्तरगत किवी, सुन्तला, लिची, अलैची, तरकारी लगायतको पकेट क्षेत्र निर्धारण गरी कृषिलाई आधुनिकीकरण गरी बजार प्रवर्द्धन गर्ने योजना बनाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा रातमाटा, सापातेललाई लिची पकेट क्ष्ाेत्र, वडा १ कै कोटगाउँ, वडा ३ कै छोरम्बु रोभोलुङलाई सुन्तला पकेट क्षेत्र, वडा १ कै खामडाँडा, लिलिमा र वडा २ डाडाँगाउँको नाली तरकारी पकेट क्षेत्र निर्धारण गरेर कृषिबाट समृद्धि लिने योजना बनाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

माथिल्लो भेगलाई किवी पकेट क्षेत्र बनाइने छ । यसबाहेक बाख्रा पालन पकेट क्षेत्र, सुन्तला, अलैची लगायतका कृषि नर्सरी समेत निर्माण गरिने छ । सबै किसानलाई लक्षित गरेर ठूला सिँचाइ योजना सञ्चालन गरिने छ । कृषिका लागि आवश्यक पानीको श्रोत व्यवस्थित गरिने योजना बनाइएको छ । भौतिक पूर्वाधार अन्तर्गत सबै वडामा सडकको स्तरोन्नति गर्ने योजना बनाइएको छ । आगामी आर्थिक वर्षबाटै कालोपत्रे र ग्राभेलिङको काम सुरु गर्ने लक्ष्य राखिएको छ । सबै वडामा वडा कार्यालय भवनहरू र सामुदायिक भवनहरू बनाइने छ ।

शिक्षामा परिवर्तन गर्ने योजना बनाइएको छ । गुणस्तरीय शिक्षाका लागि स्थानीय पाठ्यक्रम निर्माण समेत गरिने छ । यसअन्तरगत सुरुमा वनस्पति पाठ्यक्रम निर्माण गरेर पठन-पाठन सुरु गर्ने लक्ष्य बनाइएको राईको भनाई छ । गाउँपालिका क्षेत्रभित्र पर्ने १३ माध्यमिक तह लगायत ४९ वटै विद्यालयमा शिक्षाको गुणस्तर दिलाइने अध्यक्ष राईले सुनाए ।

पर्यटनमा गौरवको कार्यक्रममा राखेर धिप्लुङ झरना, घिर्चुङमाडाँडाबाट भडारेघाटसम्मको प्याराग्लाइडिङ, शेषथुम्कीलाई बोटानिकल क्षेत्र लगायतको योजना बनाइएको छ । उद्योगमा गरिबीको रेखामुनि रहेका जनतालाई रोजगारी दिन जुस, अचार, मसला, जडिबुटी उद्योग सञ्चालन गरिने छ । यसबाहेक स्थानीय रुखको खपतका लागि भेनियर उद्योगसमेत सञ्चालन गरिनेछ ।

आगामी आर्थिक वर्षभित्रै पालिकालाई अँध्यारोमुक्त बनाइने छ । सबै घरमा बिजुली विस्तार गरेर अध्यारोमुक्त बनाइने अध्यक्ष राईले सुनाए । स्वास्थ्यमा १५ शैयाको व्यवस्थित अस्पताल बनाइने छ । सहरीकरणका लागि एकीकृत वस्तीको योजना बनाइएको छ । यसअन्तरगत नारङ्गा, याङ्सोला, गुरुङडाँडा, टेम्माटार लगायतका ठाउँमा एकीकृत बस्ती बनाइने राईले बताए । यसबाहेक बजारीकरणका लागि छितापोखरीलगायत ठाउँलाई विकसित गरिने राईले सुनाए ।

यो आवधिक योजनाका लागि स्विस सरकारले प्राविधिक सहयोग गरेको हो । गत पुस २४ गतेबाट सुरु भएको आवधिक योजना निर्माण आगामी जेठ तेस्रो साता सकिने राईले सुनाए । योजना निर्माणमा गाउँपालिकाका सरोकारवालाहरू सहभागी रहेको राईले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

अतिक्रमित घरटहरा हटाउन निर्देशन

डम्बरसिं राई

खोटाङ — बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय बराहतालको जग्गा स्थानीयले अतिक्रमण गरेर निर्माण गरेको संरचना हटाउन निर्देशन गरेको छ । घरटहरा हटाएर जग्गा खाली गर्न फागुन मसान्तसम्मको समय दिइएको छ ।

यसबाहेक गाउँपालिकाभित्रका सरकारी, गुठीलगायतका सार्वजनिक जग्गामा बनाइएका घर तथा टहरा हटाउनसमेत निर्देशन दिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तिको रक्षाका लागि मापदण्ड विपरीतका घर तथा टहरा हटाउन थालिएको उनले जनाए ।


मापदण्ड पूरा नगरी पालिकाभित्रका विभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाइने भएको छ । यो सूचनालाई बेवास्ता गरे कानुनअनुसार बल प्रयोग गरेर संरचना हटाउने गाउँपालिकाले जनाएको छ । स्थानीयले कब्जा गरेको बराहतालस्थित शंखेश्वरी महादेव गुठीको जग्गा अझै फिर्ता गरेका छैनन् । मालपोतले दस वर्षअघि अतिक्रमित जग्गा फिर्ता गर्ने फैसला गरी आदेश दिए पनि अझै फिर्ता नगरेका हुन् ।


गुठीको नाममा भएको बराहटार, चालिसे, सावाटारी, बाह्रमुरेलगायतका जग्गा स्थानीय व्यक्तिहरूले कब्जामा लिएका हुन् । स्थानीय देवी रेग्मीका अनुसार बराहटारस्थित गुठीको जग्गा स्थानीय ढकबहादुर कार्की, शिवकुमार श्रेष्ठ, जुक्तिराम राई, कर्म श्रेष्ठ, भुवन श्रेष्ठ, भरत तामाङ, हर्कबहादुर तामाङ, हङकङ मगरलगायतले कब्जा गरेर घर बनाएका छन् ।


उनीहरूलगायत अन्य पचास जनाभन्दा बढीले खम्बा गाडेर जग्गा ओगटेका छन् । शंखेश्वरी महादेव गुठीको नाममा रहेको जग्गा बिक्री नै भइसकेका छन् । महन्त गिरीका अनुसार करिब ५५ रोपनी गुठीको जग्गा बिक्री भइसकेका छन् । उनका अनुसार बराहपोखरी–५ का बमबहादुर कार्की, तिलक विष्ट, छविलाल पुरी, तिलकबहादुर कटाल, जितबहादुर विष्ट, कृष्णबहादुर खत्री, शेरबहादुर खड्का बराहपोखरी–१ का चन्द्रबहादुर खत्री बराहपोखरी–४ की हीरामाया कार्की, बराहपोखरी–९ की धनमाया थापा, बराहपोखरी–८ का डम्बरबहादुर मगर, बराहपोखरी–७ का बुद्धिमान मगर र लिच्कीराम्चे–७ का नरबहादुर अधिकारीले आफ्नो नाममा पास लिएका छन् ।


यी जग्गा गुठियारले बिक्री गरेका हुन् । गुठीको अरू जग्गा कुन अवस्थामा छ भन्नेबारे आफूलाई थाहा नभएको गिरीले बताए । मालपोत कार्यालयका अनुसार गुठीको जग्गा व्यक्तिले रजिस्ट्रेसन गराएपछि २०४३ सालमा मुद्दा परेको थियो । मालपोतले मुद्दाको फैसला २०४७ सालमा गरेको थियो । फैसलापछि मालपोतले जग्गा फिर्ता गराउने आदेश दिएको थियो । यसबारे जिल्ला प्रशासनमा पटकपटक उजुरी आए पनि कारबाही हुन नसकेको महन्त गिरीले बताए ।

प्रकाशित : आश्विन १६, २०७५ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×